|

लमजुङ : दक्षिण एसियामै कहलिएको गाउँको नाम घलेगाउँ। जिल्लाको पहिलो होमस्टे (घरवास) घलेगाउँ। सार्क राष्ट्रकै नमुना गाउँको पहिचान कमाउन सफल भएको छ यहाँको घलेगाउँ। अहिले घलेगाउँवासी ‘स्मार्ट भिलेज’ निर्माणका लागि दैनिक १५ मिनेट समुदायको सरसफाइमा जुटेका छन्।

होमस्टे र नमुना गाउँको स्यावासी पाएको घलेगाउँले मुलुकका धेरै गाउँबस्तीलाई उछिनेको छ। यद्यपि, घलेगाउँवासीलाई यतिले मात्रै पुगेन। गाउँको क्रमागत विकासको दौरानमा ‘स्मार्ट भिलेज’ को अवधारण विकास भएको ग्रामीण पर्यटन विकास समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए। पर्यटकीय नमुनागाउँ घलेगाउँको निर्माता घले क्व्होला सोथर गाउँपालिका अध्यक्षसमेत हुन्।

गाउँपालिकाको अध्यक्ष भएपछि पर्यटनको क्षेत्रमा नौलो आयामको रूपमा होमस्टेसँगै पर्यटकीय गन्तव्यको विकासका लागि ‘स्मार्ट भिलेज’ को तयारी भएको प्रेमबहादुर घलेले बताए, ‘आवश्यक मापदण्ड कायम गर्दै गाउँमा आउने आन्तरिक तथा बाह्‍य पर्यटकलाई थप गुणस्तरीय सेवा प्रवाह गराउने उद्देश्यले ‘स्मार्ट भिलेज’को अवधारणा ल्याइएको हो।’ उनले भने, ‘पर्यटन समितिले निर्णय गरेपछि लगत्तै यसै सातादेखि अभियान थालेका छौँ।’

ग्रामीण पर्यटन विकास समितिले अभियान्तर्गत बस्ती क्षेत्र र सार्वजनिकस्थलमा सामूहिक रूपमा दैनिक १५ मिनेट सरसफाई गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन थालेको छ। २०५७ सालदेखि पर्यटन प्रवर्द्धन गर्दै होमस्टे कार्यक्रम सञ्चालन गरेको घलेगाउँमा अहिले ३२ घरमा होम स्टे सेवा सञ्चालित छ। तीमध्ये दुई घर होम स्टे दलित समुदायमा रहेको छ। दलित समुदायमा होमस्टे सञ्चालन गरेर अन्यत्र नभएको उत्कृष्ट र सन्देशमूलक कार्य घलेगाउँले गरेको लमजुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठले बताए।

पर्यटन समितिका अनुसार घलेगाउँको विकास तथा पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारसँग आवश्यक आर्थिक सहयोग माग गरिने भएको छ। ‘स्मार्ट भिलेज’ बनाउने अभियानअन्तर्गत नै यसैवर्ष गाउँका १२० घरमा उस्तै देखिने गरी हल्का रातो रंगको जस्ताले छाना छाइने तय भएको ग्रामीण पर्यटन विकास समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए,‘घलेगाउँ क्षेत्रको भौतिक संरचनाको विकासका लागिसमेत पहल भइरहेको छ।अन्य मापदण्डका बारेमा बुझ्दै जाने र सोहीअनुरूप पूरा गर्दै जाने सल्लाह समितिमा छ।’ 

घलेगाउँलाई थप व्यवस्थित, सुन्दर र आकर्षक बनाउन विभिन्न ६ वटा उपसमिति समेत गठन गरिएको अध्यक्ष घलेले जानकारी दिए। उपसमितिले घलेगाउँको विकास, प्रचार-प्रसार र प्रवर्द्धनमा टेवा पुग्ने भएको छ। घलेगाउँ पर्यटन विकास समितिका अनुसार संस्कृति उपसमिति, सरसफाइ उपसमिति, खानेपानी व्यवस्थापन उपसमिति, ६ वटा टोलहरूमा टोल सुधार समिति,सबै टोलमा पशु चौपाय व्यवस्थापन उपसमितिहरू र होमस्टे अनुगमन उपसमिति गठन गरिएको छ। गुरुङ भाषामा नै समितिले ६ वटा टोलसुधार समितिको नामकरण गरेका छन्।

गजबहादुर गुरुङको संयोजनमा नासरे टोल, पूर्णबहादुर गुरुङको संयोजनमा फन्ग्यु टोल, तीर्थराज गुरुङको संयोजनमा टोल, उत्तमराज घलेको संयोजनमा फौजु टोल, यमप्रसाद घलेको संयोजनमा खोडा टोल र झविलाल विकको संयोजनमा दलित समुदाय टोलसुधार समिति गठन गरेका छन्।

टोलसुधार समितिले नै पशु चौपाय व्यवस्थापन समितिको जिम्मा पाएको छ। त्यस्तै बुद्धिजंग गुरुङको संयोजकत्वमा खानेपानी व्यवस्थापन उपसमिति, नौरास घलेको संयोकत्वमा सांस्कृतिक उपसमिति, दुर्गादेवी घलेको संयोजकत्वमा सरसफाई उपसमिति र पूर्णबहादुर गुरुङको संयोजकत्वमा अनुगमन उपसमिति निर्माण गरिएको पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर बिकले बताए। प्रत्येक समितिमा ७ जना सदस्य रहेको छ।

पर्यटकले गुनासो गर्ने स्थान नपाउन भन्ने उद्देश्यका साथ उपसमिति उपसमिति गठन गरिएको सचिव बिकले बताए। घलेगाउँबाट हिमालको दृश्यावलोकन र सूर्योदय अवलोकन सहज रुपमा गर्न सकिन्छ। साथै गुरुङ जातिको संग्रहालय, गुरुङ संस्कृतिमा आधारित घाँटु, कृष्ण चरित्र, झ्याउरे नाचसँग पर्यटकहरूले सहजै रमाउन र घुलमिला हुन सक्दछन्। यस्तै गुरुङ र घले राजाको बगैंचा, गुरुङ जातिको हस्तकला, चिया बगान समेत अवलोकन गर्न पाइन्छ। घलेगाउँ समुद्री सतहदेखि २१०० मिटरको उचाइमा पर्दछ।

सदरमुकाम बेसीशहरबाट यातायात सेवाबाट साँढे दुई घण्टा र पैदल यात्रामा पाँच घण्टामा घलेगाउँ पुग्न सकिन्छ। पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ। गतआर्थिक वर्ष २०७४/०७५ मा १७ हजार आन्तरिक र करिब ३०० वाह्य पर्यटक घलेगाउँमा पुगेको स्थानीय आशबीर गुरुङले बताए।

२०७४ सालमा घलेगाउँ मुलुुकको उत्कृष्ट सामुदायिक होम स्टे बन्न सफल भयो। अहिले घलेगाउँमा विगत चारवर्षदेखि पर्यटकीय सुविधाका लागि निःशुल्क इमेल इन्टरनेट सेवा समेत उपलब्ध छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.