|

जनकपुरधाम : स्वतन्त्र मधेसको माग गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने/नगर्ने आशंका र संशयका बीच जनकपुरधाममा सम्बोधन गरेका छन्। प्रहरीले खोजी कार्य तीव्र पारेकै अवस्थामा डा. राउतले प्रशासनलाई चुनौती दिँदै प्रहरीकै सामु सम्बोधन गरेका हुन्। प्रहरीले उनलाई पक्राउ गर्न प्रयास गरे पनि कार्यकर्ताहरूको भीडले घेरिएर डा. राउतले टिपरबाट भाषण गरेका थिए।

पूर्वनिर्धारित ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रमअन्तर्गत जनकपुरधामको रामानन्द चोकमा टिपर चढेर आएका डा. राउतले सम्बोधन गर्दै 'स्वतन्त्र देश मधेस'को माग गरे। उनले आफ्नो सम्बोधनको अधिकांश समय प्रदेश सरकारको आलोचनामा खर्चिए।

झण्डै दुई हजार समर्थकका बीच डा. राउतले मुलुकमा संघीयता मधेसी जनतालाई थप पीडामा पुर्‍याउनका लागि मात्रै ल्याइएको दाबीसमेत गरे। उनले प्रदेश सरकार मधेसी जनताको सरकार नभई दलालहरूको सरकार रहेको आरोप पनि लगाएका थिए।

मधेस आन्दोलनमा भएका तमाम शहीदहरू नमन गर्दै डा. राउतले संविधान जारी भएको कालो दिनमा संविधानमा आफ्नो हक र अधिकारका लागि मधेसी जनताले शहादत दिएको र शहादत खेर नजाने दाबी गरे। उनले सम्बोधन गर्दै भने, ‘हामी स्वतन्त्र मधेसका देशका लागि लड्दै छौँ। हिजो मधेसी जनताले आफ्नो हक अधिकार माग्दा नेपाली शासकले गोली वर्षायो, आज मधेसकै केही दलालले अधिकार माग्नेमाथि गोली चलाउँदै छन्।’

उनले हिजोको मधेस आन्दोलनमा खस सरकारले मधेसी जनतामाथि गोली चलाएको र आज प्रदेश सरकारको काँधमा बन्दुक राखेर गोली चलाउने षड्यन्त्र गरिरहेको आरोप लगाए। मधेसी जनताले अधिकारविहीन संघीयताका लागि लडाइँ नगरेको भन्दै अब मधेसी जनतालाई स्वतन्त्र हुनबाट कसैले रोक्न नसक्ने दाबीसमते गरे।

उनले नवलपरासीमा स्वतन्त्र मधेस गठबन्धनका राममनोहर यादवलाई प्रहरीले आफ्नो हिरासतमा हत्या गरेको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.