|

धनकुटा : पाँच किलोमिटर सडक पार गर्न सवारीसाधनमा तीन घण्टा लाग्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर, यो सत्य हो। कोसी राजमार्गअन्तर्गत धनकुटाको हिलेदेखि पाख्रिबाससम्मको सडकखण्डमा त्यति नै समय लाग्छ।

हिले–पाख्रिबास सडकको दूरी जम्मा पाँच किलोमिटर छ। तर, सडकको दूरावस्थाका कारण सवारी साधानबाट उक्त दूरी पार गर्न डेढ घण्टादेखि तीन घण्टासम्म लाग्ने गरेको छ। बाटोको अवस्था कतिसम्म जोखिमपूर्ण र बिग्रिएको छ भने सवारी साधानमा यात्रा गर्नुभन्दा पैदल हिँड्न छिटो र सुरक्षित हुन्छ।

उक्त सडकखण्ड रोपाइँ गर्न ठिक्क परेको खेतजस्तै भएको छ। यसले यात्रामा कठिनाइ मात्र होइन, जोखिमपूर्ण पनि बनाएको छ। मध्यपहाडी लोकमार्ग पर्ने यो सडकखण्डको चौडाइ बिस्तारको क्रममा वर्षातको समयमा सडक भत्काएपछि यस्तो दूरावस्था आएको हो।

कञ्चनजंघा कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाख्रिबास नगरपालिका–५ पञ्चेदेखि पाख्रिबास बजार हुँदै हिलेसम्मको १३ किलोमिटर सडक तीन वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएको भए पनि सम्झौताअनुसारको काम हुन सकेको छैन। करिब २९ करोड रुपैयाँमा निर्माणको ठेक्का लिएको कञ्चनजंघाले उक्त सडकखण्डका केही स्थानहरुमा कल्भर्ट र नाली मात्र निर्माण गरेको छ।

सम्झौताअनुसार आगामी चैत मसान्तभित्रमा कालोपत्रे गरिसक्नु पर्नेछ। तर काम सुरु भएदेखि अहिलेसम्म भएको कामको अवस्थालाई हेर्ने हो भने समयमै काम सम्पन्न हुने अवस्था छैन। कन्स्ट्रक्सनका कर्मचारी नै सम्झौताअनुसार तोकिएकै मितिका काम सम्पन्न नहुने बताउँछन्। वर्षाको कारण दैनिक काम गर्न समस्या भएपछि कामदारहरु घर हिँडेकाले सडक निर्माणको काम तत्काललाई स्थगित गरिएको कञ्चनजंघा कन्स्ट्रक्सनका सुपरभाइजर तोरण पोख्रेलले बताए। 

यात्रुहरुको समस्यालाई मध्यनजर हिलोका कारण गाडी फसेका स्थानमा गिटी हाल्ने, हिलो पन्छाउने कार्य भने भैरहेको सुपरभाइजर पोख्रेलले बताए। उनले भनेअनुसार सडकमा गाडी गुडाउन सहज नभएको यात्रुहरुको गुनासो छ। सडक निर्माणमा भएको ढिलासुस्तीका कारण पाख्रीवास हुँदै धनकुटा, धरानबाट विभिन्न स्थानमा हिँडेका यात्रुहरुलाई सास्ती हुँदै आएको छ। हिलेबाट पाख्रीबास, लेगुवा हुँदै भोजपुरतर्फ दैनिक साना तथा ठूला सयौं सवारी साधनहरु आवतजावत गर्ने गर्दछन। ती सवारी साधनहरु हिले–पाख्रीवास सडकमा घण्टौं हिलो सडकमा फस्ने गरेका छन। दैनिकजसो पानी पर्ने यस क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको सडक हिलाम्मे भएपछि सवारी साधन हिलोमा फसेकाले पाख्रीवासबाट हिलेसम्म जान पनि तीन घण्टा लाग्ने गरेको पाख्रीवासका स्थानीय सरोज भण्डारीले बताए।

हिलाम्मे सडकका कारण यात्रुहरुलाई सास्ती भएको स्वीकार गर्दै वर्षात रोकिएपछि तत्काल काम सुरु हुने कञ्चनजंघा कन्स्ट्रक्सनका साइड इञ्जिनियर ओमप्रकाश शाहले बताए। सवारी फसेपछि यात्रुलाई त सास्ती भएको छ नै त्यही बाटो हुँदै दैनिक कार्यालय आउने जाने कर्मचारीहरुलाई त झन् पीडा थपिएको बताउँछन। हिलाम्मे सडकमा मोटरसाइकल जान नसक्ने भएपछि हिलेमा मोटरसाइकल राखेर हिलेबाट पाख्रीबाससम्म हिँडेर अफिस जाने गरेको पाख्रिबास नगरपालिकाकाका इञ्जिनियर दीपक राईले बताए।

समस्या भएकाले समस्या समाधानका लागि पाख्रीबास नगरपालिका गम्भीरताका साथ लागिरहेको नगर प्रमुख बीर्खबहादुर राईले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.