कर्मचारीलाई सन्तुष्ट पार्न सक्दा बढी मुनाफा

|

काठमाडौं : तपाईँसँग शिक्षा, सीप र क्षमता छ भने बढी तलबको खोजीमा रोजगारीका लागि विदेश जानुपर्दैन। नेपालमा पनि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम दिने कम्पनीहरु छन्।

नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी र कतिपय नेपाली लगानीका कम्पनीले कर्मचारीसँग भएको क्षमताको उचित मूल्यांकन गर्छन्। कतिपय कम्पनीले कर्मचारी र उनका परिवारको निःशुल्क उपचार गराउनेदेखि घरभाडा कोष समेत स्थापना गरेका छन्। तपाईँलाई थाहा नहुन सक्छ, न्यूनतम २० हजारदेखि अधिकत ५ लाख रुपैयाँसम्म पारिश्रमिक दिने थुप्रै कम्पनी नेपालमा छन्। हामी तपाईँलाई कर्मचारीलाई उत्कृष्ट तलबसुविधा दिने नेपालका १० कम्पनीबारे जानकारी दिँदैछौँ।

१. एनसेल

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको जागिरमा धेरैको रहर हुन्छ। नेपाली लगानीकर्ताको २० र विदेशी लगानीकर्ताको ८० प्रतिशत लगानी रहेको यो कम्पनीमा न्यूनतमा २० हजारदेखि अधिकतम ५ लाख रुपैयाँ तलब भत्तादेखि अन्य आकर्षक सेवा सुविधा रहेका छन्। सरकारले तोकेभन्दा २०/२५ प्रतिशत पारिश्रमिक मात्रै बढी भएता पनि विभिन्न प्रकारका भत्ता र बोनसका कारण एनसेलमा तल्लो तहका कर्मचारीले पनि नेपाल सरकारको अधिकृतस्तर सरह पारिश्रमिक पाउँछन्।

एनसेलमा काम गर्ने नेपाली कर्मचारीले न्यूनतम २० महिनादेखि अधिकत ३५ महिनासम्मको वार्षिक तलब पाउँछन्। नेपाली कर्पोरेट क्षेत्रमा सबैभन्दा बढी तलब दिने संस्थाको रुपमा एनसेल गनिएको छ। ६ महिना सेवा अवधि पूरा गरेका कर्मचारीलाई सञ्चयकोष सुविधा एनसेलको अर्को आकर्षण हो। एनसेलमा उपल्लो तहमा काम गर्ने कर्मचारीले मासिक पाँचलाख रुपैयाँसम्म तलब भत्ता पाउने गर्छन्।

२. सूर्य नेपाल

सूर्य नेपालका कर्मचारीको सेवासुविधा सुन्दा पनि तपाईँलाई त्यहाँ काम गर्ने रहर लाग्‍न सक्छ। बहुराष्ट्रिय कम्पनी सूर्य नेपालमा कार्यरत नेपाली कामदारले वार्षिक २५ महिनासम्मको तलब पाउँछन्। तालिम भत्ता, मनोरञ्जन भत्ता, सीप तथा विकास भत्ता यसका आकर्षण हुन्। यस्तै यो कम्पनीका कर्मचारीले यातायात र सञ्चार भत्ता पनि पाउँछन्। तल्लो तहका कर्मचारीको तलब स्केल २० देखि २५ हजार रहे पनि म्यानेजर तहमा २ लाखदेखि ५ लाखसम्म तलब सूर्य नेपालले दिने गरेको छ।

३. गोर्खा ब्रुअरी

बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरी पनि कर्मचारीलाई उत्कृष्ट सेवासुविधा दिने कम्पनी हो। यो कम्पनीले दिने सेवा सुविधा राम्रै वैदेशिक रोगजारीमा पनि नपाइन सक्छ।

