|

बाँके : तपाई भूमिसुधार तथा मालपोत कार्यालय बाँके जाँदै हुनुहुन्छ भने कार्यालयको मुलगेटमा बसेका प्रहरीले केरकार गरेर मात्र भित्र छिर्न दिन्छन्। विचौलियालाई रोक्न र कार्यालयमा हुने अनियमितता रोक्न मुलगेट र कार्यालयको मुख्य ढोकामा यसरी प्रहरी परिचालन गरिएको हो।

मालपोत कार्यालयमा हुने गरेको अनियमितता रोकेर सुशासन कायम गर्न प्रहरी परिचालन गरिएको प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले बताए। लेखापढी व्यवसायीको नाममा कार्यालयको नियमित कामकाजमा बाधा पु¥याउने गरी मानिस प्रवेश गर्न थालेपछि मुलद्वारमै प्रहरी राखेर आउजाउमा कडाइ गरिएको उनको भनाइ छ।

अधिकृत दौल्यालले भने, ‘विनाकाम कार्यालयमा प्रवेश गरेर कर्मचारीलाई अनुचित प्रभावमा पार्ने, होहल्ला गर्ने र घुइँचो गरेर काममा बाधा पुर्‍याउन थालेपछि मुख्य प्रवेशद्वार र कार्यालय भवनको मुख्य ढोकामा प्रहरी राखेर सम्बन्धित ब्यक्तिलाई मात्र प्रवेश गर्न दिएका छौँ।’ कर्मचारीहरु पनि परिचयपत्र देखाएर मात्र कार्यालय जाने गर्दछन्। 

मालपोत कार्यालयप्रति सर्वसाधारणमा नराम्रो छाप बसेकाले कामलाई सहज र सरल बनाउन यस्तो नीति लिएको बताइएको छ। कामकाजलाई व्यवस्थित बनाउन र सेवाग्राहीलाई सहजरुपमा सेवा प्रदान गर्न कार्यालयले लेखापढी व्यवसायीको पूर्ण विवरण राख्ने भएको छ। लेखापढी गर्ने अनुमपति पत्रसहितको पूर्ण विवरण कार्यालयमा बुझाउन सूचना जारी गरिएको प्रमुख मालपोत अधिकृत दौल्यालले बताए। लेखापढी व्यवसायीलाई काम गर्न सजिलो बनाउन र विचौलिया प्रवेशलाई निरुत्साहित गर्न परिचयपत्र देखाएर मात्र प्रवेश गर्न पाउने गरिएको छ।

कार्यालय परिसरमा सिसि टिभी क्यामेरा जडान प्रक्रिया समेत अघि बढेको कार्यालयले जनाएको छ। सेवाग्राहीको सहजता र अनियमितता रोक्न मालपोत कार्यालय परिसरमै बैंकको शाखा स्थापना गर्न लागिएको मालपोत कार्यालयले जनाएको छ। सेवाग्राहीले मालपोत कार्यालयको नाममा रकम जम्मा गरेको भौचरका आधारमा कार्यालयले सेवाग्राहीको काम गर्ने बताइएको छ।

विचौलिया रोकेर कार्यालयको कामकाजलाई प्रभावकारी बनाउन मालपोत कार्यालयले प्रवेशमा कडाई गरेपछि काम गर्न सहज भएको लेखापढी ब्यवसायी संघ बाँकेका अध्यक्ष कमल खड्काले बताए। ‘नियम स्वागत योग्य छ,’ उनले भने, ‘यो नियमबाट हामी खुसी छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.