|

भद्रपुर, (झापा) : कपडा व्यवसायी खेमराज पौडेलको हत्या आर्थिक लेनदेन पछिको व्यक्तिगत रिसइवीका कारण भएको खुलासा भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले बुधबार व्यवसायी पौडेल हत्या आरोपी झापा गौरीगञ्ज गाउँपालिका ६ निवासी २८ वर्षीय सद्दाम हुसेनलाई पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गर्दै प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले यस्तो खुलासा गरेका हुन्। उनका अनुसार झापा कमल गाउँपालिका ६ निवासी ३८ वर्षीय पौडेलको दमक बजारमा कपडा पसल सञ्चालन गर्दै आएका व्यवसायी हुन्।

कपडा कारोबारी पौडेलले हुसेनसँग ९० हजार पाँच सय रुपैयाँ लिनु पर्ने थियो। पौडेलले पटकपटक उधारो रकम हुसेनसँग सार्वजनिक स्थलमै माग्ने गरेको र सार्वजनिक स्थलमा रकम माग्दा हुसेनलाई गाली/बेइजज्ती महसुस हुन थालेपछि सोही आवेगमा आएर उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ढकालले बताए। ‘पौडेललाई भारततर्फ लगेर हत्या गर्ने योजना हुसेनले बनाएका थिए’, उनले भने, ‘तर बाटैमा कुरा नमिलेपछि उनको हत्या गरियो।’ 

यता पक्राउ परेका हुसेनलाई अपहरण गरी कर्तव्य ज्यान मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए।

कसरी भयो हत्या?

सोमबार बेलुका ७ बजे व्यवसायी पौडेल आफ्नो श्रीमती दीपा भट्टराईलाई लिई आफ्नो मे ७ प १९०४ नम्बरको मोटराइकल चढेर गौरीगञ्ज गएका थिए। हुसेनले उधारो रकम लिन आउनु भनेपछि उनीहरू त्यहाँ पुगेका हुन्।

दमकबाट गौरीगञ्जतर्फ जाँर्दै गरेको अवस्थामा हुसेनले आफ्नो मोइबाल नम्बर ९८१६९४४७८६ बाट पटकपटक पौडेलको मोबाइल नम्बर ९८४२६५२९९७ मा कल गर्दै कहाँ आइ पुग्नु भयो भनेर सोध्दै आएका थिए। हुसेनले हत्या गर्ने योजना बनाइसकेकोले उनले पौडेलको प्रतीक्षा गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक ढकालले बताए।

उनका अनुसार गौरीगञ्ज पुगेपछि पौडेलसँग उनको श्रीमती दीपालाई देखेपछि हुसेन भाउजू तपाईं पूजा मिठाइँ पसलमा बस्दै गर्नुहोस? दाईलाई लिएर गएर पैसा लिएर आउँछु भन्दै पौडेलले चलाएको मोटरसाइकलको पछाडि बसेर हुसेन दक्षिणी बाटोतर्फ लागे। राति ९ बजेसम्म श्रीमान् नआएपछि श्रीमती दीपाले इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेललाई भेटेर सबै घटना विवरण सुनाएका थिइन्।

प्रहरीले घटना विवरण सुनेपछि तत्काल उनको खोजी कार्य तीव्र बनाए। तर, रातभर प्रहरीले उनलाई फेला पार्न सकेन। भोली पल्ट मंगलबार बिहान गौरीगञ्ज ६ देवीगञ्ज स्थित नेपाल–भारतको सीमा नजिकै धान खेतको पैनीमा उनको शव डुबेको अवस्थामा फेला परियो।

पैनीबाट शव निकालेपछि उनको घाँटी, छाती, पाखुरा र शरिरको विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले आशंका गरेको थियो। साथै उनको लुगासमेत च्यातिएको थियो। हत्या भएको स्थानमा प्रहरीले मे ७ प १९०४ नम्बरको मोटरसाइकल, हेलमेट, मोबाइल फोन, कालो व्याग विभिन्न स्थानमा छरपष्ट अवस्थामा फेला पारे।

कसरी पक्राउ परे हुसेन?

व्यवसायी पौडेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको र उनको श्रीमतीले दिएको बयानको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी टोलीले सद्दाम हुसेनलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो। घरमा नुहाएर बसिरहेका अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ढकालले बताए।

नियन्त्रणपश्चात् व्यवसायी पौडेलको हत्याको बारेमा हुसेनसँग सोधपुछ गर्दा उनले सुरुमा हत्या नगरेको बयान दिए। पछि पौडेलसँग त्यो दिन भेट नभएको झुटो बयान जुधेपछि उनले आफूले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्वीकारे। लेनदेनको विषयमा गाली बेइज्जती गरेको आवेगमा आएर हत्या गरिएको उनले प्रहरीले बयान दिएको प्रहरी उपरीक्षक ढकालले बताए।

यता हत्या आरोपी हुसेन यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल जीवन बिताइसकेका तथ्य पनि खुलेको छ। उनले पौडेललाई हत्या गरेको दिनपनि लागुऔषध सेवन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.