|

इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ। तर उसका स्टार खेलाडी रोनाल्डाेले रातो कार्ड खाएका छन्।  बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई २-० ले पराजित गर्यो।

भ्यालेसियाको मैदानमा युभेन्ट्सलाई जित दिलाउन दुवै गोल मिरालिम पजनीकले गरेका थिए। तर, खेलमा युभेन्ट्स पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। खेलको २९ औं मिनेटमा पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएपछि युभेन्ट्स १० खेलाडीमा सिमित भएको हो। भ्यालेन्सियाका डिफेन्डर जेइसन् मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रोनाल्डोले कपालमा समातेर दुर्व्यवहार गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले पहिलोपटक च्याम्पियन्स लिगमा रातो कार्ड पाएका हुन्। स्पेनिस क्लब रियल मड्रिडलाई लगातार चार सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल रोनाल्डोले युभेन्ट्समा डेब्यु खेलमै रातो कार्ड पाएका हुन्। च्याम्पियन्स लिगको १५४ औं खेलमा रातो कार्ड पाएसंगै रोनाल्डोले दुई खेलको प्रतिबन्ध भोग्ने बताईएको छ। 

रोनाल्डोले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपनि युभेन्ट्सलाई पजनीकले राहत दिलाए। खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै पजनीकले युभेन्ट्सलाई १-० को अग्रता दिलाए। त्यसपछि खेलको ५१ औं मिनेटमा पुनस्पजनीकले पाएको पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए। 

खेलको अन्तिम समयमा भ्यालेन्सियाले एक गोल फर्काउने मौका पाएको थियो। तर, ड्यानियल परेजोले पेनाल्टीमा गोल गर्न सकेनन्। उसको पेनाल्टी प्रहार युभेन्ट्सका गोलरक्षकले जोगाएका थिए।  जितसँगै समूह एचको युभेन्ट्सले पहिलो खेलमा ३ अंक जोडेको छ । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.