|

सुनसरी : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै छानबिन सुरु गरिएको छ। प्रतिष्ठानमा अनियमितता भएको उजुरी परेपछि छानबिन गर्न सरकारद्वारा दुर्इ साताअघि गठित शक्तिशाली छानविन आयोगले बिहीबार प्रतिष्ठानमा पुगेर छानबिन सुरु गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित समिति बुधबार छानबिनको लागि सुनसरी आएको थियो। सोही टोलीले बिहीबारबाट छानबिन थालेको हो। प्रतिष्ठानमा २०७२ सालदेखि गरिएको भौतिक पूर्वाधार, मेडिकल उपकरण खरिद, सवारी–साधन खरिदमा अनियमितता भएको आशंकामा छानबिन सुरु गरिएको समितिका सदस्य एवं स्वास्थ्य मन्त्रालयका बायो मेडिकल इन्जिनियर मुकुन्द खतिवडाले जानकारी दिए।

प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियार प्रतिष्ठानको उपकुलपति भएदेखि नै प्रतिष्ठानको खरिद, ठेक्का तथा निर्माण कार्यमा व्यापाक भ्रष्टाचार भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको कार्यालय तथा अन्य सम्बन्धित निकायमा उजुरी परेपछि प्रतिष्ठानको वास्तविकता बुझी कारबाही अगाडि बढाउने बताइएको छ।

प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित शक्तिशाली छानविन समितिले प्रतिष्ठानमा भएका खातापाता समेत हेरिरहेको प्रतिष्ठानका एक कर्मचारीले बताए।

यस्तो छ उपकुलपति रौनियारमाथिको आरोप

प्रतिष्ठानका उपकुलपति प्रा.डा. रौनियारमाथि एमआरआई १.५ टेस्ला उपकरण, अंकोलोजी र कार्डियोली सेन्टर निर्माण सप्लायर्स र ठेकेदारको मिलेमतोमा व्यापक भ्रष्टाचार गरेको आरोप छ। उनीमाथि उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले नै यसलाई चासो देखाएर प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय लगायतका सचिवस्तरीय कर्मचारीको सात सदस्यीय छानविन समिति गठन भएको थियो।

गोप्य रूपमा आएको समितिले बुधबार इटहरीमा बसेको र बिहीबार दिनभरी नै प्रतिष्ठानका उपकुलपति कार्यकक्षमा बसेर बयान लिएको स्रोतले जनाएको छ। सो समितिमा अख्तियारका प्रतिनिधि, सम्पत्ति सुद्धिकरण विभागका प्रतिनिधि, अर्थ मन्त्रालयका सहसचिव, स्वास्थ्य मन्त्रालयका सचिवलगायत सातजना रहेको स्रोतले जनाएको छ।

समितिले उपकुलपति प्रा.डा.रौनियारको कार्यकालको सबै प्रकारको निर्माण तथा उपकरण खरिदको छानबिन गर्ने बताएको छ। सो छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री समक्ष बुझाउने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.