|

इलाम : प्रदेश १ का किसानको  प्रमुख आयश्रोत रूपमा रहेको चिया क्षेत्रमा काम गर्ने मजदूर आन्दोलित भएका छन्। श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा तोकिएको तलब सुविधा कार्यान्वयन गर्नुपर्ने माग गर्दै चिया मजदुर आन्दोलित भएका हुन्।

चिया उद्योगी र बगान संचालकले श्रम ऐनमा तोकिएको तलब र  सामाजिक सुरक्षा ऐनमा भएको सुविधा मजदुरलाई नदिएको भन्दै चिया खेती उद्गमस्थल इलामबाट मजदुरले आन्दोलन सुरु गरेको हुन्। चिया क्षेत्रमा संस्थागत रूपमा सक्रिय रहेका अखिल नेपाल चिया मजदुर संघ, नेपाल कृषि तथा बजान क्षेत्र श्रमिक संघ र नेपाल चिया बगान श्रमिक संघ आवद्ध मजदुरले संयुक्त रूपमा आन्दोलन सुरु गरेको अखिल नेपाल चिया मजदुर संघका केन्द्रिय उपाध्यक्ष उमेश रेग्मीले बताए।

आन्दोलनको पहिलो चरणमा बिहीबार इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा चिया मजदुरहरूले र्‍याली र कोणसभा सम्पन्न गरेका हुन्। कोणसभामा बोन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का संयोजक भुपाल सापकोटाले सरकारले ल्याएको कानुन कार्यान्वयनमा उद्योगी र बगान संचालक नलागे दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने बताए।

इलाम जिल्लामा रहेको चिया बगान र उद्योगमा काम गर्ने एक हजार बढी मजदुर सहभागि रहेको कोणसभाका सहभागीहरूले सरकारले श्रम ऐन २०७४ मा अन्य उद्योगको भन्दा चिया क्षेत्रमा काम गर्ने मजदुरको तलब कम तोकेको भन्दै आफूहरूको ज्याला समायोजनको मागसमेत गरेका छन्। सरकारले चिया बगान तथा उद्योगमा काम गर्ने मजदुरका लागि १० हजार ७ सय ८१ रुपैयाँ तलवभत्ता साउन १ गतेदेखि लागू हुनेगरी तोके पनि कार्यान्वयनमा नआएपछि मजदुरको आन्दोलित भएका हुन्।

१४ जिल्लामा चियाको व्यवसायीक खेती

नेपालको १४ जिल्लामा व्यवसायिक खेती हुने चियामा नौ हजार २३६ कृषक तथा चिया उत्पादक व्यवसायीहरू आवद्ध रहेका मध्ये नौ हजार एक सयले व्यक्तिगत रूपमा र १०८ संस्थाहरू संस्थागत रूपमा चिया उत्पादन गर्दै आएका छन्। १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको नेपालमा झापामा सात हजार १९५ हेक्टरमा चिया खेती हुन्छ भने नेपालमा कुल ११ हजार ४१ वटा बगानहरू रहेको छन्।

चिया क्षेत्रमा ५० हजार बढी मजदुरहरू काम गर्दै आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक छ। चिया खेती गर्ने किसानमध्ये  ५९ प्रतिशत कृषकहरू पराम्परागत ३० प्रतिशत कृषक तथा व्यवसायीहरू प्रारंगारिक उन्मुख र ११ प्रतिशतले पूर्ण प्रारंगारिक उत्पादन गर्दै १८ हजार १८० जना किसान व्यसायिक रूपमा लागको तथ्यांक छ। जसमध्ये नौ हजार ३७४ जना पुरुष र आठ हजार ८०७ जना महिला आवद्ध कृषकले नै वार्षिक एक अर्ब ७४ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन्।

वार्षिक २ करोड केजी बढी उत्पादन

नेपालमा वार्षिक दुई करोड २२ लाख केजी चिया उत्पादन हुने गरेको तथ्यांक छ। चिया खेतीको बारेमा पहिलो पटक केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय योजना आयोग, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा गरेको सर्वेक्षणले नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुने देखाएको  छ।

नेपालमा सिटिसी, अर्थोडक्स र ग्रीन टी गरी तीन प्रकारका चिया उत्पादन हुने गरेका छन्। सिटिसीको उत्पादन लागि आवश्यक हरियो पत्ति झापा जिल्लामा मात्रै उत्पादन हुन्छ भने अर्थोडक्स चिया पहाडी जिल्लामा उत्पादन हुँदै आएको   छ। कुल उत्पादनको ४५ प्रतिशत सिटिसि चिया नेपालमा खपत हुने गरेको छ भने ५५ प्रतिशत भारतीय बजारमा निर्यात हुने गरेको छ। नेपालमा उत्पादन हुने अर्थोडक्स र ग्रीन टी भने तेस्रो मुलक युरोप र अमेरिकी मुलुकमा निर्यात हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.