|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडकदेखि सदनसम्म सानासाना कुरामा सरकारमाथि घेराबन्दी गर्दा आफ्नै पार्टीका नेता कार्यकर्ताले साथ नदिएको बताएका छन्। पार्टी कार्यकर्ताहरूसँगको नियमित भेटघाटको पहिलो दिन पार्टी मुख्यालय धुम्बराहीमा बोल्दै उनले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले सरकारका नीति तथा कार्यक्रमलाई समर्थन गर्दै लेख्न र बोल्न हच्किएको बताएका हुन्।

'विपक्षीले व्यापक असहयोग र विरोध एवं जो जहाँ छ, त्यहाँबाट आक्रमण गरिरहेको देखिरहनुभएको छ,' उनले भने, 'हामीमध्ये कोही लेख्न जान्नेले लेखेको र बोल्न जान्नेले बोलेको देखिँदैन।'

वर्तमान सरकारले ल्याएको जस्तो जनपक्षीय नीति तथा कार्यक्रम अहिलेसम्म नआएको दाबी गर्दै उनले आफ्नै पार्टीका नेता तथा कार्यकर्ता नै नीति तथा कार्यक्रमका पक्षमा बोल्न डराएको बताए। उनले भने,  'हामीले ल्याएको जस्तो जनपक्षीय नीति तथा कार्यक्रम अहिलेसम्म आएको छैन तै पनि कोही बोल्दैन, कसैले लेख्दैन।'

संविधान, नियम, कानुनसअनुसार काम गर्दा विपक्षीले आक्रमण गरेको भन्दै उनले न्यायालयले पनि वर्तमान सरकारविरुद्ध फैसला गरेर अन्याय गरेको बताए। उनले बहुमतका साथ निर्वाचित भएको अवस्थामा आफ्नो शक्ति प्रदर्शन गर्न नसक्दा बैरी र विरोधीले चौतर्फि घेराबन्दी गरेर संकिर्ण राजनीति गरेको भन्दै उनले पार्टी नेता तथा कार्यकर्तालार्इ सचेत हुन आग्रह गरे।

'हामी बहुमतका साथ निर्वाचित सरकार हौँ, हामीले संविधान, नियम कानुनअनुसार काम गर्दा विपक्षीले आक्रमण गर्‍यौँ, साथै न्यायालयले पनि हाम्राविरुद्धमा फैसला गर्‍यो', उनले भने ' यस्तो अवस्थामा हाम्रो शक्ति कति छ भन्ने हाम्राहरुले बुझेनौँ, तर हाम्रा बैरी र विरोधीहरूले बुझेर चौतर्फि घेराबन्दी गरी संकिर्ण राजनीति गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसले काँधमा हालेर आएको सिन्डिकेट आफ्नो सरकारले तोड्न सफल भएको बताए । साथै उनले माइतीघर मण्डला आन्दोलनका लागि नभइ दीप प्रज्ज्वलन र राष्ट्रिय झण्डा फहराउन र दुवो लगाएर रमणीय स्थल बनाउनका लागि भएको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन नगर्न आग्रह गरे। 'माइतीघरमण्डलामा शान्तिका लागि दीप प्रज्वलन गर्न र राष्ट्रिय झण्डा राख्न दुबो लगाएर रमणीयस्थल बनाएको हो', उनले भने, 'सरकारले कानुनअनुसार प्रदर्शन गर्न, दुबो माड्ने, ट्राफिक खतरा निम्त्याउने र जाम गर्न रोक लगाएको हो।'

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको स्वास्थ्यका लागि संवेदनशील रहेको बताएका छन्। उनले पूर्ववर्ती सरकारले जथाभावी दिएको सम्बन्धनलार्इ सुधार्न खोच्दा प्रमुख प्रतिपक्ष तर्सिएको आरोप लगाए। उनले ढुकुटी रित्तिएकाले भत्ता सामाजिक सुरक्षा भत्ता बढाउ नसिकएको दाबी गरे। उनले भने 'हिजो वृद्धभत्ता दिँदा कनिका छरेको भन्नेहरू यसवर्ष बढाएन भनेर कोकोहोलो गरिरहेका छन्। यसपाली ढुकुटी रित्तिएकाले भत्ता नबढाएका हौँ। कति बेला बढाउने भन्ने हामी जान्दछौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.