|

चितवन चितवनको रत्ननगरस्थित जिरौनामा आकर्षक कला शैलीमा बनेको नमुनाको धर्मधाम छ। झट्ट हेर्दा सुनैसुनले छाएजस्तो मन्दिरको गजुरमा तस्वीर नलिने कोही हुन्नन्। श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’का रूपमा परिचित यो मन्दिर अहिले जिल्लाकै धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ। 

घुम्नकै लागि आउनेले यसलाई सेल्फीमा कैद नगर्ने कुरै भएन। पूजाआजामा आएका धार्मिक पर्यटकलाई पनि पूजा सकेर सेल्फी नलिई निस्कन मन मान्दैन। आकर्षक कला शैलीमा निर्माण भएकाले धर्मधामको पर्यटकीय महत्त्व बढेको हो। यो मन्दिर जिल्लाकै नमुना मन्दिरको रूपमा परिचित छ। मन्दिर घुम्न चितवनलगायत विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिए। उनका अनुसार दैनिक कम्तीमा २०० देखि  ५०० सम्म धार्मिक पर्यटकहरू यो मन्दिर घुम्न आउँछन्।

रत्ननगर नगरपालिका- ११ जिरौनामा झण्डै सात करोड रुपैयाँको लागतमा बनेको उक्त धर्मधाम फागुन ८ गतेबाट विधिवत रूपमा संचालनमा आएको थियो। वि.सं. २०२४ मा यहाँ मन्दिर स्थापना भएको थियो। १५ कट्ठा क्षेत्रफलमा रहेको धर्मधामको पुरानो मन्दिरको स्तरोन्नति गरी सुन्दर र आकर्षक बनाइएको छ। 'सुनेको थिएँ, आज घुम्दा पाउँदा आनन्द लाग्यो', चितवनको पर्साका सागर श्रेष्ठले भने, 'मन्दिर र मूर्तिको डिजाइनले मन लोभ्यायो।' 

उनीसँगै दिदी सम्झना श्रेष्ठले पनि मन्दिर घुमेर मनोरंजन लिइन्। धर्मधामलाई पृष्ठभूमिमा पारेर उनीहरूले कहिले संयुक्त फोटोमा सेल्फी लिए त कहिले एकअर्काको फोटो खिचे। 

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल चितवनको सौराहाबाट झण्डै ९ किलोमिटरमा पर्छ धर्मधाम। दशकौँदेखिको मुठीदानले सपना साकार भएकोमा खुसी व्यक्त गर्छन् धर्मधामका अध्यक्ष श्याम बराल। मन्दिरमा सोमबार र शनिबार भक्तजन र पर्यटकको भीड हुन्छ। साउनको सोमबार भने झन् बढी आउने गरेका छन्। 

मुख्यगरी धर्मधाममा अत्याधुनिक खालको सुन्दर मन्दिर बनाइएको छ। वृद्धाश्रम, यज्ञ मण्डप, भोजनालय, पार्कसहितको मनोरम दृश्य, आकर्षक गेट देख्न सकिन्छ। मन्दिर वरिपरि विभिन्न देवी देवताका सुन्दर मूर्तिहरू छन्। चितवनमा पाइने दुर्लभ एकसिंगे गैंडाको आकर्षक चित्र राखिएको छ। मन्दिरभित्र राधा र कृष्णको आकर्षक कला शैलीका मूर्ति निर्माण गरिएको छ। आधुनिक तर परम्परागत रूपमा कुँदिएका झ्यालढोका, स्वर्णिम रङका भित्ताहरू र कलात्मक टुँडालले धर्मधामको शोभा बढाएका छन्। सुनको छानोझैँ देखिने स्वर्णिम गजुरले शोभा थपेको छ। कृष्णले वृन्दावनमा संगीहरूसँग खेलेका दृश्य कुँदिएको छ।

हालसालै मात्र धर्मधाममा सात लाख ७५ हजार रुपैयाँको लागतमा सत्सङ्ग भवन निर्माण गरिएको छ। यसमा दैनिकजसो सत्सङ्ग हुने गरेको श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय सदस्य जगदीशचन्द्र शर्मा बताउँछन्। मन्दिर देशकै नमुना भएको दाबी शर्माको छ। स्थानीय उर्मिला खड्का पनि दैनिकजसो नै मन्दिरमा आएर पूजाआजा गर्छिन्। ‘मन्दिरमा आउँदा आनन्द महसुस हुन्छ’, खड्काले प्रतिक्रिया दिइन्।

दैनिक कथावाचन र आरतिले धार्मिक आस्था भएकाहरूलाई खुसी तुल्याएको छ। बिहीबारदेखि यहाँ एक महिने वितक कथा (कृष्ण कथा) वाचनसमेत सुरु भएको छ। यसले भीडभाड अझ थपेको छ।

रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडी पर्यटन मन्दिरको रूपमा स्थापित धर्मधाम मन्दिरले रत्ननगरको पर्यटक विकासमा सहयोग पुगेको प्रतिक्रिया दिन्छिन्। अध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक बनाउन सिकाउने उनको भनाइ छ। प्रदेश ३ की प्रदेशसभा सदस्य कंचन खनालले धर्म र राजनीतिको उद्देश्य समाज विकास र सुधार नै भएकाले यी दुईको फ्युजन गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्। उक्त धर्मधामको गएको फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.