|

पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले नयाँ क्लब युभेन्टसबाट शनिबार राती औपचारिक डेब्यू गरेका छन्। रोनाल्डोले किएभो विरुद्धको खेलबाट सिरी ए मा औपचारीक डेब्यु गरेपनि युभेन्टसलाई जित निकाल्न भने अतिरिक्त समय सम्म पर्खनु परेको थियो।

स्पेनिस क्लब रियल म्याड्रिडबाट गत जुलाईमा ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका थिए। पहिलो खेलमा इटालियन च्याम्पियन युभेन्टसले किएभोलाई ३–२ ले पराजित गर्दा जितका लागि निर्णायक गोल भने इन्जुरी समयमा निकाल्न सफल भएको थियो।

तेस्रो मिनेटमा नै सामी खिदिराले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए। तर ३८ औँ मिनेटमा मारिउस्ज स्टेपिन्स्कीले किएभोका लागि बराबरी गोल फर्काए । ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा इमानुएल जाकिरीले गोल गर्दै किएभोलाई अग्रता दिलाए। किएभोका मातिया बानीले ७५ औँ मिनेटमा आत्माघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भयो। इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिको बर्नार्डेस्कीले गोल गर्दै युभेन्टसलाई जित दिलाए।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले सिरी ए मा डेब्यु खेलमा गोल गरेपनि भिडियो एसिस्टेन्ट रेफ्री, भिएआरको सहायतामा रिभ्यु गर्दा उनको गोलले मान्यता पाएन्। रेफ्री फब्रिजिओ पास्क्वाले रोनाल्डोको गोललाई मान्यता नदिएका हुन्। रोनाल्डो किएभोका गोलरक्षक स्टेफानो सोरेन्टिनोसँग ठोक्किएकाले गोलले मान्यता नपाएको हो। ३९ वर्षका सोरेन्टिनोले  रोनाल्डोका धेरै प्रहारको सुन्दर बचाउ गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.