|

जुम्ला : विगत १६ दिन यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत वरिष्ठ डाक्टर गोविन्द केसीको समर्थनमा संयुक्त संघर्ष समिति जुम्लाले आइतबार पनि विरोध प्रदर्शन गरेको छ।

डा केसीको जीवन रक्षा गर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस तुरुन्त सुरु गर भन्ने नारा लगाउँदै जुम्लाका नागरिक समाज, विभिन्न क्षेत्रका अगुवा, स्थानीयलगयातले संयुक्त प्रदर्शन गरिएको थियो। नागरिक अधिकारका लागि लड्ने डा केसीलाई भोकभोकै मार्न नदिनका लागि यो विरोध प्रदर्शन  गरिएको संयुक्त संघर्ष समिति जुम्लाले जनाएको छ।

डा केसीको जीवन रक्षा गर, वार्ता टोली गठन गर, डा केसीको सत्याग्रह सफल पारौँलगायतका नारासहित प्रदर्शनकारीले स्थानीय प्रशासनको निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेका थिए। डा केसीका उठाएका माग आफूहरूको भलाइका लागि भएको भन्दै उनका माग सम्बोधन गराउन जस्तोसुकै आन्दोलन गर्न तयार भएको स्थानीयवासीहरुले बताएका छन्।

तत्काल डाक्टर केसीका मागहरुलाई पूरा गर्न सरकारलाई कडा चेतावनी दिइएको आन्दोलकारीको नेतृत्व गरिरहेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए। आइतबारदेखि संयुक्त आन्दोलन थालिएको बताउँदै उनले डा केसीका माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रमहरू कडा बनाउँदै जाने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.