चोक-चोकमा अव्यवस्थित मासुपसल

|

भद्रपुर (झापा) :  करिब एक करोड लागतमा सञ्चालनमा आएको झापाको भद्रपुरस्थित पशु वधशाला प्रयोगविहीन हुने अवस्थामा पुगेको पाइएको छ। भद्रपुर नगरपालिका कार्यालयको स्वामित्वमा रहेको पशु वधशालाको आन्तिरक व्यवस्थापनमा खासै चासो नदेखाउँदा नेपाल सरकारको एक करोड रुपैयाँ बराबरको लगानी खेर जाने स्थितिमा छ।

नगरका अव्यवस्थित माछामासु पसलहरूलाई व्यवस्थितसँगै एकद्वार प्रणालीबाट स्वच्छ तथा सफा माछामासु बिक्री वितरण गराउने उद्देश्यका साथ नगरपालिकाले ठूलो लगानीमा पशु वधशालामा निर्माण गरेको हो। तर, अहिले पशु वधशालामा रहेको १० वटा सटर (पसल) मध्ये अहिले चारवटा पसल मात्र सञ्चालनमा छ। वधशाला भित्र पसल भाडामा लिएर बसेका अधिकांश व्यवसायी वधशाला छाडेर नगरको चोक-चोकमा पसल थापेर माछामासु बेचेको देख्न सकिन्छ।

नगरपालिकासँग अनुमति लिएका छौँ : सञ्‍चालक

पशु वधशालामा भित्रै सञ्चालित विजय मासु पसलका सञ्चालक विजय साह भन्छन्, ‘नगरपालिकासँग अनुमति लिएर पशु वधशालाभित्रै मासु बिक्रीवितरण गरिरहेका छौँ, यहाँ अहिले चारवटा मात्र पसल भाडामा छन्, ६ वटा पसल बन्द अवस्था छन्।’

‘जथाभावी चोक-चोकमा माछामासु पसल खोल्ने व्यवसायीलाई नगरपालिकाले नगरको कानुनबमोजिम कारबाही गर्न नसक्दा पशु वधशाला प्रयोगविहीन बन्ने अवस्थामा पुगिसकेको छ, उनले गुनासो पाखे। ‘नगरको माछामासु पसललाई व्यवस्थित बनाउन करोड बढी खर्च त गरियो नगरपालिकाले’, उनले थपे, ‘लगानी गरे अनुसारको प्रतिफल नगरपालिकाले लिन नसक्दा वधशालाका दुई/चारजना व्यवसायी मारमा छ।’

कुनै सेवासुविधा छैन

वधशाला त बनाइयो, तर अहिलेसम्म वधशाला भित्र नगरपालिकाले कुनै किसिमको सेवासुविधा नदिएको मासु व्यवसायी संदिप साहले गुनासो पोखे। ‘वधशालामा भित्र न त सरसफाइ हुन्छ, न त यहाँको फोहोरमैलाको व्यवस्थापन नै हुन्छ’, उनले भने, त्यसैले वधशाला भित्रका व्यवसायीहरु यहाँबाट पलायन भई बाहिर गएर पसल थापेर बसेका छन्।’ ‘यस्तै हो भने आउँदो दिनमा हामी पनि बाहिरै गएर पसल थाप्नुपर्छ, उनले भने।

त्यस्तै राजु माछा पसलका सञ्चालक राजु रायले भने, ‘माछा पसलको लागि वधशालाभित्र नगरपालिकाले कोठा बनाइदिएको छैन, आफ्नै लगानीमा छाप्रो बनाएर माछा बिक्री गरिरहेका छौँ।’ ‘नगरपालिकाले वधशालाभित्र माछा पसलको लागि व्यवस्थित कोठा नबाइदिएकोले अहिले नगरको चोक-चोकमा माछा बिक्रीवितरण भइरहेको र यसतर्फ कुनै पहल नभएको, उनले गुनासो पोखे।

वधशालाका लागि आएको ३० लाख फिर्ता

भद्रपुर ५ स्थित बसपार्क छेउ नगरपालिकाको १९ कठ्ठा जग्गामा वधशालामा निर्माणमा  १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैयाँ खर्च गरेको नगरपालिकाका प्रशासन शाखाले जनाएको छ। २०६७ चैतमा कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपंक्षीबजार प्रवर्द्धनबाट ३८ लाख, तत्कालीन स्थानीय विकास मन्त्रलायको जगेडा कोषबाट ४६ लाखलाख र नगरपालिकाको आन्तरिक स्रोतबाट १५ लाख गरी १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैया वधशालाको निर्माण गरिएको हो।

जनप्रतिनिधि नभएको अवस्थामा बनेको वधशाला निर्माण कार्यदेखि नै विवादित बनेको थियो। पहिलो चरणको निर्माण कार्य उपभोक्ता समितिमार्फत गराए पनि दोस्रो चरणको कार्य टेण्डर प्रक्रियामार्फत नगरपालिकाले गराएको थियो। २०७० असारमा सञ्चालन आउनुपर्ने वधशाला तीन बर्षअघि २०७२ मा मात्र सञ्चालनमा आएको थियो। नगरपालिकाले वधशाला उद्घाटन नगरी सञ्चालन ल्याएको छ।

कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपंक्षीबजार प्रवर्द्धनमार्फत जिल्ला पशुसेवा कार्यालय झापाले वधशालालाई व्यवस्थित बनाउन तीन वर्षअघि नै ३० लाख रुपैयाँ थप बजेट छुट्टयाएको थियो। तर, नगरपालिकाले ३० लाख रकम लिन अस्वीकार गर्दा आएको बजेटसमेत फिर्ता गएको थियो।

उपभोक्ता आफैँ जाग्नुपर्छ : नगर प्रमुख श्रेष्ठ

भद्रपुरमा मासुमाछा मार्ट स्थापनाका लागि चालु आर्थिक वर्षमा १५ लाख बजेट छ्ट्टाएको छ। भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार पशु वधशाला र माछामासु बिक्री केन्द्र फरक भएको प्रतिक्रिया दिए। ‘भद्रपुर वधशाला नभएर माछामासु बिक्री गर्ने ढाँचाको रूपमा भवन बनाइएको छ’, उनले भने, जनप्रतिनिधि नभएको बेलामा निर्माण गरिएको वधशाला अहिले व्यवस्थापन गर्न समस्या उत्पन्न भइरहेको छ।

नगरपालिकाभित्रै रहेको चन्द्रगढी वधशालालाई माछामासु बिक्री केन्द्रको रूपमा व्यवस्थित बनाउन नगरपालिकाले बजेट विनियोजन गरी व्यवस्थापन गरिसकेको छ। ‘भद्रपुर वधशालालाई प्रयोगमा ल्याउन नगरपालिकाले चासो देखाउँछ’, उनले भने, ‘यसलाई प्रयोगमा ल्याउनका लागि उपभोक्ता पनि सचेत हुनुपर्छ।’ 'वधशालाभन्दा बाहिर चोक-चोकमा खोलिएका पसलबाट माछामासु खरिद कार्य उपभोक्ता आफैँले बन्द गर्नुपर्छ, किनभने त्यहाँबाट बिक्री गरिएको माछामासुको परिक्षण नहुनुका साथै अस्वस्थ्य माछामासु बिक्रीसमेत हुन सक्छ, त्यसका लागि उपभोक्ता आफैँ जाग्नुपर्छ' उनले थपे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.