वित्तीय संकटले समयमै काम सकेनौँ: ऊर्जा उत्पादक

|

काठमाडौं : आर्थिक वर्ष ०७४/७५ मा १०४ मेगावाट उत्पादन क्षमता बराबरका जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। ७४ मेगावाट क्षमता बराबरको आयोजना निजी क्षेत्रबाट र ३० मेगावाट क्षमताका आयोजना सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणबाट निर्माण सम्पन्न भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो।

विद्युत् विकास विभागका अनुसार यो अवधिमा १५ वटा आयोजनाको काम सम्पन्न भएको छ। १५ आयोजनामध्ये १० मेगावाट माथिका तीनवटा आयोजना रहेका छन् भने १० मेगावाटभन्दा साना आयोजना १२ वटा रहेका छन्।

१० मेगावाटभन्दा साना १० आयोजनामध्ये दुईवटा आयोजना एक मेगावाटभन्दा पनि साना रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ।

१० मेगावाट बढीका आयोजनामा नेपाल विद्युत् प्राधिकरण प्रवर्द्धक रहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना, माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेड प्रवर्द्धक रहेको १३.६० मेगावाटको थापा खोला जलविद्युत आयोजना मुस्ताङ र सिक्‍लेस हाइड्रो पावर प्रवर्द्धक रहेको १३ मेगावाटको मदक्यु खोला कास्की रहेका छन्।

जिल्लागत आधारमा १२ जिल्लामा १५ आयोजना निर्माण सम्पन्न भएका छन् भने इलाममा तीनवटा आयोजना र कास्कीमा दुईवटा आयोजना निर्माण भएको छ।

आर्थिक वर्ष ०७४/७५ मा सरकारले निजी क्षेत्रबाट मात्रै झण्डै २५० मेगावाट बराबरको जलविद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोड्ने लक्ष्य राखेको थियो। त्यस्तै, ४५० मेगावाटको माथिल्लो जलविद्युत् आयोजना  र ३० मेगावाटको चमेलिया सक्ने लक्ष्य राखे तापनि चेमेलिया जलविद्युत् आयोजनाको मात्रै निर्माणसम्पन्न गरेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकरहरूले यसै वर्ष सम्पन्न गर्ने भनेका २५० मेगावाटको आयोजनामध्ये जम्मा ७४ मेगावाट बराबरको आयोजना सम्पन्न भएको छ। 'हामीले यस वर्ष २५० मेगावाटको जलविद्युत आइोजना सम्पन्न गर्ने लक्ष्य लिएका थियौँ, कामको प्रगति पनि त्यसैअनुसार भएको हो' स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, 'सरकारको वित्तीय संकटको कारण बैंकबाट समयमै भुक्तानी नपाउँदा हाम्रा आयोजना एक वर्ष पछि धकेलिए'।

उनले केही आयोजना समयमै निर्माण हुन नसके पनि विगतको तुलनामा जलविद्युत् उत्पादनको रफ्ता बढेको बताए। ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले १११ वर्षमा एक हजार मेगावाटको विद्युत् उत्पादन भए पनि अबको १० वर्षमा कम्तीमा १५ हजार मेगावाट जलविद्युत उत्पादन हुने बताए।

केहीले १११ वर्षमा एक हजार मेगावाट विद्युत उत्पादन भयो अब एक हजार पुग्न थप सय वर्ष लाग्छ भन्ने पनि छन्' मन्त्री पुनले भने 'हामीले १० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी अघि बढेका छौँ, कम्तीमा १५ हजार मेगावाट उत्पादन हुन्छ'।

आर्थिक वर्ष २०७४/७५ मा निर्माणसम्पन्न भएका आयोजना

  • नेपाल विद्युत प्राधिकरण प्रवर्द्धक रहेको ३० मेगावाटको चमेलिया, दार्चुला
  • माउण्ट कैलाश इनर्जी प्रवर्द्धक रहेको १३.६० मेगावाटको थापाखोला जलविद्युत, इलाम
  • सिक्‍लेस हाइड्रो पावर प्रवर्द्धक रहेको १३ मेगावाटको मदक्यु खोला, कास्की
  • पन्चकन्या हाइड्रो पावर प्रवर्द्धक रहेको ६.१० मेगावाट अप्पर माइ सी, इलाम
  • दिव्यश्‍वरी हाइड्रो पावर प्रवर्द्धक रहेको ४ मेगावाटको सभखोला, संखुवासभा
  • पुवाखोला १ हाइड्रोपावर प्रवर्द्धक रहेको ४ मेगावाटको पुवाखोला १, इलाम
  • गर्जाङ उपत्यका हाइड्रोपावर प्रवर्द्धक रहेको २.८३ मेगावाटको चाके खोला, रामेछाप
  • युनिय हाइड्रोपावर प्रवर्द्धक रहेको ३ मेगावाटको मिदिम, लमजुङ
  • मोलुङ हाइड्रोपावर प्रवर्द्धक रहेको ७ मेगावाटको मोलुङ, ओखलढुंगा
  • हिमाल दोलखा हाइड्रोपावर प्रवर्द्धक रहेको ८ मेगावाटको माइसाना क्यासकेड, दोलखा
  • मन्दकिनी हाइड्रोपावर प्रवर्द्धक रहेको ४ मेगावाटको सर्दिखोला, कास्की
  • सिवानी हाइड्रोपावर प्रवर्द्धक रहेको ४.९५ मेगावाटको फावाखोला, ताप्लेजुङ
  • भोलुङ इनर्जी प्रवर्द्धक रहेको ३.७५ मेगावाटको द्धारी खोला, दैलेख
  • द्रोणन्चल हाइड्रोपावर प्रवर्द्धक रहेको ०.६० मेगावाटको ढुंगे जीरी, दोलखा
  • सिउरी भुमे माइक्रो हाइड्रो प्रवर्द्धक रहेको ०.२३ मेगावाटको सिउरी भुमे, नुवाकोट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.