|

विराटनगर : प्रदेश-१ को आर्थिक विकासका लागि केन्द्रीकृत मानसिकता बाधक भएको आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले असन्तुष्टि जनाइरहेका बेला प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्न विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले असन्तुष्टि व्यक्त गरेका हुन्।

घिमिरेले केन्द्रका मन्त्री वा ब्यूरोक्रेसीले प्रदेशलाई अधिकार दिन आनाकानी गरिरहेको र केन्द्रीकृत मानसिकताका कारण मन्त्रालयले भनेजस्तो काम गर्न नसकेको बताए। संघीय सरकारका मन्त्रीले प्रदेशलाई अधिकार नदिने, प्रदेशले स्थानीय तहलाई र स्थानीय तहका प्रमुखले वडा अध्यक्षलाई पनि अधिकार दिन नचाहँदा समस्या भइरहेको उनको भनाइ छ।

मन्त्री घिमिरेले प्रदेशको सामाजिक विकासमन्त्रालयलाई संविधानले दिएको अधिकार प्रप्त गर्नका लागि पहल भइरहेको पनि बताए। ‘७ वटै प्रदेशका सामाजिक विकासमन्त्रालयको मन्त्रीहरूको भेला हामीले बोलाउने तयारी गरेका छौँ,’ मन्त्री घिमिरेले भने, ‘त्यहाँ भएको छलफलका आधारमा हामीले केन्द्र सरकारसँग अधिकार प्रत्यायोजनको माग गर्दछौँ।’

मन्त्री घिमिरेले प्रदेशको नाम सगरमाथा र कोसीमध्ये एक हुने बताए। प्रदेशको नाम र राजधानी तोक्ने विषय प्रदेशसभाको भएपनि नामको विषयमा सगरमाथामा धेरैको इच्छा देखिएको उनको जिकिर छ।

मन्त्रालय स्थापना भएको मिति २०७४ फागुन ३ गतेयता गरेका विभिन्नप्रगति पनि सार्वजनिक भएको छ। सार्वजनिक प्रगति विवरणमा स्वास्थ्य क्षेत्रमा सुधार देखिएको, सरकारी विद्यालयको भर्ना अभियान सफल भएको, कोसी अञ्चल अस्पतालको व्यवस्थापनमा सुधार भएको, आर्थिक वर्ष २०७५/०७६ लाई स्वास्थ्य प्रवर्द्धन वर्ष घोषणा गरिएको, सरसफाइलाई अभियानको रूपमा संचाल नगरिएको, निजी अस्पतालहरूको नियमन र अनुगमनको काम भएको, प्रविधिमैत्री, दण्डरहित र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रूपमा संचालन गर्न कार्यायोजना बनाएको उल्लेख छ।

यस्तै मन्त्रालयले शिक्षा विधेयक, खेलकुद विधेयक, सामाजिक विकास संस्था विधेयक र घरेलु हिंसापीडित तथा प्रभावित व्यक्ति संरक्षण विधेयक निर्माण भइरहेको, जनस्वास्थ्य विधेयकको मस्यौदा आन्तरिम मामिला तथा कानुन मन्त्रालयमा पठाइएको र कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्न कोसी चिकित्सा विज्ञान प्रतिष्ठान विधेयक मस्यौदा गर्न कानुन मन्त्रालयमा अवधारणा पेस गरिएको पनि उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.