|

अछाम : जिल्लाको साँफेबगरमा यातायात मजदुरले गरेको आन्दोलनका क्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। दोहोरो झडपपछि स्थिति नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको हो।

फायरिङका क्रममा दुई जना स्थानीय र दुई प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए। दोहोरो झडपमा परी स्थानीय अविन्द्र कुँवर र योगेश कुँवर घाइते भएका हुन्।

घाइते अविन्द्रलाई थप उपचारका लागि गेटा आँखा अस्पताल कैलाली रिफर गरिएको र योगेशको बयालपाटा अस्पतालमा उपचार भइरहेको बयालपाटा अस्पतालका चिकित्सा शिक्षा निर्देशक डाक्टर विकास गौचनले बताए। उनका अनुसार अविन्द्रको दाहिने आँखामा गम्भीर चोट लागेको छ भने योगेशको टाउकोमा सामान्य चोट लागेको छ। घाइते दुवै साँफेबरका स्थानीय हुन्।

झडपमा आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी सहायक निरीक्षक मीनबहादुर खड्का र जवान गोविन्द ओझा पनि घाइते भएका छन्। तर उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान साँफेबगरमा झडप भएपछि जिल्ला प्रहरी कार्यालयले मंगलसैनबाट थप प्रहरी खटिएको थियो।

दोहोरो झडपपछि प्रहरीले साँफेबगरबाट आठ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ। झडपका क्रममा ढुंगा र बोतल प्रहार गर्नेहरूलाई र प्रहरीमाथि अभद्र व्यवहार गर्ने र आन्दोलनलाई अराजक बनाउन खोज्नेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

समस्या समाधानका लागि अहिले प्रहरी, स्थानीय जनप्रतिनिधि र आन्दोलनकारीबीच छलफल जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.