|

भद्रपुर (झापा) : भारतको बिहार तथा बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालयको साउन १ देखि स्तोरोन्नति भएको छ। भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकडभिट्टा मातहात रहेको भद्रपुर छोटी भन्सारलाई भन्सार विभागले छुट्टै भन्सारको दर्जा दिएको हो।

छोटी भन्ने नामलाई हटाएर विभागले भद्रपुर भन्सार कार्यालय नामाकरण गरेको मेची भन्सार कार्यालय काकँडभिट्टाले जनाएको छ। भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति भए पनि कर्मचारी नखटाइएकले साउनभरी मेची भन्सारकै मातहातमा सञ्चालन हुने मेची भन्सार प्रमुख टेकनाथ अर्यालले जानकारी दिए। ‘मेचीबाट एक जना अधिकृतको दरबन्दी कटौति भइसकेको छ’, भन्सार प्रमुख अर्यालले भने, ‘विभागले हाल अधिकृतसहितको कर्मचारी पठाउने कसरतमा जुटेको छ, कर्मचारी आएसँगै यहाँको सम्पूर्ण काम र कर्तव्य विभागसँग जोडिन्छ।’

भद्रपुर भन्सार कार्यालय सञ्चालन आएसँगै झापामा दुई वटा भन्सार कार्यालय हुनेछन्। यस भन्सार मातहात माई पूर्व र राजगार्म दक्षिण सञ्चालित छोटी भन्सारहरु केचना, झापा, घेराबारी र पञ्चपाडा भद्रपुर भन्सारअन्तर्गत राख्ने विभागले तयारी थालिसकेको मेची भन्सार प्रमुख अर्यालले बताए। 

भन्सारको चुनौती

भद्रपुर नगरपालिकासँगै भद्रपुर भन्सार कार्यालयको स्थापना २००८ मा भएको हो। सो बेला झापाको प्रमुख भन्सार कार्यालय भद्रपुर मात्र थियो। पछि पूर्व–पश्चिम राजमार्ग सुरु भई काकँडभिट्टासँग जोडिन पुगेपछि मेची भन्सार कार्यालयको स्थापना भएको हो। मेची भन्सारको स्थापनापछि भद्रपुर भन्सार छोटी भन्सार कार्यालयमा परिणत हुन पुग्यो। २०३९ देखि भद्रपुर छोटी भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो। भद्रपुर ५ स्थित करिब १० कठ्ठा क्षेत्रफलमा अवस्थित भद्रपुर भन्सारमा हाल दुई वटा गोदाम घर र एउटा भवन मात्र छ।

पुरानो भवन भत्काएर पाँच बर्षअघि मात्र दुई तले भवन र एउटा गोदाम घर मेची भन्सारले सञ्चालनमा ल्याएको छ। तर, निर्माण गरिएको भवनका केही भाग मेची पुलको सडकले छाेएको छ। सडक बनाउन भन्सारको भवन आधाभन्दा बढी भत्काउनु पर्ने हुन्छ। भवन भत्किए कर्मचारीलाई काम गर्न समस्या हुनेछ। ‘हुलाकी राजमार्ग आयोजनाले जमिन खाली गराउन भन्सारलाई पत्रचार गरिसकेको छ,' मेची भन्सार प्रमुख अर्यालले भने, ‘अहिलेसम्म भवन र वाल भत्काएका छैनौं, केही समयपछि भत्काउनुपर्ने हुन्छ, त्यसपछि काम गर्ने कर्मचारीलाई चुनौती थपिन्छ।’ भन्सार विभागले पूर्वाधारविनै भद्रपुर भन्सारलाई स्तरोन्नति गरेकाले समस्या भएको छ।  

१० बिघा जमिन आवश्यक

भारतको बिहार र बंगाल राज्य, बंगालदेशसहित भुटानसँगको दूरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० बिघा जमिनको आवश्यकता रहेको मेची भन्सारका अधिकृत गणपति कँडेलले बताए। उनले भने, ‘अहिले रहेको भन्सारको पछाडिबाट सडक विस्तार हुने भएकाले सडकको दुवैतर्फ गरी १० बिघा जमिन चाहिन्छ।’ सडकको दुवैतर्फको जमिनको नक्सा नापी कार्यालय झापाबाट निकाली सकेकाो उनले बताए।  नक्साको कागजात भन्सार विभाग पठाइसकेको र त्यहाँबाट जमिन खरिदका लागि अध्ययन सुरु भइसकेको छ र विभागले अर्थ मन्त्रलायसँग जमिन खरिदका लागि प्रक्रिया समेत अघि बढाइसकेको उनले बताए।

यता मेची भन्सार प्रमुख अर्यालका अनुसार जमिन खरिदका लागि भन्सार विभागबाटै स्थलगत अनुगमनका लागि टोली आउनेछ। भद्रपुर भन्सारलाई कम्तीमा २०० सवारीसाधन राख्ने गरी पूर्वाधार निर्माण हुनु पर्ने उनले बताए। ‘भन्सारलाई १० बिघाभन्दा कमी जमिनले पुग्दैन,' उनले भने, ुभन्सारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, चेकजाँच स्थल, पशु, कृषि, खाद्य क्वारेन्टाइन, कार्यालय, कोदाम, पार्किङ्ग स्थल हुनुपर्छ।,'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.