|

चितवन : मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ध्यानकेन्द्रित गर्नुपर्नेमा संरक्षणकर्मीहरूले जोड दिएका छन्। वन्यजन्तु संरक्षण समूह नेपालको आयोजनामा चितवनको सौराहामा मंगलबार मनाइएको पहिलो ‘विश्व रेञ्जर दिवस’को अवसरमा सहभागीहरूले चोरी शिकारीका घटनामा मानव वन्यजन्तु द्वन्द्वलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड दिए।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि संरक्षणकर्मी समुदाय, तथा सम्बद्ध संघसंस्थाहरूको सक्रिय सहभागिता हुनुपर्ने बताए। मन्त्रालयको वातावरण शाखाका प्रमुख समेत रहेका ढकालले मन्त्रालयले द्वन्द्व न्यूनीकरणलाई केन्द्रमा राखेर संरक्षण कार्य अघि बढाउने गरेको समेत उल्लेख गरे। उनले संरक्षण मुखरित हुनुमा समुदायको भूमिकाको प्रशंसा समेत गरे।

प्रदेश ३ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले द्वन्द्व न्यूनीकरण गर्न राज्यले क्षति व्योहोर्ने समुदायलाई उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले घाइतेलाई पूर्ण उपचार र मृत्युको हकमा उनका परिवारका एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्न सके द्वन्द्व आफैँ कम हुने धारणा राखे। उनले निकुञ्जको मध्यवर्ती क्षेत्र अलपत्र अबस्थामा रहेको भन्दै अधिकार सम्पन्न गराउनुपर्ने, नभए समन्वयकारी भूमिका दिनुपर्ने जिकिर पनि गरे।

चितवनको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले मानव वन्यजन्तु द्वन्द्व चोरी शिकार नियन्त्रण भए झैं नियन्त्रण होस भन्ने चाहना समुदायको रहेको भन्दै जनताको आवश्यकता पूर्ति गर्दै  वातावरणमैत्री कार्यक्रम गर्नुपर्नेमा जोड दिए। वर्दिया राष्ट्रिय निकुञ्ज्का पूर्व संरक्षण अधिकृत रमेश थापाले वन्यजन्तुबाट बालीनालीमा हुने क्षतिको उचित सम्बोधन भए द्धन्द्ध आफैं कम भएर जाने विचार व्यक्त गरे। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलिया भावि दिनलाई ख्यालमा राखेर समस्याको पहिचान गर्दै संरक्षण कार्य चुस्त पार्नु पर्नेमा जोड दिए। 

विश्व वन्यजन्तु कोषका निर्देशक शिवराज भट्टले राज्यको नीति नियम अनुसार संरक्षणकार्यमा कोषले योगदान गर्दै आएको उल्लेख गरे। चितवनमा देशभरका करिव १०० जना संरक्षणकर्मीहरूको सहभागिता रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.