|

काठमाडौं : नेपाली सेनाले निर्माण जिम्मा पाएको काठमाडौं-तराई मधेस द्रुतमार्गको काम करिब २७ प्रतिशत सकिइसकेको छ। आयोजना निर्माणका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गादेखि सडक निर्माणका क्रममा काट्नुपर्ने रूख धमाधम काटिन थालिसकेको आयोजनाका प्रखुख नेपाली सेनाका प्राविधिक उपरथी  योगेन्द्रबहादुर खाणले पत्रकार सम्मेलनमा जानकारी दिए।

बिहीबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा खाणले चालू आर्थिक वर्षमा १० हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिसकेको र १९ हजार ६१९ रूख काटिसकिएको बताए। खाणका अनुसार जग्गा अधिग्रहण र रूख काट्ने काम केही मात्र बाँकी रहेको छ।

ललितपुरको खोकना र बुङमतीको जग्गाको भने मुआब्जा वितरण विवादका कारण रोकिएको उनले बताए। खाणका अनुसार द्रुतमार्ग निर्माण गर्न २० हजार २०९ वटा रूख काटिनेछन्। रूख काटिए पनि मार्गलाई वातावरणमैत्री बनाउन काटिएको स्थानमा फेरि वृक्षरोपण गरिने र स्लोप प्रोटेक्सन तथा बायो इन्जिनियरिङ गरी हरियाली बनाइने खाणको भनाइ छ।

२०७४ बैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार चार वर्षभित्र आयोजना सम्पन्न गरिसक्ने गरी निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको थियो। द्रुतमार्गको लम्बाइ कुल ७६.२ किलोमिटर रहेको छ।

सेनाका जवानलाई दैनिक १५० रुपैयाँ

काठमाडौं-तराई मधेस द्रुतमार्गअन्तर्गत रूख काट्ने नेपाली सेनाका जवानले दैनिक १५० रुपैयाँ मात्र भत्तावापत पाउने गरेका छन्। आयोजना प्रमुख खाणका अनुसार अतिसम्वेदनशील ठाउँ र ज्यान जोखिम हुने ठाउँमा रूख काट्ने जवानहरूले भने थप ४५० रुपैयाँ पाउने गरेका छन्। आयोजना निर्माणस्थलमा नेपाली सेनाका एक हजार २०० सैन्य कर्मचारी खटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.