|

काठमाडौं : राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित सम्पदालाई माैलिक स्वरूपमा पुनर्निर्माण गर्ने निर्णय गरेकाे छ।

शुक्रबार बसेको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारमा परेका बस्तीको पुनर्निर्माण गर्दा मौलिक स्वरुपलाई यथावत कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको हाे। 

ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतमा पूर्वाधारको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय पनि गरेको छ। त्यस्ता बस्तीहरूमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीलाई मौलिक-पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी, कार्यकारी समितिले दुई वा दुईभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजहरूलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने समेत निर्णय गरेको छ। 

साथै काठमाडौं उपत्यकाभित्रका बस्तीहरूमा लाभग्राही सूचीमा परेका घरहरूको पुनर्निर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि प्राधिकरण कार्यकारी समितिले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.