|

चितवन : सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एकजोडी गैंडा मंगलबार काठमाडौं जाँदै छन्। काठमाडौं पठाउनका लागि आवश्यक तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। 

सोल्टी’ र ‘मितिनी’ नाम गरेका गैंडालाई सौराहामा रहेको सानोखोरबाट काठको खोरमा हालेर ट्रकमार्फत गैंडा काठमाडौं पठाइँदै छ। गैंडा साउन ३१ गते साँझ त्रिभुवन विमानस्थलबाट विशेष कार्गाे विमानबाट चीनका लागि प्रस्तान गर्ने छन्। मंगलबार बिहान पठाउने भनिएपछि विप्लव नेतृत्वको नकेपाको बन्दले रोकिएको हो। त्यसैले बन्द खुलेपछि साँझ पठाइने छ।

गैंडा बोकेको ट्रक सडकमार्ग हुँदै जाने छ।अगाडि पछाडि सेनाको गाडीले स्कटिङ गर्ने छ भने चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा संरक्षणकर्मीहरू सहभागी हुनेछन्। चितवनबाट काठमाडौं लैजाने नेतृत्व भने ढकालले गरेका छन्। अहिले राखिएको गैंडा मध्ये पोथी (मितिनी) लाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको गैंडा हो।

सोल्टी चाहिँ अघिल्लो वर्ष बाढीले बगाएर भारतीय सिमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको गैंडा हो। यी गैंडालाई सांघाई सफारी पार्कमा लगेर राखिने छ। यसअघि गएको चैत २८ गते चीनलाई उपहार दिईएको एकजोडी गैंडाको नाम ‘रुपसी र भद्र’ राखिएको थियो। अहिले रुपसी र भद्र चीनको चिमे लङ सफारीमा रमाइरहेका छन्।

सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैंडा उपहार दिईसकेको छ। विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो। नेपाल सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्त अनुसार विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिंदै आएको छ। यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा ४ तथा १९८७ र १९९० मा दुईचोटी गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो।

सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा २/२ वटाका दरले १० गैंडा उपहार दिइएको थियो। थाइल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि २/२ वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यंकमा उल्लेख छ। हाल पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा छन्। नेपालमा भने गैंडाको संख्या ६४५ रहेको छ। 

गैँडासँगै पशु चिकित्सक र प्राविधिक पनि जाने

गैंडासँगै रेखदेखका लागि पशु चिकित्सक र वन्यजन्तु प्राविधिज्ञको टोली समेत चीन जाने छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक डा. अमिर षडौला, चितवन निकुञ्जका भेटेरिनरी प्राविधिज्ञ पुरुषोत्तम पाण्डे तथा कोषका अन्य प्राविधिज्ञहरू हर्कमान लामा, ओमप्रकाश चौधरी र रमेश दराई चीन जाने छन्। उनीहरू मध्ये षडौला र पाण्डे १० दिन र अरु १५ दिन बस्ने छन्।

गैंडालाई बानी पार्न र चिनीया प्राविधिज्ञहरूलाई रेखदेखका लागि सिकाउन उनीहरू जान लागेका कोषका सौराहा प्रमुख रामकुमार अर्यालले जानकारी दिए।यसअघि भद्र र रुपसीसँग वरिष्ठ पशु चिकित्सक डा.कमल गैरेको नेतृत्वमा किरण रिजाल तीर्थ लामा, दीपु चौधरी र विनोद दराई गएका थिए। उनीहरू फर्किसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.