|

एएफसी यु-१६ महिला च्याम्पियन्ससीपअन्तर्गत नेपालले बुधबारबाट छनोट यात्रा सुरु गर्दै छ। पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ। छनोटको समूह 'ई'मा रहेको नेपालले फिलिपिन्सविरुद्धको खेलमा हल्चोकस्थित एपिएफ क्लबको मैदानमा प्रतिस्पर्धा गर्नेछ।

घरेलु मैदानमा हुने छनोटमा फिलिपिन्सविरुद्ध प्रतिस्पर्धाका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक र खेलाडीले जानकारी दिएका छन्। फिलिपिन्ससँगको खेलअघि नेपाली टोलीका प्रशिक्षक गंगा गुरुङले बलियो फिलिपिन्सलाई कडा टक्कर दिने बताइन्। प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक गुरुङले भनिन्, ‘हाम्रो टिम निकै अनुशासित रहेको छ। हाम्रो टिम वर्क राम्रो छ। घरेलु मैदानमा फिलिपिन्ससँग राम्रो खेल्दै खेल प्रतिस्पर्धात्मक बनाउनेछौँ।’

यु-१६ महिला टोलीले पहिलो पटक फिलिपिन्ससँग खेल्न लागेको हो। नेपालले यस छनोटका लागि विगत दुई महिनाबाट तयारी गरिरहेको थियो। नेपाली टोलीमा भुटानमा सम्पन्न यु-१५ साफ च्याम्पियनसीप खेलेका खेलाडीको बाहुल्य रहेको छ। खेलाडीहरूले एकै टिमबाट नियमित खेलेकै कारण टिम मजबुत रहेको प्रशिक्षक गुरुङले जानकारी दिइन्। उनले नेपालले छनोटकै लागि भनेर दुई महिनाबाट तयारी गरेको भन्दै पहिलो खेलमै सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरिन्। यद्यपि, उनले आर्टिफिसियल टर्फमा अभ्यास भएकाले केही समस्या हुने बताइन्।

नेपाली टोलीका कप्तान प्रीति राईले तयारी राम्रो रहेको कारण खेलाडीले मैदानमा शत प्रतिशत खेल्ने बताइन्। कप्तान राईले भनिन्, 'अहिलेको टिम साफको भन्दा बलियो छ।  हामी मानसिक रूपमा तयार छौँ। मैदानमा शत प्रतिशत खेल्नेछौँ।' त्यस्तै, नेपालले दोस्रो खेलमा म्यानमारसँग शुक्रबार खेल्नेछ। छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ।

एएफसी यु-१६ महिला च्याम्पियनसीपको यात्रा तय गर्नेछन्। फाइनल चरणमा आठ टोलीले खेल्नेछन्। शीर्ष चारमा रहने टिमले छनोट यात्रा तय गर्नेछ। आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणका लागि छनोट भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.