|

रौतहट : विकासको रकम अनियमिता गरेको भन्दै कटहरिया नगरपालिकाको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नुरजहाँ खातुनलाई निलम्बन गर्ने प्रस्ताव पास गरेको छ। नगरपालिकामा बुधबार बसेको कार्यपालिकाको बैठकले कटहरिया नगरपालिकाको निमित्त नगर प्रमुख खातुनले आर्थिक अनियमितता गरेको र अनुचित कार्यशैलीले नगरपालिकालाई बदनाम गराएको आरोपसहित दुईतिहाई कार्यपालिका सदस्यले निर्णय पुस्तिकामा हस्ताक्षर गरेर निलम्बन तथा छानबिनको माग गरेको वडा नम्बर ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताए।

आव २०७४/०७५ को बजेट खर्चमा आर्थिक अनियमितता गरी लाखौँ भ्रष्टाचार गरेको निरन्तर अनुचित कार्य गरी नगरपालिकालाई अस्त ब्यस्त एवं बदनाम गरेकाले खातुनलाई पदबाट निलम्बित गरी छानबिनको माग गर्नेसमेत निर्णय गरेको कार्यपालिका सदस्य तथा वर्डा अध्यक्ष कुशवाहले बताए। निर्णयलगतै कटहरिया नगरपालिकामा आव २०७४/०७५को आयब्याय छानबिनको लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट र अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयमा निमित प्रशासकीय अधिकृत रामलाल सहनीले पत्रसमेत लेखेका छन्। आर्थिक वर्ष २०७४/०७५को विकास बजेटमा विभिन्न ११ वटा शीर्षकमा उपप्रमुख खातुन र केही कर्मचारी मिलेर करोडौँ अनियमितता गरेको अध्यक्ष कुश्वाहाले दाबी गर्दै आएका छन्।

यता उपप्रमुख खातुनले भने गुण्डाशैलीमा यस्तो गलत निर्णय गरेको प्रतिक्रिया दिएकी छन्। नगरसभाको लागि बसेको कार्यपालिका बैठकमा सदस्यहरू नपुगेको कारण आफू बाहिर निस्केपछि यस्तो निर्णय गरेको उपप्रमुख खातुनको भनाइ रहेको छ। यता सो नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीले आफूलाई पत्रमा जबरजस्ती हस्ताक्षर गराएको बताएका छन्। २० जनाको कार्यपालिका रहेको कटहरिया नगरपालिकामा १८ जना मात्र सदस्य छन्। जसमध्ये १४ जनाले नगर उपप्रमुख खातुनको विरुद्ध निर्णय गरेका छन्। नगर प्रमुख सियाराम कुशवाह र वर्डा नं. ९ का वर्डा अध्यक्ष अहिले जेलमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.