बोनससहित कर्मचारीलाई मासिक ३० महिनासम्मको तलब खुवाउने गोर्खा ब्रुअरीका तल्लो तहका कर्मचारीले मासिक २२ हजारदेखि ५० हजारसम्म तलब खाने गर्छन्। उपल्लो तहमा ५० हजार देखि ३ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने कर्मचारी गोर्खा ब्रुअरीमा छन्। यसका कर्मचारीले बोनससहित वार्षिक २० महिना बराबरको तलब पाउने गर्छन्। यहाँ यातायात, सञ्चार, खाजा तथा खाना भत्ता पनि आकर्षक छ। वार्षिक तलब वृद्धिसमेत राम्रो रहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्।

४. रुस्लान भोड्का

कर्मचारीको उचित मूल्यांकनसहित काम अनुसारको दाम दिने संस्थामध्ये रुस्लान भोड्का पनि अग्र स्थानमा आउँछ। पछिल्लो समय नेपाली बजारमा स्वामित्व वृद्धि गरेको ज्वालाखेल ग्रुप अन्तर्गतको रुस्लान भोड्कामा कार्यरत कर्मचारीले पनि न्यूनतम २२ हजारदेखि अधिकतम ३/४ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने गर्छन्।

यातायात, सञ्चार र मनोरञ्जन भत्ता समेतको व्यवस्था गरेको रुस्लान भोड्काले कार्यक्षमताका आधारमा कर्मचारीको ६ महिनामा पनि तलबवृद्धि गर्ने गरेको छ। मदिराजन्य क्षेत्रमा रुस्लान भोड्काले सबैभन्दा बढी सेवासुविधा र पारिश्रम दिने गरेको मानव संशाधन क्षेत्रमा अध्यन गरेका अधिकारीको भनाई छ।

५. नेपाल फर्मास्युटिकल्स ल्याब

औषधि उत्पादन गर्ने कम्पनीमध्ये नेपाल फर्मास्युटिकल्स ल्याबले दिने गरेको सेवा सुविधा आकर्षक छ। युवा उद्यमीले सञ्चालन गरेको यो ल्याबले कर्मचारीहरुलाई आफ्नै खर्चमा विदेशमा तालिम लिन पठाउँछ। बिएस्सी सकेर यहाँ काममा छिरेको कर्मचारीको वर्षमा २० देखि २५ हजार सम्म तलब वृद्धि हुने गर्छ। साथै तालिम र डेभलप्मेन्ट भत्ता पनि आकर्षक छ।

यो कम्पनीमा अधिकृत स्तरमा काम गर्ने कर्मचारीले मासिक २ लाखसम्म र म्यानेजर स्तरमा काम गर्ने कर्मचारीले मासिक ४ लाख रुपैयाँसम्म तलब भत्ता पाउने गर्छन्।

६. लोमस फर्मास्युटिकल्स

लोमस फर्मास्युटिकल्सका कर्मचारीको पनि सेवासुविधा आकर्षक छ। 'चाहे जति काम, काम अनुसारको दाम' यो कम्पनीको सिद्धान्त छ। लोमसका कर्मचारीले दिनको ४ घण्टा ओभरटाइम पाउँछन्। तलबको डेढी ओभरटाइम दिने गरेको छ। यो कम्पनीले कर्मचारीलाई निःशुल्क स्वास्थ्य उपचार र कर्मचारीको परिवारलाई निःशुल्क औषधि उपलब्ध गराउँछ। हरेक महिना एकपटक कार्यालयमै डाक्टर बोलाएर कर्मचारीको स्वास्थ्य परीक्षण गरिन्छ।

बोनस सहित वार्षिक १६ महिनासम्मको तलब उपलब्ध गराउने लोमसमा कर्मचारीलाई आवास भत्ताको व्यवस्था समेत गरिएको छ। सरकारले तोकेभन्दा १० देखि २० प्रतिशत बढी पारिश्रमिक उपलब्ध गराउने लोमसमा मजदुर तहमा मात्रै मासिक २० देखि ३५ हजारसम्म पारिश्रमिक दिइन्छ। कर्मचारीलाई दैनिक खाजाभत्ता र बिहान खाना उपलब्ध गराइन्छ भने वार्षिक २ जोर लुगा अनिवार्य उपलब्ध गराइने नियम छ। हरेक दुई वर्षमा आधिकारी ट्रेड युनियनको सुझाव अनुसार तलब तथा भत्ता वृद्धि गरिन्छ।

