|

काठमाडौं :  प्रधानमन्‍त्री पुष्पकमल दाहालले अनुदान रकम वितरणका लागि समय तोकेर सञ्चालन गरिएको ४५ दिने अभियान सन्तोषजनक भएको बताएका छन।

पुनर्निमार्माण प्राधिकरणको बैठकमा उनले पुनर्निर्माणमा खटिने जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गर्ने गरी प्रस्ताव पेश गर्न अर्थमन्त्रालय, प्राधिकरण र प्रधानमन्त्री कार्यालयका सचिवलाई निर्देशन दिए।

१७ जिल्लाको सर्भेक्षण, प्राथमिक विद्यालय भवन निर्माण, पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माण, गुनासो सम्बोधन, गैरसरकारी संस्थाहरुको अनुगमन, बस्ती स्थानान्तरण लगायत विषयमा संलग्‍न कर्मचारीहरुको जिम्मेवारी तथा समय तोक्न उनले निर्देशन दिए।

प्राधिकरणका सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले  पुनर्निर्माण तथा पुनर्स्थापना ऐनको भावना र मर्म अनुरुप थप स्रोत साधन परिचालन गरी युद्धस्तरमा काम गर्नुपर्ने बताए।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्रीबाट प्राप्त निर्देशन अनुरुप प्राधिरकणले विगतमा झै आगामी दिनमा स्पष्ट रकार्यतालिका अनुसार पुनर्निर्माणका काम अघि बढाउने बताए। उनले त्यसका लागि पुनर्निर्माणमा खटिने कर्मचारीहरुलाई प्रोत्साहन गर्ने गरी सुविधा दिन आवश्यक भएको बताए।
बैठकमा निम्‍न विषयमा छलफल भएको थियो।  
१. विगतका निर्देशक समितिको निर्णयहरुको कार्यान्वयन अवस्थाको समीक्षा सम्बन्धमा।
२.    प्राधिकरणको परिमार्जित संगठन संरचना अनुरुप जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धमा।
३.    पुनर्निर्माण कार्यमा खटिएका प्राविधिक लगायतका जनशक्तिहरुको प्रभावकारी परिचालन सम्बन्धमा।
४. आ.व. ०७३\७४ का लागि आवश्यक पर्ने वित्तीय श्रोतको व्यवस्थापनका सम्बन्धमा।
५. भूकम्प प्रभावित क्षेत्रको समग्र आर्थिक विकास सम्बन्धी अध्ययन सम्बन्धमा।
६. पुनर्निर्माण सामुदायिक समितिहरुको गठन तथा प्रभावकारी परिचालन सम्बन्धमा।
७. बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकास सम्बन्धमा।
८. विश्व सम्पदा सूचिमा रहेका सम्पदाहरु तथा पराम्परागत बस्तीहरुको पुनर्निर्माण 
सम्बन्धमा।
९. भूकम्प प्रभावित क्षेत्रमा सूचना प्रविधिको संजालिकरण तथा विद्युतीय सुशासन एवं सेवा प्रवाह सम्बन्धमा।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.