पाँच वर्षमा पाँच हजार रोजगारी
पाँच वर्षमा पाँच हजार रोजगारी
काठमाडौं : नेपालमा सरकारी तथा राजनीतिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको छ। संवैधानिक व्यवस्थाका कारण पनि महिला प्रतिनिधित्व बढ्दै गएको हो। गैरसरकारी क्षेत्रमा समेत महिलाको प्रतिनिधित्व बढ्दो छ।
तर, निजी क्षेत्रमा भने धेरै ३३ प्रतिशत महिला प्रतिनिधित्वको कुरा उठेन। यदि नेतृत्व गर्ने वा सहभागिता देखाउने हो भने प्रतिस्पर्धाले मात्रै पुग्दैन अब्बल बन्नैपर्छ। त्यसो त निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा महिलाको नेतृत्व छ।
महासंघमा अध्यक्ष भवानी राणासहित निजी क्षेत्रमा केही महिलाहरूको प्रतिनिधित्व देखिन्छ तर, अपवादको रूपमा। तिनैमध्येकी एक हुन्,ज्योत्सना श्रेष्ठ सुब्बा।
ज्योत्सना अहिले नेपाल उद्योग वाणिज्य महासंघमा पर्यटन समिति सभापति छिन्। उनी रत्न तथा आभूषण महासंघकी अध्यक्ष पनि हुन्। सार्क चेम्बरअफ कमर्सलगायत आधा दर्जन निजी क्षेत्रका संघ संगठनमा उनको उपस्थिति छ।
ज्वेलरी व्यवसायीको रूपमा आफ्नो परिचय बनाएकी उनले अब यो परिचय पर्यटन, कृषि, स्वास्थ्य र जलविद्युत क्षेत्रमा पनि विस्तार गर्न सुरु गरेकी छन्। उनको लक्ष्य, 'जहाँ आफ्नो उपस्थिति त्यहा फर्स्ट'। उनको अर्को सपना राज्यलाई सबैभन्दा बढी कर तिर्ने नागरिक बन्ने।
यो सपना पूरा गर्न उनी जतिसक्यो धेरै आम्दानी बढाउन र लगानी विस्तार गर्न चाहन्छिन्।
व्यवसायमा ज्योत्सना
सामान्यतया नेपालमा २५ वर्षपछि युवायुवती जागिर सुरु गर्छन् ३० वर्षपछि व्यवसायमा लाग्छन्। उनको व्यावसायिक यात्रा भने २० वर्ष कटेपछि सुरु भयो। व्यवसाय गर्नको लागि सामान्य व्यक्तिले गर्ने संघर्ष उनले गर्नु परेन। बरु व्यवसाय जमाउन त्योभन्दा बढी गरेको दाबी गर्छिन् उनी।
साइन्स पढ्न भारत गएकी ज्योत्सना पढाइ सकेर २१ वर्षको उमेरमा नेपाल आइन्। त्यसै वर्ष उनको बिहे भयो। उनको कर्मघर परिवारको मुख्य पेशा थियो, गरहना व्यवसाय।
बिहेपछि घरपरिवारको सल्लाहमै पारिवारिक व्यवसाय हेर्ने जिम्मा ज्योत्सनालाई दिइयो। "विहेपछि ससुराले पारिवारिक व्यवसाय भने अब बुहारीले हेर्छे भन्नुभयो', ज्योत्सना भन्छिन्, 'यस अर्थमा म भाग्यमानी हो। त्यसपछि भने व्यवसायलाई निरन्तरता दिनको र कारोबार बढाउन मैले ठूलो महेनत गरे।'
व्यवसायमा उनले केही नयाँ 'फर्मुला' लागु गरिन्, काम गर्नेलाई जतिसक्यो बढी प्रोत्साहन गर्ने, उपभोक्तालाई आफ्नै पसल हो भन्ने किसिमको वातावरण बनाइदिने। उनले ज्वेलरी पसलमा महिला कर्मचारीको उपस्थिति बढाउन सुरु गरिन्। नयाँ प्रविधिको प्रयोगमा पनि आफू केन्द्रित हुने गरेको बताइन्।
