|

डोटी : जिल्लाको दिपायल-सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा झुण्ड्याएको छ। बाल दिवसको अवसर पारेर जिल्ला सदरमुकाममा बालश्रम बढ्दै गएपछि नगरपालिकाले यस्तो अभियान सुरु गरेको हो। 

नगर प्रमुख मञ्जु मलासीले दिपायल-सिलगढी नगरपालिका-६ सिलगढीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडेर अभियानको औपचारिक सुरुवात गरेकी हुन्। अभियानको सुरुवात गर्दै प्रमुख मलासीले भनिन्,‘हामी जसकाे घरमा बालश्रमिक छन्। त्यो घरमा यो झण्डा गाड्दैनौं। जहाँ छैनन् त्यहाँ हरियो झण्डा गाड्दछौं, यसकाे अर्थ यहाँ बालश्रम छैन र यहाँ छ भन्ने संकेत हो।’ अभियानबारे बोल्दै प्रमुखले भनिन्, ‘सामाजिक र नैतिक दबाब सिर्जना गरेर जति सक्दो बालबालिका घर फर्काउने र फर्कने वातावरण सिर्जना गर्ने छौं। अन्य सबै घरमा हरियो झण्डा हुँदा राख्नेमाथि नैतिक दबाब पर्छ।’

बालश्रम घेरै रहेको नगरपालिकाका ४, ६ र ९ का  बालश्रम नभएका सबै घरलाई हरियो झण्डा राख्ने नगर उप-प्रमुख शिबराज खड्काले बताए। बाल मजदुर राख्ने व्यक्तिको सेवा सुविधा बन्द गर्नका साथै सार्बजनिक नाम प्रकाशन गर्ने खड्काले बताए। खड्काले भने,‘पहिला हामी सम्बन्धित पक्षसँग अन्तरक्रिया गर्छौं। त्यसपछि आफ्नै घरमा फिर्ता गर्ने  प्रयास गर्छौं। यदि त्यत्ति गर्दा पनि मानेनन् भने पत्र पत्रिकामा विवरण सार्वजनिक गर्छौं।’  

डोटीको दिपायल सिलगढी नगरपालिकाले बालश्रम र बाल बिवाहबिरुद्धको अभियान सुरुवात गरेको हो। वडा अध्यक्षका नेतृत्वमा हरियो झण्डा गाड्ने अभियान निरन्तर संचालन हुने नगरपालिका-६ का अध्यक्ष सन्तोस बोहराले बताए। 

श्रमिक राख्नेको सेवा सुविधा रोकिने 

दिपायल सिलगढी नगरपालिकाभित्र बालश्रमिक राख्ने व्यक्तिलाई नगरपालिकाबाट हुने कुनै पनि सुविधा प्रदान नगर्ने प्रमुख मलासीले बताइन्। प्रमुख मलासीले भनिन्,‘हामीले यो अभियान संचालन गर्दा अटेरी गर्ने व्यक्तिलाई यहाँबाट हुने कुनै पनि सेवा सुविधा प्रदान गरिन्न।’ प्रमुखले भनिन्,‘आमा बुवा दुबै भएका व्यक्तिका छोराछोरी पनि श्रमिक छन्। त्यसरी काममा लगाउने आमाबुवालाई पनि कारबाही हुन्छ।’

आर्थिक अवस्था विपन्न बालश्रमिकका लागी अध्ययन अध्यापनको व्यवस्था गर्ने प्रमुख मसालीले बताइन्। उनले,‘हामीले यो अभियान साँच्चिकै सोचेर सुरुवात गरेका छौं। बालश्रममुक्त नगर चाँडै घोषणा गर्छाैं। हामी बालश्रम हुन दिन्नौैं। आर्थिक अवस्थाबाट सक्दै नसकिने हो भने विकल्पका विषयमा नगरपालिका तयार रहन्छ।’

बालश्रमलाई मुख्य विषय बनाएको नगरपालिकाले बाल विवाहलाई पनि अभियानकै रुपमा लगेको छ। नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले भने, ‘हाम्रो यहाँ बाल बिवाहको अवस्था चिन्ताजनक छ। त्यसैले बालश्रम र बाल बिवाहबिरुद्ध सँगै अभियान सुरु गरेका छौं।’

तीन वडामा ४३ बालश्रमिक 

दिपायल-सिलगढी तीन वडामा ४३ जना बालश्रमिक रहेका छन्। नगरपालिकाका-४, ६ र ९ वडामा गरिएको एक अध्ययनमा उक्त तथ्यांङ देखिएको हो। वडा ४ मा ११, ६ मा २० र ९ मा १२ जना बालश्रमिक रहेको दिपायल-सिलगढी नगरपालिका कार्यालयले जानकारी दिएको छ।

नगरपालिकाको सदरमुकामका बालबालिका भारतमा पनि बालश्रमिककf रुपमा काम गर्नेको तथ्यांक पनि ठूलै रहेको सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.