|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी शून्य लागतमा कामदारको छनोट र आपूर्तिको व्यवस्था मिलाउन कतारसँग आग्रह गरेका छन्।

मन्त्रालयमा मंगलबार मन्त्री विष्ट र नेपालका लागि कतारका राजदूत महमद युशुफबीचको भेटमा विष्टले कतारमा कार्यरत नेपाली कामदारलाई २४सै घन्टा बीमाको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए। उनले नेपाली कामदारको विषयमा छलफल गर्न नेपालको तर्फबाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा गरेको मन्त्रालयले जनाएको छ।

भेटका अवसरमा उनीहरूबीच नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारको बीमालगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा र आगामी दिनमा दुई देशबीच उच्चस्तरीय सम्झौता गरीे श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमासमेत उहाँहरुबीच छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री विष्टले कतारमा कुन प्रकारको जनशक्ति आवश्यक छ सोही प्रकारको जनशक्ति विकास गरी पठाउन नेपाल सरकार तयार रहेको दोहोर्‍याएका थिए। उनले कुनै पनि म्यानपावर कम्पनीबाट कामदार ठगीन नपाउने गरी नेपाल र कतारबीच नयाँ ढङ्गाले श्रम सम्झौता गरी कार्य अघि बढाउनुपर्ने बताएका थिए। 

भेटका क्रममा राजदूत युशुफले शून्य लागतमा कामदार आपूर्ति गर्ने विषयमा कतार सरकार सकारात्मक रहेको बताएका थिए। उनले सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको र कतारमा घरेलु कामदारको अत्याधिक माग रहेकाले हाल रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउने नेपाल सरकारलाई आग्रह गरेका थिए। राजदूत युशुफले नेपाली कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढ्ने बताएको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.