'कस्तुरीले विनाको बास्ना थाहा नपाएझैँ सरकारले आफैँभित्रका अपराधी देखेन'

|

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमा नै गृहमन्त्री रामबहादुर थापा बादलले ५१ दिनअघि बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको विषयमा भइरहेको अनुसन्धानबारे जानकारी दिने कार्यक्रम बिहीबार नै तय गरिएको थियो।

बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला बलात्कार र हत्याको अनुसन्धानबारे पछिल्लो समय भइरहेका उथलपुथलबारे संसदलाई जानकारी दिनुपर्ने नभए संसद अवरुद्ध गर्ने जानकारी गराएका थिए। उनको अभिव्यक्तिपछि कांग्रेस सांसदहरूले सिटबाट उभिएर संसद अवरुद्ध गरेका थिए। सभामुख कृष्णबहादुर महराले पटक पटक गरेको बस्ने आग्रह नमानेपछि संसद १० मिनेटका लागि रोकेर शुक्रबार (आज)को बैठकमा गृहमन्त्रीले जवाफ दिने प्रतिवद्धता कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जनाए। फलस्वरूप आज गृहमन्त्रीले उक्त विषयको अनुसन्धानका बारेमा भएका गतिविधिबारे जानकारी दिएका थिए।

पढ्नुहोस्, गृहमन्त्रीले दिएको जानकारी:

गृहमन्त्रीले संसदलाई निर्मला बलात्कार र हत्याकाणडबारे भइरहेका अनुसन्धानका प्रतगिबारे र अन्य घटनाबारे जानकारी दिएका थिए। उनको भनाइलाई लिएर सांसदहरू सन्तुष्ट भने देखिएनन्। त्यसपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस, प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल र सत्तारुढ दलका केही सांसदहरूले सभामुख महराको अनुमतिमा गृहमन्त्रीलाई प्रश्न सोधेका थिए। झन्डै दुई दर्जन सांसदहरूले अनुसन्धान सही दिशामा नगएको भन्ने जिज्ञासा राखेका थिए। अधिकांश प्रश्नहरू निर्मलाको हत्यामा प्रहरीको उच्च तहका व्यक्तिको संलग्नता भएको र अनुसन्धानका नाममा प्रमाण मेटाउन प्रहरीले भूमिका खेलेको, जहाँबाट निर्मला हराएकी थिइन्, ती बम दिदीबहिनीमाथि गहन अनुसन्धान तथा सोधपुछ नभएको भन्नेबारे थिए।

कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले सुरुमा नै प्रधानमन्त्रीले निर्मला हत्यामा संलग्नहरूको मनोबल बढाउनेगरी दिएको अभिव्यक्तिमा केन्द्रित थियो। उनले भने, 'अनिता बम र रोशनी बमलाई सोधपुछका लागि नियन्त्रणमा लिइयो, अनुसन्धानको क्रममा रहेको उक्त विषयमा जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छानविनलाई प्रभावित हुनेगरी अभिव्यक्ति राख्नुभयो। गृहमन्त्रीले प्रधानमन्त्रीलाई भेटेर यस्तो किन गर्नुभयो भनेर प्रश्न गर्नुभयो कि भएन?'

सांसद अमरेशकुमार सिंहले उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले शक्तिशाली अपराधीले आफूलाई ज्यान मार्ने धम्की दिएको सार्वजनिक अभिव्यक्ति दिएर राजीनामा दिएको प्रसंग उठाएका थिए। उनले प्रश्न गरे, 'राज्यभन्दा शक्तिशाली व्यक्ति को हो? राज्य ऊभन्दा शक्तिशाली हो भने कारवाही हुनुपर्‍यो, होइन भने राज्य नै उसको जिम्मा लगाइदिनुपर्‍यो।'

सांसद सञ्जयकुमार गौतम, चन्दा चौधरीलगायतले पनि सोही विषयमा प्रश्न उठाएका थिए। रंगमती शाहीले गृहमन्त्रीलाई निर्मला प्रकरणमा पीडितले कहिले न्याय पाउँछिन् भनेर प्रश्न गरेकी थिइन्।

सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद विन्दा पाण्डेले प्रदेश २ मा जनप्रतिनिधि नै बलात्कार र महिला हिंसामा दोषीलाई छुटाउन पंचायतमा संलग्न रहेको भन्ने सार्वजनिक भएको र त्यस्ता जनप्रतिनिधिलाई कहिले र कसरी कारवाही हुन्छ भनेर प्रश्न गरेकी थिइन्। उनले जवाफ भन्दा पनि कामबाट देखाउन माग गरेकी थिइन्।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सुरुदेखि नै कंचनपुर प्रहरीको भूमिका शंकास्पद रहेको भए पनि उनीहरूमाथि अनुसन्धान नगरिकामा असन्तुष्टि जनाएका थिए। उनले सरकार निर्मला प्रकरणमा अन्तअन्त रुमल्लिइरहेको तर वास्तविक दोषीमाथि छानविन गर्न चुकेको बताएका थिए। उनले प्रहरीले सुरुदेखि नै निर्दोष मान्छेलाई जबर्जस्ती दोषी बनाउन प्रयत्न गरेको बारे प्रश्न गरेका थिए। उनले भने, 'अनुसन्धान अधिकृतले कसलाई बचाउन त्यसो गरे?'

सांसद पार्वता डिसी चौधरीले गृहमन्त्रीको जवाफ गोलमटोल भएको भन्दै सन्तुष्ट हुने आधार नरहेको बताइन्। उनले निर्मलाको घटनाको अनुसन्धान बम दिदीबहिनीको घरबाट हुनुपर्ने माग गरिन्। उनले अहिले आएर एसपी विष्ट, उनका छोरा र उक्त नगरका प्रमुखका भतिजाको डिएनए अहिले आएर टेस्ट गर्नु नाटक भएको बताइन्। उनले यो घटनामा सरकार निरीह देखिएको भन्दै आक्रोश पनि व्यक्त गरिन्।

कांग्रेसकै सांसद बालकृष्ण खाँडले निर्मला घटनामा दोषीहरूलाई उन्मुक्ति दिने र घटना ढाकछोप गर्ने कार्य गरेको देखिएको बताए। उनले छानविन समितिका सदस्य वीरेन्द्र केसीले भनेको ठूलो व्यक्ति को हो भनेर प्रश्न गरेका थिए। सांसद सुजाता परियारले वास्तविक अपराधी पत्ता लागिसक्दा पनि कानुनको कठघरामा ल्याउन नसक्नु सरकारको लापरवाही र असफलता भएको आरोप लगाइन्।

सांसद दिलेन्द्रप्रसाद बडूले निर्मलाको हत्यामा संलग्न छानविन समितिका सदस्य वीरेन्द्र केसीले छानविनको स्थिति हेर्दा पीडितले न्याय पाउने देख्दिन र शक्तिशाली व्यक्तिबाट ज्यानको धम्की आयो भन्ने कुराले छानविन नयाँ चरणमा पुगेको बताए। उनले छानविन अब धम्की दिने र छानविनलाई प्रभावित पार्ने व्यक्तिमाथि हुनुपर्ने बताए। सांसद सीतादेवी यादवले गृहमन्त्रीको जवाफ सन्तोषजनक नभएको र अपराधीलाई लुकाउन अनेक षड्यन्त्र भइरहेको धारणा राखिन्। उनले तराईका जिल्लामा आठ महिने बालिका र ७० वर्षीया वृद्धामाथि बलात्कार तथा हत्या भएको र त्यसबारे सरकार मौन रहेको भन्दै सरकारको ध्यानाकार्षण गराइन्।

