स्थान सार्ने र बजेट कार्यकर्तामुखी भएको आरोप

|

भद्रपुर : दक्षिणी झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिबीच हातपात भएको छ। कचनकवल-६ स्थित बनियानीमा गाउँपालिकाले शनिबार आयोजना गरेको दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरूबीच हातपात भएको हो।

जनप्रतिनिधिबीच भएको घम्साघम्सीमा परी कचनकवल -७ महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएका छिन्। उनको टाउँकोमा चोट लागेकोले उपचारका लागि बिर्तामोड लगिएको जनाइएको छ। गाउँपालिका अध्यक्ष अञ्जार आलमले बहुमतको आधारमा एकलौटी रुपमा गाउँसभा गर्न लागेपछि असन्तुष्ट पक्षका जनप्रतिनिधिसहित नेपाल कम्प्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताहरू विरोधमा उत्रिएका थिए। 

विरोधका बाबजुद गाउँपालिका अध्यक्ष आलमले गाउँ सभा उद्घाटन गर्न खोजेपछि असन्तुष्ट पक्षका वडा अध्यक्ष र सदस्यले उनको माइक खोस्ने क्रममा दुवै पक्ष बीच हातपात भएकाले कार्यक्रम स्थल तनावग्रस्त बनेको थियो। अध्यक्षले बोलेको माइक उछिटिएर लागेपछि महिला सदस्य इदिङ्गो घाइते भएकी छिन्। सभाहल तनावग्रस्त बनेपछि भीड नियन्त्रण गर्न जनप्रतिनिधिमाथि प्रहरीले बल प्रयोग समेत गरेका थिए।  

‘असन्तुष्ट जनप्रतिनिधिले गाउँसभा बहिस्कार गरेको भन्दै बारम्बार अध्यक्ष आलमलाई आग्रह गरेका थियौं, कचनकवल-६ का वडा अध्यक्ष कुलबहादर कार्कीले भने, 'हाम्रो आग्रहलाई मानेर अध्यक्ष आलमले सभा स्थगन गर्न माइक मागेका थिए' हामीले पनि हुन्छ भन्दै माइक दियाैं। तर उनले सभा उद्घाटन भएको जानकारी गराउन खोजेपछि हामी प्रतिवादमा उत्रिएका थियौं र हातपात भयो।' 

यता बिहानैदेखि सभा परिसर स्थलमा नेपाल कम्प्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताहरू गाउँपालिकाका अध्यक्ष अञ्जारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारी विरोधमा उत्रिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी उनीहरूलाई सभाहल प्रवेशमा रोक लगाएका थिए। 

बनियानी चोकमा भेला भएका उनीहरूले चोकमा टायर बाल्दै विरोध र्‍याली निकालेका थिए। विरोध र्‍यालीका साथ कार्यक्रम स्थल पुगेका प्रदर्शनकारीहरूले गाउँपालिकाको केन्द्र बनियानीलाई सार्न पाइँदैन, तानाशाह एकाधिकार अन्त्य गर, विकास निर्माण कार्य पारदर्शी गर, शिक्षा कार्यविधि खारेज गर, गाउँपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र बन्द गर र पार्टी कार्यकर्ता मुखी बजेट खारेज लगायतको नारा लगाउँदै सभा परिसरस्थल पुगेका थिए।

प्रहरीले सभास्थल बाहिरै प्रदर्शनकारीलाई रोकपछि उनीहरूले त्यही कोणसभाको आयोजना गरेका थिए। कोणसभा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य भूमि राजवंशीले भने, ‘स्थानीय कार्यविधि विपरित र उनका पक्षका जनप्रतिनिधसँग सहकार्य नगरी बनियानी बजारस्थित गाउँपालिकाको कार्यालयलाई यहाँबाट अन्यत्र सार्न खोजेको र असार मसान्तभित्र गर्नुपर्ने गाउँसभा स्थानीय निकाय कार्यविधि ऐन विपरित झण्डै दुई महिनापछि गर्न लागेकोले विरोधमा उत्रिएका हौं।’

त्यस्तै नेकपाका नवराज भट्टराईले विपक्षका १४ जना जनप्रतिनिधिलाई बहिस्कार गर्दै गाउँपालिकाका अध्यक्षले एकलौटी ढंगले बजेटसहितको कार्य योजना ल्याउन लागेकोले हामी त्यसको विरोधमा उत्रिएका छौं। ‘हामी कुनै पनि दलका विरोधी होइनौ’, उनले भने, ‘स्थानीय स्वयत्त शासन ऐनमा टेकेर काम गर्नुपर्ने जनप्रतिनिधिहरू ऐन तथा नियम विपरित कार्य गर्छन् भने त्यसको प्रतिकारमा उत्रिन्छौं।’  

गाउँसभाका प्रमुख अतिथिलाई प्रदर्शनकारीले रोके 

कचनकवल गाउँपालिकाले बिहान १० बजे गाउँ सभा उद्घाटन गर्न कार्यक्रम तय गरेका थिए। बिहान १० बजेदेखि नै सभा परिसर स्थलमा नेपाल कम्प्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताहरूले विरोध प्रदर्शन सुरु गरेका थिए। कार्यक्रम स्थलमा बाहिर प्रदर्शनकारीले विरोध सुरु गरे पनि जनप्रतिनिधिहरू कार्यक्रम हलभित्रै थिए। उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा घेरामा राखेका थिए। गाउँ सभाका प्रमुख अतिथि प्रदेश-१ का सांसद बसन्त बाँनिया रहेका थिए।

गाउँपालिका अध्यक्ष आलम उनलाई कुरेर बसिरहेका थिए। झण्डै तीन घण्टापछि प्रदेश सांसद बाँनिया कार्यक्रम स्थल आइपुगेपछि उनकै निकट प्रदर्शनकारीले उनलाई सभाहल प्रवेशमा रोक लगाए। प्रदर्शनकारीले प्रवेश गर्न नदिएपछि सांसद बाँनिया त्यहाँ केही बेर बसी फर्किएका थिए। 

आइतबार बिहान ८ बजेसम्म सभा स्थगन

गाउँपालिका सभा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसदलाई कार्यक्रम स्थल प्रवेशमा रोक लगाएपछि गाउँपालिका अध्यक्ष अलामले प्रमुख अतिथि बिनै सभा सुरु गर्न खोजेका थिए। अध्यक्ष आलमे सभा सुरु गर्न खोजपछि असन्तुष्ट पक्षका जनप्रतिनिधिहरू सभा हलभित्रै विरोधमा उत्रिए। विरोध भएपछि अध्यक्ष आलमले सभा स्थगन घोषणाका लागि माइक मागेका थिए। मञ्चमा गएर अध्यक्षले सभा स्थगन गर्नु साटो सभा सुरु भएको वाचन गर्न थालेपछि असन्तुष्ट पक्षका जनप्रतिनिधिहरूले मञ्चमै गएर माइक तोडफोड गरेका थिए।

माइक तोडफोडपछि दुवै पक्षका जनप्रतिनिधिबीच हात हालाहाल भएपछि अध्यक्ष आलमले आइतबार बिहान ८ बजेका लागि गाउँ सभा स्थगन भएको घोषणा गरेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.