|

चितवन : स्थानीय तहका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मीसहित साेमबार बिहानै रत्ननगरको झुवानीका ज्येष्ठ नागरिकका घरघरै पुगेपछि झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना छक्क परिन्। उनलाई यसरी जनप्रतिनिधिहरू आफूलाई खोज्दै घरमा आउलान् भन्ने लागेको थिएन। तर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारका लागि उनीहरू यसरी घरघरै गएका हुन् भन्ने थाहा पाएपछि उनी अझ खुसी भइन्।

‘पोहोर भोट हालेको हो। आज घरमै सांसद, नगर प्रमुख आए। घरमै आएर सोधखोज गर्लान् भन्ने त सुइँको थिएन', खड्गकुमारीले दंग पर्दै भनिन्। भोट हालेकाले जितेको अनुभवसमेत उनले सुनाइन्। आफ्नै स्वास्थ्यको ख्याल गर्न जनप्रतिनिधि आएकोमा उनी गद्‌गद् भइन्। उनले आफूलाई सहयोग गर्लान् र देशको विकास होला भन्ने आशाले अघिल्लो वर्षको स्थानीय तहको चुनावमा सकी नसकी भोट हालेकी थिइन्। भोट हालेर फर्किनेवित्तिकै उनलाई उच्च रक्तचापले ढाल्यो। निको बनाउन अस्पतालामा राख्दा राख्दै झन् ठूलो घाउ बनेर थला परिन्। 

'लौ अब बाँचिँदैनझैँ लाग्या’ थ्यो। अस्पतालले पनि अब सकिन्न घरै लैजानु भनेर पठायाे', उनले भनिन्। बुहारी भवानीले घटना सम्झिइन्, 'घरमै राखेर औषधिमुलो गरेको। अहिले शरीर फिर्‍याे।' खड्गकुमारीले पुनर्जन्म पाएकोमा खुसी भएको ढुंगानाको परिवारमा आज अकस्मात घरघरै सरकार (स्थानीय तहका जनप्रतिनिधि) आइपुग्दा अर्काे खुसी थपियो। त्यसमाथि पनि औषधिसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पुगेकाे थियाे।

'तपाईंहरू आउनुभयो। गजब भो बाबु! अब ओल्लार-पल्लार हिँड्न पाए हुन्थ्यो', प्रदेश- ३ की सांसद कंचन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडीलगायत जनप्रतिनिधि सामु खड्गकुमारीले आफ्नो पीडा पोखिन्। उनले यसरी पीडा पोख्दै गर्दा वडा अध्यक्ष कृष्ण महत्तो उपचारको बन्दोबस्तमा थिए भने रत्ननगरका हेल्थ असिस्टेन्ट शिवप्रसाद पौडेल र ल्याव असिस्टेन्ट सरोज देवकोटा सुगर र प्रेसर हेर्दै थिए। 

अहिले खड्गकुमारीका खुट्टा लुला भएका छन्। हिँडडुल गर्न गाह्रो हुन्छ। प्रेसरको औषधि नियमित खान्छिन्। ह्विलचियरको प्रतीक्षामा छन् उनी। यताउता जाँदा परिवारले समाइदिनुपर्छ। उनलाई अस्पताल लैजान र ल्याउन बडो समस्या हुन्छ। यसरी घरघरै उपचार पाउने हो भने सामान्य जनता धेरै खुसी हुने उनको भनाइ छ।

रत्ननगर- ५ झुवानीकै ९१ वर्षीया टंककुमारी रिजाल पनि बिरामी छन्। चाउरिएका गाला उज्यालो पार्न उनलाई सकस हुन्छ। लठ्ठीको सहाराले हिँडडुल गर्छिन् उनी। 'के हुन्छ आमा?', स्वास्थ्यकर्मी शिवप्रसाद पौडेलले सोधे, 'पेट, छाती यसै भतभत हुन्छ', साउतीको स्वरमा उनले जवाफ दिइन्। 

नापजाँच गर्दा उनको प्रेसर र सुगर सामान्य देखियो। उनलाई पनि नियमित प्रेसरकै औषधि खुवाउने गरिएको बुहारी नीलकुमारी रिजालले बताइन्। बिरामी थला परेकाले उनलाई बच्चालाई खुवाउने जस्तो लिटो बनाएर अनि भात र तरकारी मिचेर नरम पारेर खुवाउने गरिएको छ। ९७ वर्षका विष्णुप्रसाद रिजाल अझै ठमठम्ती हिँड्छन्। 'बेलाबेलामा रिङटा लाग्ने र भाउन्न हुने हुन्छ। दिसा पिसाब सबै राम्रो छ। त्यही पनि पिसाबचाहिँ पोल्छ', रिजालले स्वास्थ्यकर्मीसामु आफ्नो समस्या बताए। उनलाई एक पटक अस्पतालमै लगेर परीक्षण गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाए।

