|

ताप्लेजुङ : अल्लोबाट उत्पादन भएका कपडा अन्तर्राष्टिय बजारबाट माग भएसँगै यसको निकासी बढ्न थालेको छ। निकासी बढेसँगै ताप्लेजुङका महिलाहरु यो व्यवसायतर्फ आकर्षित भएका छन्।

जंगलमा खेर गइरहेको अल्लोलाई प्रसोधन गरेर निकालिएको धागोबाट तेल्लोकका महिलाहरुले अहिले कपडा उत्पादन गरिरहेका छन्। गुणस्तरीय कपडा उत्पादन गरे थोरैबाट पनि राम्रो आम्दानी लिन सकिने र विदेशबाट पनि माग आएकाले अल्लोबाट कपडा निर्माण गर्न सुरु गरेको तेल्लोककी कल्पना गुरुङले बताइन्। 

समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइका जंगलमा पाइने अल्लोबाट धागो तयार गरी कोट, इस्टकोट, पाइन्ट, भाँग्रा, मोजा, पेटी, झोला, हातेझोला, पर्स, मोबाइल र क्यामेराको ब्यागलगायतका कपडा र सामग्री उत्पादन हुँदै अाएको छ। ती वस्तु राम्रो मूल्यमा बिक्री हुन थालेपछि ग्रामीण महिलाहरु यस व्यवसायमा आकर्षित हुन थालेका हुन्।

अल्लोको कपडा बुन्न महिलाहरु आकर्षित भएपछि घरेलु तथा साना उद्योग विकास समिति तथा विभिन्न संघ संस्थाले अल्लो प्रशोधन तथा अल्लोको कपडा बुनाइसम्बन्धी तालिम सञ्चालन गरिरहेका छन्। अल्लो प्रशोधन तथा बुनाइ तालिम फुङलिङ नगरपालिकासहित मिक्वाखोला, मेरिङदेन, सिदिङ्वा र सिरिजंगा गाउँपालिकाको समन्वयमा गरिएको छ। तालिम लिएपछि कतिपय महिलाहरुले घरमै र केहीले सामुहिक रुपमा कपडा उत्पादन गरिरहेको घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका उद्योग अधिकृत सुनिल आर्चायले बताए। 

ताप्जेलुङमा प्रशस्त अल्लो पाइने भएकाले कच्चा पदार्थको अभाव नहुने हुँदा स्थानीय महिलाको मागअनुसार प्रशिक्षक झिकाएर तालिम दिने र महिलाहरुलाई व्यवसायिक बनाउने कार्यमा स्थानीय तहले समेत चासोका साथ काम गरिरहेका छन्। ‘पहिले घर नजिकैको कान्ला र बारीमा प्रसस्त पाइने अल्लोबाट यसरी भुवा निस्कन्छ भन्ने थाहा पनि थिएन, तालिमपछि हामी त छक्क पर्‍यौ। सरर धागो निस्कने रहेछ अनि कपडा पनि राम्रोऽ’ स्थानीय कल्पना गुरुङले भनिन्, ‘अहिले अल्लोबाट कोट, झोला, पर्स, सल र स्विटर बनाइरहेका छौं।’

‘पहिले पहिले ढाका बुनाइप्रति महिलाहरु आर्कषित थिए, अहिले अल्लोबाट बढी फाइदा हुने भएकाले त्यसतर्फ आकर्षित भएका छन्,‘ स्थानीय कंञ्चनजंगा ढाका उद्योगका सञ्चालक शान्ति मादेनले भनिन, ‘अहिले त अल्लोको कपडाको माग बढेकाले ढाकाभन्दा पनि बढी अल्लोको कपडा उत्पादन गर्न थालेका छौं।’

पछिल्लो समयमा यसको महत्त्वबारे गाउँ–गाउँमा हुने छलफलबाट प्रशोधनको नयाँ तरिका, उपयोगिता, यसको बजार मूल्य र मागबारे स्थानीयले बुझ्न थालेका छन्। अल्लोबाट विगतमा परम्परागत तरिकाले धागो कातेर भाँग्रा, सुरुवाल, बोरा, दाम्लो, डोरीजस्ता सामग्री मात्रै बनाउँदै आएका स्थानीयवासी पछिल्लो समय व्यवसायिक उत्पादन गर्ने उद्देश्यले आधुनिक तरिकाले प्रशोधन गर्ने सीप सिक्न लागिपरेका छन्।

अल्लोबाट भुवा निकाल्न र धागो बनाउन पुरुषहरुले पनि सहयोग गर्ने भएकाले उनीहरुलाई यो पेशामा लाग्न थप प्रेरणा मिलेको छ। बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडा जापानका साथै काठमाडौँ र पोखराबाट बढी माग आएको छ भने स्थानीय बजारमा पनि बिक्री हुने गरेको व्यापारीहरु बताँछन्। अल्लोको कपडा गुणस्तर हेरी प्रतिमिटर ९०० देखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको घरेलु तथा साना उद्योग समितिको कार्यालय ताप्लेजुङका उद्योग अधिकृत आर्चायले बताए। अल्लोको रेशाबाट धागोे उत्पादन गर्ने प्रकृया केही झञ्झटिलो देखिए पनि बजार मूल्यका दृष्टिले राम्रो रहेकाले परम्परागत तरिकालाई आधुनिकीकरण गर्नेतर्फ सम्बन्धित निकायले सहयोग गर्नुपर्ने स्थानीयको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.