जिल्लाभरका स्वास्थ्य संस्थालाई 'अलर्ट' रहन निर्देशन

|
फाइल फोटो

सुनसरी : छिमेकी जिल्ला सप्तरीमा स्वाइनफ्लु र हङकङफ्लुको प्रकोप फैलिएपछि जिल्लाभरका स्वास्थ्य संस्थालाई 'अलर्ट' रहन निर्देशन दिइएको छ। पछिल्लो तीन हप्तादेखि कञ्चनरूप नगरपालिका क्षेत्रमा फैलिएको स्वाइनफ्लु र हङकङफ्लुका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेपछि सुनसरीमा उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

फ्लु देखापरेको क्षेत्रलाई विपतग्रस्त क्षेत्र घोषणा गरिएसँगै सुनसरीसमेत जोखिममा पर्न सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले मातहतका सबै स्वास्थ्य संस्थामा सतर्कता अनपाउन निर्देशन दिएको हो। भीडभाड, आवतजावत र रुखाखोकीसँगै ज्वरो जस्ता संक्रमणको अवस्थामा रोग फैलिन सक्ने भएकाले सीमावर्ती सुनसरीमा सावधानी अपनाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

मातहतका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई आइपर्न सक्ने विपद्लाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको इनरुवा अस्पतालकी सुपरिन्‍टेन्डेन्ट डाक्टर बिना शाक्यले जानकारी दिइन्। जिल्लामा अहिलेसम्म कतै पनि कुनै किसिमको संक्रमित बिरामी नभेटिए पनि छिमेकी जिल्लाको प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले पूर्वसावधानी अपनाइएको शाक्यको भनाइ छ।

सतर्कता अपनाउन सुझाव

विपद् ग्रस्त घोषित कञ्चनरूप र हनुमाननगर कंकालिन नगरपालिका हुँदै पूर्वतर्फ आवतजावत गर्नेहरू कोही कसैमा संक्रमण भएको खण्डमा रोग सर्न सक्ने भएकाले स्वास्थ्यको बारेमा स्वयं ख्याल राख्न स्वास्थ्यकर्मीहरुले सुझाव समेत दिएका छन् । सप्तरीतर्फबाट इटहरी र विराटनगरजस्ता पूर्वी बजारमा आवतजावत गर्ने व्यापारीलगायत सर्वसाधारणको बढी चाप हुने हुँदा सप्तरीको विपद्ले सुनसरीलाई प्रभावमा पार्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

रुखाखोकी, ज्वरो आए वा शरिरमा आलश्यता उत्पन्न भए वा असहजता महसुस भएको अवस्थामा नजिकैको स्वास्थ्य संस्थामा स्वास्थ्य चेकजाँच गराउन सर्वसाधारणका नाममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अपिलसमेत गरेको छ। स्वास्थ्यकर्मीहरुले ताजा खानेकुरा मात्रै खान, यात्रा वा भिडभाडमा हिंडडुल गर्दा मास्क लगाउन र सरसफाइमा ध्यान दिन आम सर्वसाधारणमा आग्रह समेत गरेका छन्।   

चेकजाँचको प्रबन्ध मिलाउने तयारी

सम्भावित जोखिम रहन सक्ने भए पनि हालसम्म कुनै पनि किसिमको समस्या नदेखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। उनले जिल्ला स्वास्थ्य कार्यालयले मातहतका स्वास्थ्य संस्थाहरूमा सर्तकर्ता अपनाउन निर्देशन दिइसकेको जानकारी दिए। प्रजिअ उप्रेतीले छिमेकी जिल्लाको प्रभाव पर्न सक्नेतर्फ सुनसरी प्रशासन गम्भिर रहेको बताए।

सप्तरीसँग सीमा जोडिएका स्थानबाट सुनसरी भित्रने शंकास्पद बिरामीको हकमा स्वास्थ्य चेकजाँच सहितको प्रबन्ध मिलाउने तयारीमा जुटेको उप्रेतीले जानकारी दिए। प्रभावित क्षेत्र र जिल्लामा पर्न सक्ने प्रभावको विषयमा आवश्यक छलफलपश्चात् थप योजना बनाएर अघि बढ्ने उप्रेतीको भनाई छ।

ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

पछिल्लो तीन हप्तादेखि कञ्चनरूप नगरपालिका क्षेत्रमा फैलिएको स्वाइनफ्लु र हङकङफ्लुका कारण चार बालकसहित पाँचजनाको ज्यान गएको छ भने १७ सयभन्दा बढी बिरामी छन्। पछिल्लो समय सप्तरी महदेवा १ का ८ वर्षीय महफूल आलम र कञ्चनपुर ४ की ६० वर्षीया भाल्सरदेवी सरदारको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या पाँच पुगेको हो।

यसअघि कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं. ३ का १४ वर्षीय किशोर राम र वडा नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो।

भारतको झारखण्डस्थित देवघर जिल्लामा रहेको प्रसिद्ध बाबाधामबाट तीर्थयात्रा गरेर फर्केकाहरूबाट फ्लू सरेर आएको विज्ञहरूले बताएका छन्। ज्वरो आउने, खोकी लागेर सुरुमा तीन बालबालिकाको ज्यान गएको र पछि एक वृद्ध महिलाको समेत सोही रोगले ज्यान गएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले जानएको छ। बिरामीमध्ये १० जनार्को र्‍याल परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो। परिक्षणका क्रममा केही नमुनामा स्वाइन फ्लूको जीवाणु फेला परेपछि कञ्चनरुप नगरपालिका क्षेत्रका उच्च सर्तकता अपनाउँदै विपतक्षेत्र घोषणा गरिएको हो।

नगर कार्यपालिकाले आगामी मंगलबारसम्मका लागि नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालय बन्द गर्नसमेत निर्देशन दिएको छ। विद्यालयमा एकै स्थानमा बढी विद्यार्थीहरू जम्मा हुने भएको र त्यहाँ फ्लू सर्न सक्ने सम्भावना रहेकाले मंगलबारसम्मका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको कञ्चनरुप नगरपालिका नगरप्रमुख वसन्त मिश्रले जानकारी दिए। अहिले हरेक वडामा डोर टु डोरस्वास्थ्यकर्मी परिचालन गरी उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.