|

जुम्ला : शिक्षकको तलवभत्ताका लागि तीला गाउँपालिकाको नाममा आएको रकम विद्यालयको खाता जम्मा भएको पाइएको छ। आइतबार साँझ गाउँपालिकाकी उपप्रमुख विष्णुमाया बुढाले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएकी हुन्।

उनका अनुसार तीला गाउँपालिकामा आएको रकम विद्यालयको खातामा जम्मा हुँदा शिक्षकहरूको तलवभत्ता समेत रोकिएको छ। उनले आइतबार बेलुकी गरेको पत्रकार सम्मेलनमा उक्त रकम अन्यत्र पठाउनुमा अध्यक्ष, कार्यकारी र लेखापालकै हात रहेको हुन सक्ने आशंका व्यक्त गरेकी छन्।

चार महिनाको तलव नपाएको भन्दै गत साउन १७ गतेदेखि तीला गाउँपालिका शिक्षकहरू आन्दोलित भएका थिए। तत्काल तलवको माग गरेका शिक्षकहरूले विद्यालयहरूमा पठनपाठनसमेत ठप्प पारेका थिए।

शिक्षकहरूको चर्को आन्दोलनलाई एक हप्ताभित्र समाधान गर्ने वाचा गरेर उपप्रमुख बुढाले तातोपानी गाउँपालिकाका लेखा अधिकृतको सहयोगमा उक्त रकम फेला परेको बताएकी हुन्। गाउँपालिकाको खातामा आउनु पर्ने उक्त रकम जनजागृति मावि जुम्लाकोटको खातामा आएको थियो। गत पुस महिनामा उक्त रकम विद्यालयका नाममा आएको भएता पनि विद्यालयले गाउँपालिकालाई खबर गरिएको थिएन्। लेखा अधिकृतको सहयोगमा उक्त रकम तीन दिनअघि मात्रै पत्ता लगाएको उपप्रमुख बुढाले बताइन्।

विद्यालयले आफ्नो खातामा आएको २८ लाखबाट दुईपटक गरेर १६ लाख रुपैयाँ निकालिसकेको पनि खुलेको छ। विद्यालयको खातामा बाँकी रहेको रकम गाउँपालिकाको खातामा फिर्ता भइसकेकोले सोमबार नै शिक्षकहरूलाई तलव वितरण गरिने उनले बताइन्। रकम किन र कसरी विद्यालयको खातामा पुग्यो भन्ने बारेमा अनुसन्धान सुरू गरिसकेको समेत उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.