सांसद मीना सुब्बाले सरकार र प्रहरीले आफूभित्रै रहेको अपराधीलाई कस्तुरीले आफ्नै नाभीमा रहेको विनाको सुगन्ध नचिनेझैँ गरेको बताइन्। उनले प्रहरी र राज्य संयन्त्रभित्र नै निर्मलाका हत्यारा हुँदा पनि सरकारले भेट्न नसकेको आरोप लगाइन्। उनले एसपी डिल्लीराज विष्टको भूमिका र उनीमाथि जनताको आशंकालाई ख्यालै नगरी अगाडि बढेको भन्दै आपत्ति जनाइन्। सांसद राजकिशोर यादवले जनतालाई दोषी थाहा भए पनि गृह मन्त्रालय कसरी बचाउन सकिन्छ भन्ने ध्येयमा लागेको आरोप लगाए। उनले यस्तो अवस्थामा साधारण जनताले कहाँ गएर न्याय माग्ने? भनेर प्रश्न गरेका थिए।

राजपाका सांसद लक्ष्मणलाल कर्णले बर्दियामा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाउने राममनोहर यादवको मृत्यु के रोग लागेर भएको हो? भनेर प्रश्न गरेका थिए। उनले हिरासतमा के रोग लागेको रहेछ? भनेर प्रश्न गरेका थिए। उक्त विषयमा संसदीय छानविन समिति गठन गर्न उनको माग थियो।

सांसद मीनबहादुर विश्वकर्माले रात रह्यो अग्राख पलायो भन्ने उखान निर्मला पन्तको बलात्कार र हत्यामा चरितार्थ भएको बताए। उनले प्रहरी र नेताहरू सुरुदेखि नै नक्कली अभियुक्त बनाउने र प्रमाण नष्ट गर्ने काममा लागेको आरोप लगाएका थिए। सांसद प्रेम सुवालले राती ९ बजे छोरी हराएको खबर गर्न पुगेकी निर्मलाकी आमालाई भोलि आउनु भन्ने प्रहरीमाथि छानविन भयो कि भएन? बम दिदीबहिनीबाट छानविन सुरु भयो कि भएन? भनेर प्रश्न गरेका थिए। उनले बलात्कारपछि हत्या गर्नेमाथि फाँसीको सजायका लागि संविधान संशोधन हुन्छ कि हुँदैन? भनेर पनि प्रश्न गरेका थिए।

सांसद महेन्द्रा लिम्बूले गृहमन्त्रीले किन नाटक गरेको हो? भनेर प्रश्न गरेकी थिइन्। उनले एसपी, उनको छोरा र नगर प्रमुखको भतिजा घटनामा संलग्न रहेको भन्ने जनताका कुरालाई किन नबुझेको? भनेर प्रश्न गरेकी थिइन्। उनले सरकारले आफ्नै कार्यकर्ता संलग्न भएको भनेर बहुमतको सरकारले भनोस् र यो मुद्दालाई पनि सुन काण्डका ठूला माछा समात्ने भनेजस्तै गुपचुप राख्ने त होइन? भन्ने चिन्ता जाहेर गरिन्।

सांसद प्रमिला राईले सांसदहरूले सदनमा उठाएका अहिलेसम्मका कुनै पनि विषयमा ठोस जवाफ नदिएको बताइन्। उनले निर्मला र सनी खुनाका परिवारलाई क्षतिपूर्ति १०-१० लाख रुपैयाँ दिएर मात्रै नहुने र सरकार जिम्मेवार भएर पीडितलाई न्याय दिनुपर्ने बताइन्। उनले सांसद निरु पालको घटना र ३३ किलो सुनको घटना के भयो? भनेर प्रश्न गरेकी थिइन्।

न्याय ढिलो हुनु न्याय नपाएजस्तै भएको भन्ने धारणा थियो सांसद उमाकान्त चौधरीको। उनले छानविन समितिमा रहेका व्यक्तिलाई धम्की दिनेको नाम गृहमन्त्रीले सार्वजनिक गर्नुपर्ने माग गरे। उनले राममनोहरको मृत्युबारे छानविन समिति नबनाउनु र यसमा सरकारको जवाफ ढिलो दिनुको कारण पनि माग गरे।

