|

काठमाडौं : सरकारले प्रत्येक वर्ष नेपालमा पाँच लाख रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ। केही वर्षमै कामका लागि विदेश जानु नपर्ने वातावरण  बनाउन केन्द्रित रहेको श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको भनाइ छ।

तर सरकारले यसका लागि अझै स्पष्ट कार्य योजना अघि बढाउन सकेको छैन। एउटा प्राइभेट कम्पनीको रहर भने आफ्नो कम्पनीलाई 'श्रम मन्त्रालय प्राइभेट' लिमिटेडको विम्ब बनाउने रहेको छ, जसले पछिल्लो आठ वर्षदेखि रोजगारी तथा मानव संशाधनको क्षेत्रमा काम गर्दै आएको छ।

रोजगारी भनेपछि आफ्नो कम्पनी सम्झिऊन् र नेपालमा सबैभन्दा बढी मान्छेलाई रोजगारी दिने माध्यम आफू बनूँ भन्ने सपना पालेका छन् शैलेन्द्रराज गिरीले। उनले पढेको युवालालाई रोजगारी दिने उद्देश्‍यले मेरोजव डटकम अनलाइन चलाएका छन् भने नपढेकालाई केन्द्रित गरेर रोजगार पसल चलाएका छन्। यीबाहेक मानव संशाधन र प्रविधिका क्षेत्रमा उनको लगानी रहेको छ।

विगत : भाडा तिर्न नसकेकाे अबस्था
गिरी व्यावसायिक घरनाकै व्यक्ति हुन्। उनी र उनको परिवार पनि अहिले विजनेसमा रमाएको छ। विजनेस गर्ने उद्देश्‍यले नै छिमेकी देश भारतमा 'विजनेस म्यानेजमेन्ट' पढ्न गए। सन् १९९९ मा उनी पढाइ सकेर नेपाल फर्किए। निर्माण व्यवसायमा जमिरहेका बुबाको इच्छा भने छोरोले आफूलाई सघाओस् भन्ने नै थियो तर उनले बुबाको काममा जाँगर देखाएनन् बरु जागिर खोज्नतर्फ लागे।

'१० महिना घरभेटीलाई भाडा तिर्न बाँकी पुगेछ। त्यसपछि त मलाई थुनियाे'

सन् २००० मा उनले पत्रिकामा देखेको विज्ञापनको आधारमा जागिरका लागि निवेदन दिन खोजे। निवेदन लेख्न नजानेर निकै समस्या पर्‍यो। अन्तत: उनले ओपेल भन्ने गाडीको प्रवन्ध वितरक 'सेल्स अफिसर'को रूपमा जव (जागिर) गर्ने भए। 'एक वर्षमा ४०० प्रतिशत बिक्री बढ्यो', गिरी भन्छन्, 'क्षमता मेरो राम्रो रहेछ अब आफ्नै काम गर्नुपर्छ भन्ने सोच आयो।' दुईवटा टेबल, कुर्सी, पर्दालगायतका सामग्री किनेर ६० हजार रुपैयाँ हातमा लिएर सुरु भयाे गिरीकाे काम।

उनी नयाँ सामग्री अाफूले किन्ने र भाडा लगाउने काम गर्थे। 'व्यापार होइन, घाटा दिनदिनै बढ्न थाल्याे', गिरी भन्छन्, '१० महिनासम्म अफिसभाडा तिर्न नसक्ने अबस्था पनि अाएछ।'

उनकाे व्यवसाय यस्ताे अवस्थामा पुगेकाे थियाे कि ३५० रुपैयाँ उठाउन एक हजार रुपैयाँ खर्च गर्नुपर्थ्यो। 'एक जनालाई एक महिनाका लागि सामान भाडामा दिएर पैसा काम सकिएपछि लिने गरेकाे थिएँ तर ऊ त काेठा छाडेर कहाँ पुगेछ पुगेछ', उनले भने, 'खाेज्न हजार रुपैयाँ लाग्याे।` गिरीलाई भने बल्ल त्यसबेला थाहा भयाे रे मैले के गरिरहेकाे छु भनेर।