७. देउराली जनता फर्मास्युटिकल्स्

देउराली जनता फर्मास्युटिकल्स् पनि राम्रो सेवासुविधा उपलब्ध गराउने कम्पनी हो। पारिश्रमिकभन्दा पनि दीर्घकालीन सेवासुविधा बढी दिइएको यो कम्पनीमा तालिम तथा विकास (ट्रेनिङ एन्ड डेभलपमेन्ट) मा धेरै पैसा खर्च गरिएको छ। हरेक वर्ष कर्मचारीलाई सीप विकासका लागि विदेशमा तालिम लिन पठाउनु र पारिश्रमिक वृद्धि गर्नु देउराली जनताको राम्रो पक्ष भएको कर्मचारीहरु बताउँछन्।

वार्षिक तलबबाहेक ५ देखि ७ महिनासम्मको बोनस उपलब्ध गराउने देउराली जनतामा २० हजार देखि २ लाखसम्म पारिश्रमिक लिने कर्मचारी छन्। देउराली जनता फर्मास्युटिकल्समा काम गर्ने कर्मचारीको पनि  निःशुल्क औषधि उपचारको व्यस्था गरिएको छ।  

८. युनिलिभर

बहुराष्ट्रिय कम्पनी युनिलिभरको जागिर धेरैको रहरको विषय हो। मासिक पारिश्रमिकबाहेक बोनसबापत वार्षिक १० महिनासम्मको अतिरिक्त पारिश्रमिक युनिलिभरका कर्मचारीले पाउँछन्। आकर्षक तलबसहित भत्ताको व्यवस्था गरिएको युनिलिभरमा न्यूनतम २२ हजारदेखि अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म तलबभत्ता उपलब्ध गराइन्छ। कुनै समय ३५ महिनासम्मको बोनस उपलब्ध गराउने युनिलिभर पछिल्लो समय मुनाफा घटेसँगै कर्मचारीको बोनसपनि घटेको छ।

९. डाबर नेपाल

डाबर नेपाल पनि कर्मचारीलाई धेरै सेवासुविधा र पारिश्रमिक उपलब्ध गराउने मल्टिनेसनल कम्पनी मध्ये एक हो। कुनै समय २० महिनासम्मको बोनस दिने डाबर नेपालका कर्मचारीले अहिले वार्षिक ६ महिनासम्मको बोनस पाउने गरेका छन्।

तालिम तथा विकास (ट्रेनिङ एन्ड डेभलप्मेन्ट) भत्ता उपलब्ध गराउने डाबर नेपालमा यातायात, सञ्चार र मनोरञ्जन भत्ता पनि उपलब्ध गराइने गरेको मानव संसाधनका अधिकारीको भनाई छ। यहाँका कर्मचारीको पनि मासिक तलब न्यूनतम २० हजारदेखि अधिकतम ३ लाख छ।

१०. जगदम्बा सिमेन्ट

सौरभ ग्रुप* अन्तर्गतको जगदम्बा सिमेन्ट पनि राम्रो सेवा सुविधा दिने कम्पनी मध्ये पर्दछ। जगदम्बा सिमेन्टले मजदुर स्तरमा २० हजारदेखि ३० हजारसम्म र अधिकृत स्तरमा ३० हजारदेखि ५० हजारसम्म पारिश्रमिक दिन्छ।

