|

पर्सा : वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखामा बसेर अवैध आर्थिक संकलन गर्ने २ कर्मचारी र तिनीहरुका सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ। पर्साको गण्डकस्थित पुरकन इन्टरनेसनल एकेडेमीको कक्षा ५ सम्मको अनुमति पत्र स्वीकृति दिने क्रममा लिएको १ लाख रुपैयाँ घुस रकम र सहयोगीसहित महानगरपालिकाका दुई कर्मचारी अख्तियारको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्ने दुवै कर्मचारी महानगरपालिकाको शिक्षा महाशाखाका विद्यालय निरीक्षक मन्जुर आलम र सहायक निरीक्षक शशि भूषण साह रहेको अख्तियारको टोली प्रमुख कृष्ण सुवेदीले बताए। ‘उनीहरुले पैसा आफूले नलिएर सहायक निरीक्षक साहका भान्जा अरुणकुमार साहलाई विद्यालयका संचालकसँग पैसा बुझ्न वीरगन्ज महानगरपालिका -६ स्थित विस्मिल्लाह होटलमा पठाएका रहेछन्‘ सुवेदीले भने।

कर्मचारीका सहयोगी अरुण कुमारले घुसबापतको १ लाख रुपैया लिँदै गर्दा पक्राउ गरिएको अख्तियार टोलीको प्रमुख सुवेदीले बताए। सहयोगी पक्राउ परेपछि उनले आफूलाई महानगरपालिकाका शशि भूषण साह र मन्जुर आलम सरले पैसा बुझेर ल्याइदिन भनेपछि आएको बयान दिएपछि दुवै कर्मचारीलाई नियन्त्रणमा लिएको टोलीका प्रमुख सुवेदीको भनाइ छ।

महानगरपालिका पुग्दा दुवै कर्मचारी महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको कक्षमा रहेकै अवस्थामा पक्राउ गरेको महानगरपालिकाका कर्मचारीले नै थाहा खबरलाई बताए। पक्राउ परेका शिक्षा महाशाखाका विद्यालय निरिक्षक आलम र सहायक निरीक्षक साहले आफूहरुले यो कार्य महानगरपालिकाको मूलीहरुकै इसारामा गरेको भनी प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भूषाल र नगर प्रमुख विजय कुमार सरावगीतर्फ देखाए।

यो विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले भने आफूमाथि लगाएको आरोप गलत भएको भनी पटक-पटक चेतावनी दिंदा पनि ती कर्मचारीहरुले अटेर गरेकोले आफै अख्तियारको फन्दामा परेको दावी गरे। उता महानगरपालिकाका नगर प्रमुख सरावगीले पनि मेरो नाम भजाएर अवैध आर्थिक लाभ लिनेहरु अब नउम्किने बताए। गलत गर्नेहरु अब यसरी नै फस्दै जान्छन् उनले तर्क गरे।

यसरी समातिए कर्मचारी

महानगरपालिकाको वडा नम्बर १४ स्थित बहुअरीको पुरकन ईन्टरनेशनल एकेडेमीका संचालक एकबाल हैदरले भने, ‘माघदेखि नै कक्षा थपका लागि स्वीकृति लिन प्रयास गर्दा पनि विना पैसा सरहरुले मान्नुभएन। सुरुमा त ५ लाख माग गर्नुभएको थियो। तर पछि वार्गेनिङ्ग गर्दै १ लाखमा कुरा मिलाएर त्यसपछि राज्यको नियामक निकायलाई पनि सूचना दिएको तर्क गरे। मेरो विद्यालयमा भौतिक पूर्वाधारदेखि लिएर सबै कुरा हुँदा पनि घुसविना उहाँहरु सुनुवाईमा नआएपछि वाध्य भएर फरक कदम उठाए हुँ।'   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.