अहिले : एकै व्यक्तिलाई मासिक ६ लाखसम्मकाे तलब भत्ता
व्यवसायलाई निरन्तरता दिन नसक्ने अवस्था अाएपछि उनले २०६७ सालमा घरमै सल्लाह गरेर एक पटकलाई सहयाेग मागे। बुवाकाे सम्पत्ती धिताेमा राखेर ऋण खाेजेका थिए उनले। उनले बैंकबाट दुई कराेड रुपैयाँ ऋण लिएर मानव संशाधनकाे क्षेत्रमा लगानी गरे। त्यपछि सुरु भयाे दिन दुई गुणा, दिन चार गुणा शैलीमा प्रतिफल अाउन।

उनले सुरु गरेकाे मेराेजब डटकमलाई माध्यमबाट बनाएर अहिले एक लाख २५ हजार जना रोजगारीमा लागेको उनको दाबी छ। अहिले आफ्ना चारवटा कम्पनीमा १३५ जनालाई रोजगारी दिएका छन्।

अधिकतम काम गर्ने व्यक्तिले मासिक छ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको गिरीले बताए।


मानव संशाधन (एचआर कन्सल्टेन्सी)को काम गर्ने सोलुसन प्रालि, मेरोजब डटकम, रोजगारी पसल र आइटी उद्योग आइलोजिक गरी चारवटा कम्पनीमा उनले एकल लगानी गरेका छन्।
उनको अफिसमा काम गर्ने श्रमिक भने दिन गन्ती छैनन्, घण्टाको गन्तीमा तलब लिन्छन्। अधिकतम काम गर्ने व्यक्तिले मासिक छ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको गिरीले बताए। औसत मासिक ४० लाख रुपैयाँ उनले आफ्ना कम्पनीमा काम गर्ने कर्मचारीको तलबमा खर्च गर्ने गरेका छन्।

तीन वर्षमा वार्षिक तीन लाखलाई रोजगारीको सपना

उनी रोजगारी भनेपछि पढेको वा नपढेको नागरिकले आफूलाई सम्झने गरोस्। आफ्नो र आफ्नो कम्पनीको नाम जपोस् वा लियोस् भन्ने चाहन्छन्। सुरु गरेको नौ वर्षमा एक लाख २५ हजारलाई रोजगारी दिने माध्‍ययम बनेको मेरोजब डटकम अबको तीन वर्षमा प्रत्येक वर्ष एक लाखलाई रोजगारी दिने माध्यम बन्ने उनको दाबी छ।

साथै नपढेकालाई जागिर दिनका लागि उनले देशका पाँच स्थानमा रोजगार पसल राखेका छन्। अहिलेसम्म २० हजार जनाले त्यो पसलका माध्यमबाट जागिर पाएका छन्।

अहिले उनले २५ हजार रोजगारदातालाई दक्ष श्रमिक आपूर्ति गर्दै आएका छन्।

'पढेका नागरिकले त मेरोजब प्रयोग गरिहाल्छन्, नपढेकाले रोजगार पसल', गिरीले भने, 'मेरो कम्पनी श्रम मन्त्रालय प्राइभेट लिमिटेडको रूपमा चिनाउने मेरो सपना छ।' अहिले उनले २५ हजार रोजगारदातालाई दक्ष श्रमिक आपूर्ति गर्दै आएका छन्।

वार्षिक, मासिक आम्दानी तथा कारोबार भन्न हिच्किचाएका गिरीले अहिले करोडमा नभई करोडौँमा वार्षिक कारोबार हुने बताए। आफ्ना कम्पनीहरूलाई पाँच वर्षमा १० गुणा वृद्धि गरी अर्बौं रुपैयाँको कारोबार गर्ने कम्पनीका रूपमा चिनाउने उनको योजना छ।

अबको दुई वर्षभित्र घरमै बसेर रोजगारी गर्ने किसिमका काम आफ्नै कम्पनीबाट सिर्जना गर्ने योजना रहेको गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.