|

लहान : सप्तरीको दक्षिणी सीमावर्ती बलान बिहुल गाउँपालिका ५ कोदरकट्टी गाउँमा दुर्गा पूजा व्यवस्थापन समितिका पदाधिकारीबीच भएको झडपमा १५ जना घाइते भएका छन्। घाइते मध्ये १४ जनाको लहान र एक जनाको विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

प्रहरीका अनुसार झडपमा समितिका अध्यक्ष धनीचन यादव पक्षका घाइते भएका ४२ वर्षीय भोगेन्द्र यादव, ५५ वर्षीय रामबहादुर यादव, ३८ वर्षीय वैजनाथ यादव, ५० वर्षीय धर्मनाथ यादव, ३५ वर्षीय हिराई यादवको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, अध्यक्ष यादवको पक्षबाट झडपमा घाइते भएका ४२ वर्षीय इनरदेव यादव, ६५ वर्षीय अयोधी यादव, ४० वर्षीय जिवेन्द्र यादव र ४५ वर्षीय लक्ष्मण यादवको पनि सप्तऋषि अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाउँमा रकम उठाएर आफ्नै ढङ्ले दुर्गा पूजा गर्ने विषयमा अडान लिएका समितिका सचिव तथा कोषाध्यक्ष पक्षका प्रदीपकुमार यादव, जितेन्द्रकुमार यादव, अजित कुमार यादव, राजकुमार यादव र देवनारायण यादव घाइते भएका छन्। देवनारायणको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको लहानस्थित त्रिदेव पोलिक्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

रकम नउठ्दै भएको विवादले झडप

घाइते जिवेन्द्रका अनुसार भदौको दोस्रो हप्ता वडाध्यक्ष विन्देश्वर यादव र सदस्य मुखालाल यादवको समेत उपस्थितिमा आउँदो दशैंमा गाउँको दुर्गा मन्दिरमा पूजा गर्न सर्वसम्मत रुपले धनीचन यादवको अधयक्षतामा ११ सदस्यीय समिति गठन भएको थियो। समितिको सोमबारको बैठकमा पूजाका लागि गाउँमा रकम उठाउने, राख्ने र खर्च कसले गर्ने भन्ने विषयमा विवाद भएपछि मंगलबार बिहानका लागि छलफल राखिएको वडाध्यक्ष विन्देश्वर यादवले बताए।

नेकपा पक्षधर अध्यक्ष धनीचन र फोरम पक्षधर नातामा काका भतिज रहेका सचिव आशाराम यादव र कोषाध्यक्ष प्रदिपकुमार यादवको रकम उठाउने र खर्च गर्ने विषयमा मंगलबार बिहान भएको विवादले झडप भएको घाइते जिवेन्द्रले बताए। ‘गाउँलेहरुले रकम उठाएर समितिको निर्णयको आधारमा खर्च गरौं भन्दा सचिव र कोषाध्यक्षले रकम संकलन गरेर आफैंहरुले खर्च गर्ने बताएपछि झडप भएको हो’ उनले भने।

प्रहरीका अनुसार अहिले दुवै पक्षको उपचार चलिरहेकाले प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन। दुवै पक्षका घाइतेहरुको उपचार प्रहरीको निगरानीमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.