|

लहान : सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरमा अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका भाइलाइ केटा साथीसँग मिलेर हत्या गरेको खुलेपछि पक्राउ परेकी युवतीले प्रहरी हिरासतभित्रै आत्महत्या गरिन्। प्रहरीका अनुसार स्थानीय १६ वर्षीया प्रियंका यादव सिरहाको विष्णुपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेको शौचालयमा गएको कात्तिकमा अपराह्न सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन्।

उक्त घटनासहित सिरहामा पछिल्लो आर्थिक वर्ष ०७४/०७५ को असार मसान्तसम्म झुण्डिएर तथा विष सेवन गरेर मृत्यु भएकाहरुको संख्या ८१ जना रहेको छ। झुण्डिएर तथा विष सेवनबाट पुरुष १७ तथा ६४ महिला गरी ८१ जनाको मृत्यु भएको छ। 

बाह्र दिनमा १० घटना

इलाका प्रहरी कार्यालय मिर्चैयाको क्षेत्रअन्तर्गत मिर्चैया, कल्याणपुर र कर्जन्हामा  पछिल्लो असार ४ देखि १६ गतेसम्म १२ दिनमा १० वटा आत्महत्याको घटना भएका छन्। मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहका अनुसार उक्त अवधिमा मिर्चैयामा ३, कर्जन्हामा ४ र कल्याणपुरमा ३ वटा आत्महत्याका १० घटनामा विषादीको प्रयोग भएको पाइएको छ। प्रहरी नायव उपरीक्षक शाहका अनुसार त्यसमध्ये एक जनाको मृत्यु भए पनि अन्यको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको छ।

झुण्डिएर मर्नेहरु बढी

प्रहरी हिरासतमै झुण्डिएर मरेकोसहित सिरहामा पछिल्लो आर्थिक वर्ष ०७४/०७५ को असार मसान्तसम्म जिल्लाका विभिन्न ठाउँमा झुण्डिएर आत्महत्या गरी ४६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार झुण्डिएर आत्महत्या गर्नेहरुमा दुई पुरुष र ४४ जना महिला तथा बालबालिका छन्। प्रहरीको तथ्यांकअनुसार उक्त आवमा ५८ वटा आत्महत्यासँग सम्बन्धित घटनाको अभिलेख छ।

बढ्दै विष सेवनका घटना

उक्त आवमा भएका ३५ वटा विष सेवनका घटनामा १५ पुरुष र २० महिला गरी ३५ जनाको मृत्यु भएको छ। त्यस अवधिमा एकजना महिलाले आगो लगाएर आत्महत्या गरेको प्रहरीको वार्षिक तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार उक्त आवमा विभिन्न घटनामा परी मृत्यु भएका एक सय ५५ महिलामध्ये झुण्डिएर तथा विष सेवनबाट ६५ जना महिला तथा बालबालिकाको मृत्यु भएको छ जुन कुल मृत्यु भएका महिलाको करिब ४२ प्रतिशत हिस्सा हो।

जनचेतनाको खाँचो

पारिवारिक जिम्मेवारी, आफूले सोचेअनुसार काम नहुने तथा व्यक्तिगत सम्बन्धमा आउने खटपटलगायतका कारणले व्यक्तिमा पैदा हुने निराशाको समयमै उपचार नहुँदा आत्महत्या जस्तो जघन्य अपराध गर्न उद्दत हुने स्वास्थ्यकर्मी गंगाराम साह बताउँछन्।

प्रहरी नायव उपरीक्षक शाह भन्छन्, ‘आत्महत्याको घटनाको विश्लेषण गर्दा अधिकांशमा विषादी सेवन गरेको पाइएकाले विषादी बिक्रेतालाई सजग गराउनेसँगै घरमा अभिभावकहरू चनाखो रहनुपर्छ।’

त्यससँगै सूचना प्रविधिमाथिको बढ्दो पहुँचले व्यक्तिको महत्वाकांक्षा बढ्ने र पूरा नहुँदा आत्महत्या गर्ने भएकाले अभिभावकले चनाखो हुनुपर्ने प्रहरी नायव उपरीक्षक शाहले औंल्याए।  उनले थपे,‘आत्महत्या गर्नुपूर्व व्यक्तिको हाउभाउ, व्यवहारले पनि केही संकेत गरिरहेको हुन्छ, त्यसलाई ठम्याएर बेलैमा व्यक्तिको निरशाको कारणको विषयमा परामर्श गर्न सकियो भने आत्महत्या जस्तो जघन्य घटना रोक्न सकिन्छ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.