जनमोर्चाकी सांसद दुर्गा पौडेलले निर्मला पन्तको छानविनमा बम दिदीबहिनीले भनेका कुरामा आधारित भएर गर्नुपर्ने बताइन्। उनले निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र निर्दोषलाई यातना दिएकामा राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरिन्।

गृहमन्त्रीको संक्षिप्त जवाफ

झन्डै दुई दर्जन सांसदहरूका प्रश्न सुनेका गृहमन्त्री रामबहादुर थापा बादलले ती प्रश्नले गृह मन्त्रालयलाई थप जिम्मेवार र गम्भीर बनाएको प्रतिक्रिया दिए। उनले सांसदहरूका चासो र चिन्ताले सहयोग गरेको बताए। उनले सांसद गगनकुमार थापाको प्रश्न गम्भीर भएको बताए। उनले भने, 'प्रधानमन्त्रीले हत्याको ढाकछोप गर्नेबारे गम्भीर कुरा उठाउनुभएको छ। यसको जवाफ दिइसकिएको छ। हत्या प्रकरणलाई परिणामसम्म पुर्‍याउन प्रधानमन्त्रीबाट निर्देशन आएको छ।'

राज्यभन्दा पनि शक्तिशाली व्यक्ति को हो भनेर अमरेशकुमारले सोधेको प्रश्नको जवाफ छानविन समितिका सदस्य वीरेन्द्र केसीले दिनुपर्ने जवाफ थियो गृहमन्त्री थापाको। उनले केसीले आफूलाई दिएको प्रष्टीकरणलाई सदनमा राखेका थिए।

छानविनको परिणाम कहिले आउला भनेर मिति तथा समय तोक्ने विषय अवस्था नरहेको गृहमन्त्रीको भनाइ थियो। उनले यसको परिणाम छिटो आओस् भन्नका लागि उच्चस्तरीय छानबिन टोली बनाइएको बताए। सिआइबीको टोली तत्काल गठन गरिएको र त्यसले छिटो काम गर्न नसक्दा ढिलो भएको गृहमन्त्रीको भनाइ थियो। उनले निर्मला बलात्कार र हत्या प्रकरण छिटो टुंगियोस् भन्ने सरकारको चाहना रहेको बताए।

राममनोहर यादवको मृत्युबारे आफूसँग भएका तथ्य संसदमा राखेको र संसदले समिति बनाएर छानविन गर्न चाहेको खण्डमा त्यो सदनको काम भएको उनको भनाइ थियो।

उनले वर्तमान सरकारले सुरक्षा व्यवस्था राम्रो बनाएको बताए। चन्दा आतंकमा नियन्त्रण गरेको, बम विस्फोटका घटनामा पूर्णतः निस्तेज पारेको बताए। उनले सुरक्षाको सन्दर्भमा सरकार दृढताका साथ अगाडि बढ्ने बताए।

उनले निर्मला प्रकरणमा एसपी, उनको छोरा र नगर प्रमुखका भतिज तथा बम दिदीबहिनीको नाम लिन नसकिने बताए। अनुसन्धानको विषय रहेकाले आफू बोल्न नमिल्ने उनको भनाइ थियो। यस विषयमा छानविन समितिलाई सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिइएको उनको जवाफ थियो। उनले यसरी नाम नै बाहिर आएका विषयमा सरकार गम्भीर बनेको बताए। त्यसैगरी छानविन तीव्र रूपमा चलिहरेको उनले जानकारी दिए।

महिला सांसदहरूले गृहमन्त्रीको जवाफले चित्त नबुझेको भनाइमा उनले यो विषयमा आफ्नो पनि चित्त नबुझेको बताए। उनले भने, 'मेरो र सरकारको पनि चित्त बुझेको छैन। जबसम्म दोषी कानुनको कठघरामा उभिँदैनन्, तबसम्म कसैको पनि चित्त बुझ्दैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.