|

जाजरकोट : कपडा सिलाएर दैनिक गुजारा चलाउँने प्रेम परियार र उनकी श्रीमती छोराछोरीलाई खाना खुआएर नियमित काममा ठाँटीबजारमा पुगे। हत्तपत्त पसलमा अघिल्लो दिनको बाँकी रहेको कपडा सिलाउन लागेको १५ मिनेट नबित्दै पहिरो गएको खबर आयो।

'दौडिदै घरतिर हिडे। तर घर माथिबाट आएको पहिरोले नाम, निशानै नरहने गरी पुरिएको देखेपछि छोरो त भेटाउँने आशा एकै पटक बज्रपातको रुपमा देखा पर्‍याे। न छोरा, भेटियो न त घर नै। आफू पढ्न नसके पनि छोरोलाई पढाएर डाक्टर बनाउने उनको ठूलो धोको भएको रुदै उनले सुनाए। 

स्थानीय एक निजी विद्यालयको चार कक्षामा पढ्ने १३ वर्षीय नरेन्द्र परियारनजिकै रहेको साथीको घरमा होमवर्क गर्न भनेर गएका थिए। नरेन्द्रको मामाको छोरा ११ वर्षको नविन परियार पनि उनीसँगै साथिको डेरामा थिए। उनीहरूसँगै १२ वर्षीय गोविन्द नेपाली र ८ वर्षीय दशरथ नेपालीसहित चारजना एउटै कोठामा बसेर होमवर्क गरिरहेका थिए।

आइतबार बिहान ८ बजेतिर माथिबाट आएको पहिरोले उनीहरू बसेको घरसँगै उनीहरूलाई पनि वाँकी राखेन। नलगाड ३ करुवाका गोविन्द र दशरथ दुबै आमाबाबु गुमाइसकेका बालक हुन्। उनीहरू दिदीसँग भेरी ३ ठाँटीमा डेरामा बस्दै थिए। गोविन्द परियार अझै भेटिएका छैनन्। त्यस्तै नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष तीर्थराज बोहरा र उनकी श्रीमती खान पकाउँदै थिए।

छोरी नग्मा बोहरा बाहिर खेल्दै थिइन्। केहीबेर अघि मात्र छोरीको पढाई राम्रो भएकाले अलि राम्रो विद्यालयमा पढाएर बेस राम्रो बनाई डाक्टर पढाउने श्रीमान् र श्रीमतीबीच कुरा भएको थियो। छोरी अब डाक्टर पढ्ने भनेपछि फुरुंग हुँदै छोरी म त अब डाक्टर बन्ने भन्दै उफ्रिदै आंगनमा खेल्दै थिइन् बोहोराले भने। एक्कासी माथिबाट आएको पहिरोले छोरीलाई लियो। बचाउने कोही भएन्। 

पहिरोमा पुरिएकामध्ये जीवितै उद्धार गरिएका भेरी नगरपालिका-६ गंगटियाका खड्गबहादुर लुहार पछिसम्म कराउँदै थिए।  तत्काल उद्धार टोली आएपछि बचाउन सकिएको स्थानीय लभ पुनले बताए। खड्गबहादुरलाई जीवितै उद्धार गरे पनि उनकी श्रीमती २५ वर्षीया शितला लुहार, छोरी ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियारलाई भने पहिरोले एकै चिहान बनायो। सबै परिवार मृत्यु भयो म मात्र एक्लै बाँचेर के गर्ने भन्दै उनी कराइरहेका छन् अस्पतालको बेडमा।

बोहोराको घरमा डेरा बसेका उनी छोरी पढाउने र आफू मिस्त्री काम गर्थे। आफुले कमाएको पैसाबाट छोरीलाई पढाउने गथे। जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। जाजरकोटमा वातारणीय प्रभाव मूल्या‌ंकनविना खनिएका सडकहरू अहिले काल बनेर यहाँका सर्वसाधारणको जिन्दगी कहिले नफर्कने गरी लिदैछन्। जाजरकोट सदरमुकाम पहिरोको उच्च जोखिममा रहेको छ।

सरोकारवाला निकायको गम्भीर लापरवाहीका कारण अझै कति बेला के हुने हो। यहाँका स्थानीयहरू त्रासमा बाँचेका छन्। बेलुका सुतेको व्यक्ति बिहान जिउँदो पाइन्छ ए पाइँदैन भन्न मुस्किल भएको स्थानीय कमान खड्काले बताए। जिल्लाका दर्जनौं ठाउँहरू यसरी नै उच्च जोखिममा रहेका छन्। सडक विभागको लापरवाहीले गर्दा दैनिक समस्या थपिँदै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.