एक सय वटा पसल खोल्ने योजना बनाएकी उनले अहिलेसम्म दुईवटा पसल मात्र खोलेकी छन्। न्युरोडमा सयपत्री म्यारो गोल्ड पसल छ भने दरबारमार्गमा म्यारी गोल्ड पसल। कारोबार भने ठूलो छ।
कारोबार रकम तथा लगानीको विषयमा बोल्न नचाहने ज्योत्सना भन्छिन्, 'सरकारले उचित नीति लिए आफ्नो लक्ष्यअनुसार १०० पसल नै विस्तार गर्ने लक्ष्य छ।' अहिले उनले एक अर्ब लगानी गरेर झापामा पाँचतारे होटल बनाउँदै छिन्। जलविद्युत क्षेत्रमा पनि लगानी अघि बढाएको उनी बताउँछिन्। हाल उनले १०० भन्दा बढीलाई आफ्नो व्यवसायमा रोजगारी दिएकी छिन्।
'मेरो सपना'
कुनै पनि व्यक्तिका आ-आफ्नै लक्ष्य र उद्देश्य रहेको हुन्छ। ज्योत्सनाको सपना भने राज्यलाई सबैभन्दा बढी कर तिर्ने महिला बन्नु छ। 'उनी दाबी गर्छिन्, महिलाको हिसाबले धेरै स्थानमा मेरो उपस्थिति समेत 'फर्स्ट' हो, अब म राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने 'लेडी' बन्न चाहन्छु।'
यसका लागि ज्वेलरीसँग पर्यटन क्षेत्रमा बढी लगानी गर्न चाहेको उनले बताइन्। अहिले उनी झापामा १० वटा हेलिप्याड अट्ने पाँच तारे होटल निर्माण गर्दैछिन्। उनको लक्ष्य त्यो होटललाई भारत, चीन, भुटान र बंगलादेशको 'बिजनेस मिटिङ' गर्ने थलोको रूपमा समेत विकास गर्न खोजेकी छन्। मार्केटिङको लागि अहिलेदेखि नै लागेको उनले बताइन्।
एउटा मात्रै होटलमा सीमित नहुने उनको लक्ष्य छ। साथै कृषि, खानी, जलविद्युत र स्वास्थ्य क्षेत्रमा पनि एक साथ लगानी विस्तार गर्ने लक्ष्य आफ्नो रहेको उनेल बताइन्।
अहिले १०० जनालाई रोजगारी दिएको उनले आगामी पाँच वर्षभित्र पाँच हजार भन्दा बढी रोजगारी दिने लक्ष्य राखेकी छन्। 'यतिका वर्ष म एउटै व्यवसायायमा लागेँ। अब भने जतिसक्दो धेरै रोजगारी सिर्जना हुने क्षेत्रमा काम गर्नेछु। पाँच वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने मेरो लक्ष्य छ', श्रेष्ठले भनिन्।
उनले ज्वेलरीमा समेत 'एनएस' मापदण्ड गर्ने किसिमको प्रविधि भित्र्याउन सुरु गरेको बताइन्। 'लामो समय यो क्षेत्रमा काम गरेँ। यसको गुणस्तरका विषयमा अहिले पनि विश्वास दिलाउन गाह्रो हुन्छ। त्यसैले पनि सबै ज्वलरी व्यवसायीलाई हेरेर मैले 'हल मार्किङ' राख्न खोजेको छ, यो नेपालका लागि नयाँ हुनेछ' श्रेष्ठले भनिन्।
उनले नेपालको तर्फबाट साझेदार आफू बसेर विदेशी लगानी भित्र्याउने अभियानमा समेत लागेको बताएकी छिन्। कति लगानी भित्र्याउन सकिन्छ भन्ने विषयमा एकिन नभए पनि पाँच\सातवटा परियोजनाका लागि नेपालको साझेदार भएर लगानी भित्राउने अभियानमा लागेको उनले बताइन्।
उनको अर्को सपना, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नु हो। 'नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष बन्नु मेरो अर्को 'ड्रिम' हो' श्रेष्ठले भनिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।