काठमाडौं : ललितपुर प्रहरीले सोमबार दुई थान पेस्तोल र विभिन्न कम्पनीका खुकुरीसहित पक्राउ गरेका दुई जना मध्ये ललितपुर खुमलटार- १५ का रोशन सुब्बा लिम्बू हतियार कारोबारी भएको प्रहरीले जनाएको छ।
रोशनले भारतबाट नेपालमा हतियार सप्लाई गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। लिम्बुले दिएको बयानका आधारमा उनले बिभिन्न मानिसलाई पेस्तोल बेचेको अनुमान प्रहरीले गरेको र यसबारे थप अनुसन्धानमा प्रहरी लागेको चन्दको भनाई छ।
आइतबार नख्खीपोटबाट बरामद भएको एक थान पेस्तोल समेत उनलेनै बिक्रि गरेको प्रहरीको भनाई छ। उनले भारतबारबाट अवैध हतियार नेपाल भित्र्याउने र माटो रकममा बेच्ने गरेको ललितपुर प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले सोमबार दुई थान पेस्तोल, त्यसमा लाग्ने ५६ राउण्ड गोली र खुकुरीसहित लिम्बु र नुवाकोट तारकेश्वर गाउँपालिका- १ का रामचन्द्र अधिकारीई पक्राउ गरेको थियो।
आइतबार पनि ललितपुर प्रहरीले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित नख्खीपोटबाट हेमराज पौडेल, अंशुराम मोक्तान र कृष्णबहादुर जोगीलाई पनि पक्राउ गरेको थियो।
सानो हतियार सुरक्षा चुनौती
ललितपुर प्रहरीले दुई दिनमा तीनवटा पेस्तोल र त्यसमा लाग्ने दर्जनौ गोली बरामद गरेको छ। यस घटनाले उपत्यकामा साना हतियारको बिगबिगी रहेको पुष्टि गरेको छ। 'यस्ता साना हतियार अन्य पनि थुप्रै हुन सक्ने प्रहरीको अनुमान छ, हामी यहि समुहले अन्य व्यक्तिलाई पनि हतियार विक्री गरेको अनुमानमा थप अनुसन्धान गरिरहेका छौं,' प्रवक्ता चन्दले भने।
यस घटनाले पछिल्लो समय उपत्यकामा साना हतियार चुनौती बन्न पुगेको प्रहरीको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।