|

काठमाडौं : वरिष्ठ डाक्टर गोविन्द केसीले सरकारले आफूलार्इ अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप लगाएका छन्। उनले शिक्षण अस्पतालमा बिहीबार बेलुकी पत्रकार सम्मेलन गरेर सरकारले आफूलार्इ बल प्रयोग गरेर जबरजस्ती काठमाडौं ल्याएको बताएका हुन्।

'सरकारसँग डराएर नभर्इ जुम्लाका जनतामाथिको ज्यदती सहन नसकेर काठमाडौं जान्छु भनेको थिएँ तर सरकारले मलार्इ जबरजस्ती ल्यायो', डा केसीको भनाइ उद्धृद गर्दै उनका प्रतिनिधि नारायण कणेलले भने।

डा केसीले आफूलार्इ काठमाडौं ल्याउने क्रममा भएको झडपको निस्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै उनले आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान कायमै राखेका छन्। उनले आफ्नो माग पूरा नभएसम्म कुनै पनि स्वास्थ्य जाँच नगर्ने र मनिटर पनि प्रयोग नगर्ने अडान राखेका छन्।

चिकित्सा शिक्षा सुधारका लागि विगत २० दिनदेखि जुम्लामा अनशनरत डा केसीलार्इ सरकारले बिहीबार बेलुकी काठमाडौं ल्याएको हो। उनलार्इ अहिले शिक्षण अस्पतालमा यसभन्दा अघि अनशन बस्दै आएको स्थानमा राखिएको छ। उनले त्यहाँबाट अनशन सुरु गरेका छन् भने उनको समान्य उपचार पनि त्यहीँ हुँदैछ। उनले आफ्ना माग पूरा नभएसम्म आइसियुमा जान अस्वीकार गरेका छन्।

यसबीच उनलार्इ अभिनेत्री मनिषा कोइरालाले र कांग्रेस नेता गगन थापाले अलगअलग भेटेर डा केसीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्।


प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरू,

चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ । त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु । 

यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु । सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।  ज्यादतीमा संलग्न  हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु ।

माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.