|

हेटौँडा : ट्यांकर चालकहरूको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ। मुलुकी संहितामा सवारी चालकहरूका लागि ल्याइएको प्रावधानको विरोध गर्दै चालकहरूले आन्दोलन गर्दा हेटौँडामा पेट्रोलियम पदार्थको अभाव भएको हो।

पछिल्लो तीन दिनदेखि हेटौँडाका पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ। अधिकांश पेट्रोल पम्पमा मौज्दात सकिएको व्यवसायीहरुले बताएका छन्। अभाव सुरु भएपछि पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ भर्ने साना तथा ठूला सवारीको लाम लागेको छ। सवारीको चाप बढेपछि पेट्रोल पम्पहरूमा प्रहरी परिचालन गरिएको छ।

तीन दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी नभएका कारण मौज्दात कम हुँदै गएको पेट्रोलियम व्यवसायीहरूको भनाइ छ। चालकहरूको आन्दोलनका कारण इन्धन अभाव भएकोले सहज ढंगले वितरणका लागि आयल नियमसँग पहल गरिरहेको नारायणी पेट्रोलियम विक्रेता संघ मकवानपुरका अध्यक्ष उत्सव इटेनीले बताए। उनले मौज्दात रहेसम्म वितरण गरिरहेको बताउँदै जिल्लामा नेपाल आयल निगम अमलेखगञ्ज डिपोबाट इन्धन भित्र्याउनका लागि आफू डिपो छलफलका लागि गएको बताए।

ट्यांकर चालकहरूका सेवा सुविधाबारे आयल नियमसँग सहमति भइसकेपछि फेरि अर्को विषयलाई लिएर आन्दोलन हुँदा समस्या बढेको व्यवसायीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.