|

काठमाडौं : पछिल्लो समय उच्च पहाडी क्षेत्रमा पाइने रातो चामल अर्थात् मार्सी चामलको चर्चा निकै चुलिएको छ। चोक, साना चिया पसलदेखि महलसम्म यही मार्सी चामलले चर्चा पाएको छ। यही चामलको चर्चाले सामाजिक संजाल पनि भरिएको छ।

गत फागुन ६ गतेयता यो चामलको चर्चा चुलिएको हो। त्यसअघि गुमनाम जस्तै रहेको यो चामलको खोजीले कृषकमा भने उत्साह पक्कै छाएको हुनुपर्छ। जति खाए पनि पच्ने, धेरै बेरसम्म भोक नलाग्ने, स्वस्थकर हुनु यो चामलको विशेषता हो।

केही समयअघिसम्म कुनै चर्चा नभएको यो चामलको नामले नेपाली राजनीतिक वृत्त पनि निकै तताएको छ। जब सरकारले चिकित्सा शिक्षा विद्येयक संसदमा दर्ता गर्ने जमर्को गर्‍यो, तब मार्सी चामलले निकै चर्चा पायो। फागुन ६ गते तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा छलफल गर्दा उक्त चामलको खाना खाएको फोटो सामाजिक संजालमार्फत् बाहिर आयो।

उक्त खानाको व्यवस्थापन गरेका थिए, व्यवसायी दुर्गा प्रसाईंले। प्रसाईंले दुई अध्यक्षलाई छलफलका लागि भक्तपुरस्थित आफ्नै घरमा बोलाएका थिए। उक्त चामलको चर्चा हुने कारण प्रसाईं निजी मेडिकल कलेज संचालक हुन्। उनले झापामा कलेज संचालनका लागि सबै पूर्वाधार तयार पारिसकेका छन् तर अनसनरत डा. गोविन्द केसीको आन्दोलनका कारण उनको कलेजले सम्बन्धन पाएको छैन। केसी अनसन बसेपछि मार्सीले भने निकै चर्चा पाएको छ। पछिल्लो समय आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रसाईंले ओली र प्रचण्डलाई मार्सीको ‘ललीपप’ देखाएको आरोप लाग्ने गरेको छ।

मंगलबार मात्र अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीमा गरिएका तीन कार्यक्रममा पनि मार्सीकै चर्चा चल्यो। लगभग एकै समयमा भएका तीनवटै कार्यक्रममा 'मार्सी चामलका कारण सबै जनताले दुःख पाउनुपरेको' आरोप लागिरहेको थियो। डा. केसी समर्थक डाक्टर, नेपाल विद्यार्थी संघ र नयाँ शक्ति नेपालले आयोजना गरेको सरकारविरुद्धका उक्त विरोध प्रदर्शनमा मार्सी चामलले निकै चर्चा पायो। डा. केसीको माग पूरा गर्न दबाब दिन गरिएका प्रदर्शनमा डाक्टरहरूले मार्सी चामलको लोभमा जनतालाई मार्न नपाउने भन्दै नारा लगाए। उनीहरूले दुई तिहाई मत जनताले माफिया पोस्न नभई देश विकासका लागि दिएको बताए। उनीहरूले केपी शर्मा ओली नेतृत्वको सरकारको राजीनामासमेत मागे।

'मसीले लेखेको संझौता मार्सीले मेट्न पाइँदैन!'

सरकारको पछिल्ला गतिविधिले सर्वसत्तावादी चरित्र स्पष्ट पारेको भन्दै त्यसको विरुद्ध नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनको आयोजना गर्‍यो। उक्त कार्यक्रममा विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो। सरकारका सबै गतिविधिको विरोध गर्न आयोजना गरिएको कार्यक्रममा विशेष गरेर मार्सी चामलकै कुरा उठ्यो। मार्सीको स्वादमा सरकार फसेर डा. केसीका जायज मागको सम्बोधन गर्न नसकेको उनीहरूको आरोप थियो।

‘मसीले लेखेको संझौता मार्सीले मेट्न पाइँदैन’ विद्यार्थीले पटक पटक नारा लगाए। उनीहरूले यसअघिको सरकारले गोविन्द केसीसँग गरेको लिखित संझौता सरकारले मार्सीको स्वादमा भुलिदिएको भन्दै आक्रोशसमेत व्यक्त गरे। उनीहरूले डा. केसीको माग पूरा गर्नसमेत सरकारसँग आग्रह गरे।

'मार्सी चामलको मिसन, सिटामोलमा कमिसन!'

नयाँ शक्ति पार्टी नेपालले पनि मार्सी चामललाई प्राथमिकतामा राखेर सरकारको विरोध गर्‍यो। माफियाको मार्सी चामलमा भुलेर सरकार अघि बढेको उसको  आरोप थियो।

मेडिकल माफियाको मार्सी चामलको मिसनमा भुलेर सरकार सिटामोलको पनि कमिसन दिन उद्यत रहेको आरोप लगाए वक्ताहरूले। ‘मार्सी चामलको मिसन, सिटामोलमा कमिसन’ उनीहरूको नारा थियो।

दुर्गा प्रसाईंले कसरी ल्याए मार्सी चामल?

फागुन ६ गतेसम्म यो मार्सी चामल हो भन्ने दुर्गा प्रसाईंलाई पनि थाहा थिएन रे! उनले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उक्त चामलको खान खुवाए। हुनत प्रधानमन्त्री ओलीलाई पनि त्यो कुन चामल हो भन्ने थाहा रहेनछ। मंगलबार भएको एक कार्यक्रममा उनले स्पष्टीकरण दिँदै भनेका छन्, ‘कुन चामल हो, त्यो सोधिएन। त्यो खासै बासमती, मसिना जस्तो लागेन। मोटोमोटो थियो। के चामल हो, त्यो चामलको नाम, थर, गोत्र, वंशावली खोजेर हिँड्नुपर्छ जस्तो लागेन। अहिले बुद्धिजीवीहरूको काम के छ भने मार्सी चामलको भात!’

त्यसबेला खिचिएको एउटा तस्वीर सामाजिक संजालमा भाइरल नै बन्यो। तस्वीरमा ओली र प्रचण्डसँगै प्रसाईंले पनि रातो चामलको खाना खाइरहेका छन्। उक्त चामल प्रसाईंलाई जुम्लातिरका व्यापारीले ल्याइदिएका रहेछन्। ‘म क्यान्सरको प्यासेन्ट (रोगी) हुँ। जुम्लातिरका जडिबुटीको औषधि म प्रयोग गरिरहन्छु’, उनले भने, ‘मलाई यो चामल राम्रो हुन्छ भनेर ती जडिबुटी ल्याइदिने तिनै व्यवसायीले ल्याइदिए। मलाई पनि थाहा थिएन, यो मार्सी चामल हो भन्ने।’

घरमा आएका पाहुनालाई राम्रो खाना दिँदा यो चामल चर्चामा आएको उनी बताउँछन्। भने, ‘हाम्रो संस्कारमा पाहुनाको सत्कार गर्नुपर्छ भन्ने छ। त्यहीअनुसार मैले पनि यही रातो चामलको खाना खुवाएँ।’ यसमा आफ्नो कुनै स्वार्थ नरहेको उनी बताउँछन्। ‘यसमा मेरो के स्वार्थ हुनु र! मैले मापदण्ड पुर्‍याएरै मेडिकल कलेज चलाएको छु’, उनले भने, ‘मैले कलेज खोल्दा न ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो, न प्रचण्ड नै।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.