यसरी गाउँमै जनप्रतिनिधि आउँदा उनी पनि दंग परे। 'खास्सा लाग्यो। यहाँ देखेपछि धेरै आशा भरोसा हुन्छ', रिजालले संक्षिप्त प्रतिक्रिया दिए। कतिपय ज्येष्ठ नागरिक जनप्रतिनिधिहरू एक्कासि घर आउँदा नै दंग परे। कतिपय जाँच गर्न आउने थाहा पाएपछि नजिकैको झुवानी स्कुलमा जम्मा भएका थिए।

'अलिकति सुगर छ भन्या छ। घर खोज्दैखोज्दै आउँछन् रे', स्वास्थ्य परीक्षणपछि घर जाँदै गर्दा ८० वर्षकी गंगादेवी लम्सालले प्रतिक्रिया दिइन्। उनीहरू प्रतिनिधि पात्र मात्र हुन्। चितवनको रत्ननगर नगरपालिकाले अहिले ८० वर्ष कटेका ज्येष्ठ नागरिकलाई घरघरै पुगेर स्वास्थ्य सेवा दिन थालेको छ। घरधुरी सर्वेक्षणमा रत्ननगरमा एक हजार ५० जना ८० कटेका ज्येष्ठ नागरिक छन्। उनीहरू हरेकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने नगर प्रमुख नारायण वनले बताए। 

'प्रारम्भिक सेवा घरमै हुन्छ। जटिल भए एम्बुलेन्समार्फत् विशेषज्ञ चिकित्सककहाँ पुर्‍याउँछौँ', वनले भने, 'यो अभियान अब दैनिक चल्छ।' नगरपालिका अलिक समृद्ध हुँदै गएपछि भने उमेर हद घटाएर ७० वर्षमाथिकालाई नै सेवा पुर्‍याउने सोच रत्ननगर नगरपालिकाले ल्याएको छ। अहिले पनि कतिपय समाजमा आफ्ना बुबाआमालाई वृद्धाश्रम लगेर छाड्ने चलन छ। कतिपयले हेला गरेर घरमै राखेका छन्। यसरी जनप्रतिनिधिहरू घरघरै आएर सेवा दिनु अन्य स्थानीय तहका लागिसमेत प्रेरणा भएको स्थानीय बताउँछन्। नेपाल सरकारको घरघरमा सिंहदरबार पुर्‍याउने लक्ष्य जनप्रतिनिधिहरूले अग्रसरता देखाए सफल हुन्छ भन्ने उदाहरण रत्ननगर नगरपालिकालाई बनाउन चाहेको नगर प्रमुख वनको भनाइ छ।

'गाउँगाउँमा, घरघरमा सरकार भनेको यही हो। राज्यको उद्देश्य पूरा गर्ने अभियान यही हो', प्रदेशसभा सदस्य कंचन खनालले भनिन्। नगरपालिकाले ज्येष्ठ नागरिकको अभिभावक बनेर नयाँ कार्यक्रमको थालनी गरेकामा उनले रत्ननगरलाई धन्यवाद दिइन्। रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना ज्येष्ठ र नयाँ पुस्ताको अनुभव आदान प्रदानका लागि उहिलेका कुरा कार्यक्रमसमेत रत्ननगरले संचालन गर्न लागेको बताउँछन्। रत्ननगरलाई नमुना नगर बनाउने सोच रहेको उनको भनाइ छ।

रत्ननगरले यति मात्रै होइन, यहाँ बाँझो जमिन राख्नेलाई कारवाही थालेको छ। सार्वजनिक जग्गाको खोजी गरी संरक्षण कार्य अगाडि बढाएको छ। सुरक्षित मातृत्व नगर बनाउने अभियानसमेत थालिएको छ। छाडा चौपाया राख्ने गौशाला बनाउने सोचसमेत बनाएको छ नगरले। रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दवाडी भन्छिन्, 'हरेक जनप्रतिनिधिहरूअब बुबाआमाका छोराछोरी बन्न सक्नुपर्छ। सुखदु:ख साट्ने हुनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.