|

चितवन : चीनमा आएको आँधीतुफानका कारण एकजोडी गैंडा ‘सोल्टी र मितिनी’लाई चीन पठाउने कार्य आजलाई रोकिएको छ। आँधीले चीनबाट आउनुपर्ने कार्गो विमान आउन नसक्दा आज गैंडा लाने कार्य स्थगित गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए। भोलि शुक्रबार ६ बजे विमान आउने र साँझ ७ बजेमात्रै गैंडा पठाइनेछ।

समयमै खबर प्राप्त भएकाले गैंडालाई विमानस्थलसमेत नलगी राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय सातदोबाटोमा नै राखिएको चितवन निकुञ्जका प्रमुख बेदकुमार ढकालले बताए। 

बुधबार चितवनबाट काठमाडौ पुर्‍याइएको गैंडालाई आज साँझ ५:१० बजे चीन पठाउने तयारी गरिएको थियो। गैंडासँगै रेखदेखका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर षडौला, चितवन निकुञ्जका भेटेरिनरी प्राविधि पुरुषोत्तम पाण्डे तथा कोषका अन्य वन्यजन्तु प्राविधिकहरु हर्कमान लामा, ओमप्रकाश चौधरी र रमेश दराई चीन जाँदै छन्। गैंडासँगै ५०० किलो दूधसमेत लगिँदै छ।

 उक्त गैंडामध्ये पोथी(मितिनी)लाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको थियो। सोल्टी चाहिँ अघिल्लो वर्ष बाढीले बगाएपछि भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको थियो। यो जोडी गैंडालाई साङघाई सफारी पार्कमा लगेर राखिनेछ।

गएको चैत २८ गते चीनलाई उपहार पठाईएको ‘रुपसी र भद्र’ नामको एकजोडी गैंडा चिमे लङ सफारी पार्क राखिएको छ। सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ। विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज महत्वपूर्ण वासस्थान हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.