यो कम्पनीले म्यानेजर तहमा ५० हजारदेखि ६० हजारसम्म र जेनरल म्यानेजर तहमा ६० हजारदेखि ८० हजारसम्म मासिक तलब उपलब्ध गराउँछ। वार्षिक १० देखि १५ प्रतिशत तलब वृद्धि पनि जगदम्बा सिमेन्टका काम गर्ने कर्मचारीले पाउने सुविधा हो। यो कम्पनीका कर्मचारीले वार्षिक ६ महिनासम्मको बोनस पाउँछन्।

र, यी पनि

माथिका बाहेक बैंकिङ क्षेत्रमा नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक पनि कर्मचारीलाई राम्रो सेवासुविधा दिने कम्पनी हुन्। नर्भिक अस्पताल, बी एन्ड बी अस्पताल राम्रो सेवासुविधा दिने कम्पनी हुन्। मेरो रेमिट, निम्बस लगायत कम्पनीमा पनि कर्मचारीको सेवासुविधा आकर्षक छ।

कर्मचारीलाई सन्तुष्ट पार्न सक्दा बढी मुनाफा

बहुराष्ट्रिय कम्पनीमात्र होइन, पछिल्लो समय राष्ट्रियस्तरका कम्पनीले पनि जनशक्तिको महत्व बुझ्न थालेको र जनशक्तिलाई सन्तुष्ट पार्ने उपाय अपनाउन थालेको मानव संसाधनका क्षेत्रमा कार्यरत संस्था ग्रोथ सेलर्सका प्रबन्ध निर्देशक मोहन ओझाको अनुभव छ। 'मेसिन चलाउने हो तर काम गर्ने मान्छेले नै हो', ओझा भन्छन्, 'यो विषय अहिले कर्पोरेट हाउसहरुले बुझ्न थालेको हाम्रो अध्यनले देखाउँछ।'

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा पनि कर्मचारीलाई सन्तुष्ट पार्न सक्दा मात्रै मुनाफा वृद्धिमा सहयोग पुग्ने स्वीकार्छन्। 'कार्यरत कर्मचारीलाई उच्च मनोबलका साथ काममा लगाउन सक्नु र उनीहरुको समस्याको समधान गर्न सक्नु नै असल व्यवस्थापकको गुण हो', शर्माले भने।

लोमश फर्मास्युटिकल्सका निर्देशक युवा उद्यमी प्रवलजंग पाण्डे कर्मचारीको सेवासुविधासँग जिम्वारी निर्वाह जोडिएर आउने बताउँछन्।  'सबै किसिमका सेवा सुविधा दिँदा काम हेर्न नपर्ने, कम्पनीप्रतिको माया देखिने,  मैले काम बिगारेँ भने कम्पनीलाई घाटा लाग्छ भन्ने भाव राखेर काम गर्ने गरेको मैले पाएको छु', पाण्डे भन्छन्।

(यो समाचारका लागि सम्बन्धित कम्पनीका मानव संसाधन विभागका अधिकारीहरुसँग कुरा गरिएको थियो। सूचीमा सरकारी स्वामित्वका कम्पनीलाई समावेश गरिएको छैन।)

*सौरभ ग्रुप हुनुपर्नेमा यसअघि शंकर ग्रुप भएकाले सच्याइएको छ। - सम्पादक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • सरकारी तर्फका राष्ट्र बैंक, संचय कोष, परराष्ट्र, राजस्वका डांकाहरुले पनि यो भन्दा झन बढ़ी बुझ्छन भन्ने हल्ला छ नि मार्केटमा? खोजमूलक समाचार दिनु भए हुन्थ्यो भट्टराई सर ।

  • Derai Ramro Samachar6 Hajur ko Coca-Cola ko Carmchari ko Subidda ke Rahe6 Janko lagi Manthiyo............Thanks.

  • Totally fake 🤔🤔🤔🤔 norvic hospital pay low for staff ... So I do not be live on this news

  • लौन हजुर यो समाचार सुन्दा स्वदेशमै जागिर खाने मनभयो सकेसम्म जागिर मिलाइदिने कोसिस गर्दिनुपर्यो बरु सुटुक्क खल्तीमा हाल्दिम्ला