|

जाजरकोट : शनिबार रातिको भारी वर्षाले भेरी नगरपालिका– ३ ठाँटीबजारमा पहिरोले दुई वटा घर पुरिएका पुर्‍यो। घरमा बसेका अाठ जनाको मृत्यु भयो। एक जन अझै बपत्ता छन्। 

खलंगा बजार तल रहेको जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका–३ र ४ का न्युरोड, शान्तिचौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँलालगायत स्थानमा रहेका चार दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन्। लगातार वर्षासँगै घरमुनि पहिरो जान थालेपछि खलंगावासी जाग्राम बस्ने गरेका छन्।

पहिरोले न्युरोड र ठाँटी बजारको पूरै बस्ती बग्ने खतरा बढेको छ।  ४\५ तले पक्की घर पहिरोको जोखिममा परेपछि स्थानीय बासिन्दा त्रासमा छन्। पहिरोले भद्रबहादुर वली, गुलाबी सुनार, केशव बस्नेत, तेजबहादुर खत्री, शान्तबहादुर शाही, लोकबहादुर खत्री, मेनुका खडका, हर्कबहादुर खड्का, गणेशबहादुर थापा, बलबहादुर विक, रेशम सुनार, भीमराज सिंह, गणेश कामीलगायतको घर उच्च जोखिममा परेको स्थानीय कमान खड्काले बताए।

चारैतिर पहिरो खसेपछि खलंगा बजारमा तीन सातादेखि यातायात ठप्प छ। वर्षात् सुरु भएसँगै साउन पहिलो सातादेखि खलंगा पहिरोको घेरामा परेको छ। खलंगा–पाँचकटिया, खलंगा–नेपालगञ्ज, खलंगा–रिम्ना हुँदै डोल्पा जाने सडक पहिरोको जोखिम मूल्यांकन नगरी खनेकाले चारैतिर पहिरो खसेको हो।

यस्तै तीन साताअघिको भारी वर्षाले खहरे खोला, भेलाले, न्युरोड, रेडक्रस भवन, सिटिजन बैंक, रिसाङ, स्याँलालगायत स्थानमा सडक भत्किएको छ। खहरेखोला र रेडक्रस भवन नजिकको सडकमा मान्छे हिँड्ने बाटोसमेत छैन। पैदलयात्री जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।  सडक विस्तार गर्दा मापदण्डअनुसार नाली नबनाइएकाले पानीले सडक बगाउँदै लगेको छ।

मापदण्डअनुसार सडक निर्माण तथा उचित ढल निकासको व्यवस्था नहुँदा खलंगा बजारलाई घेरेर ठूला पहिरो जानुका साथै दर्जन स्थानमा सडक भासिएको खड्काले बताए। 

भिरालो भू–बनोटको खलंगामा डोजर लगाएर जथाभावी सडक खन्दा पहिरोको जोखिम बढेको स्थानीय बासिन्दा बताउँछन्। रुपैडियादेखि तेन्जे भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्तिचौतारा कालेगाउँ सडक स्तरोन्नति गर्दा ग्याभिङ, नाली लगायतमा ध्यान नदिइएकाले खलंगा बजार पहिरोको खतरामा परेको हो।

सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड स्तरोन्नतिका लागि गतिलो डिजाइन नबनाउँदा र गुणस्तरमा ध्यान नदिँदा ठाउँ–ठाउँमा पहिरोको उच्च जोखिम भएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। यसले गर्दा खलंगा बजारका चार दर्जन पक्की घर जोखिममा परेको उनको भनाइ छ।

सडकमा नाली नबनाउनु, घर निर्माण गर्दा निस्किएको माटो जथाभावी फाल्नु, सडकछेउमा जथाभावी सेफ्टी ट्यांकी बनाउनु, भत्किएको सडक समयमै मर्मत सम्भार नगर्नु, जथाभावी वन विनाश गर्नुलगायत कारणले पहिरोको जोखिम बढेको घर्तीले बताए। पहिरोबाट खलंगा बजार जोगाउन चुनौती भएको उनले बताए। सिटिजन बैंक नजिक, खहरेखोला र रेडक्रस भवन तलको पहिरो नियन्त्रण गर्न करोडौं बजेट आवश्यक पर्ने प्रमुख घर्तीको भनाइ छ।

'भिरालो जमिनमा भवनसंहिता तथा प्राविधिक डिजाइनबिना ४\५ तले घर निर्माण गर्नु जोखिम मोल्नु हो', उनले भने, 'नगरपालिका क्षेत्रभित्र न सडकमा नाली छन् न ढल निकासको उचित व्यवस्था छ, न त सडकछेउमा भवन निर्माण आचारसंहिता लागु गरेर घर बनेका छन्।'

सदरमुकाम क्षेत्रको पहिरोको जोखिम टार्न स्थानीय सरकारको सामर्थ्यले नभ्याउने र तत्काल सम्बन्धित निकायले पहल नगरे ठूलो धनजनको क्षति हुने नगरप्रमुख घर्तीले बताए। 'पहिरोको जोखिम टार्न सडक विभाग, भवन तथा सहरी विकास विभागलगायत निकायले उचित योजना तथा बजेट व्यवस्था गर्नुपर्छ', उनले भने। खलंगामा पहिरोको जोखिम घटाउन अनिवार्य ढल निकासको व्यवस्था तत्काल माग गर्नुपर्ने स्थानीयले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.