|

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका कार्यालयको चरम लापरबाहीले वृद्धवृद्धा पीडित बनेका छन्। वृद्धवृद्धा मात्र नभई एकल महिला, दलित, अपाङ्गहरूसमेत गाउँपालिकाको लापरबाहिले सास्ती भोग्न बाध्य छन्। गाउँपालिकाले आब ०७४/७५ मा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नबाँडेपछि सरोकारवालाहरु यसबाट वञ्चित भएका छन्। अन्तिम चौमासिक किस्ता रकम केहीलाई बाँडिएको र अधिकांशलाई नबाँडिएपछि अनियमितताका आशंकासमेत गर्न थालिएको छ। 

गाउँपालिकाले-३ पत्थरदेहिया र ७ गणेशपुरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न गत आबको अन्तिम किस्ता बापतको रकम दुवै वडा हेर्ने वडा सचिव कृष्ण कुमार शर्मालाई भरपाई गरिदिएको थियो। वडा सचिव शर्माले साउन पहिलो साता उक्त वडाका केही व्यक्तिलाई भत्ता वितरण गरेर सम्पर्कविहीन भए। ‘केहीले पाए केहीले पाएनन्, दिनहुँ वडा कार्यालय आएर वृद्धवृद्धाले गुनासो गर्छन्’ वडा ७ का अध्यक्ष दिनेशकुमार चौधरीले भने। आफूहरुले पटक-पटक गाउँपालिका बैठकमा वडा सचिवका कारण सास्ती भइरहेको, वृद्धभत्ता नबाँडेका, नियमित कार्यालय नआउने गरेको विषय उठाउदासमेत सुनुवाई नभएको बताए।

तीनमा ४ लाख र सात नम्बर वडाको ३ लाख गरी ७ लाख बढी सामाजिक सुरक्षा भत्ताको रकम वडा सचिव शर्माले बाँडेका छैनन्। शर्मा साउन र भदौ महिनामा बढीमा ४ पटक वडा कार्यालय आएको बताउँदै वडा अध्यक्ष चौधरीले काम गर्न निकै समस्या भएको बताए। ‘गाउँपालिकाले चासो देखाएको छैन, जनता पीडित छन्’ उनले भने। दुईवटा वडाका १ सय ३० जनाभन्दा बढी ज्‍येष्ठ नागरिक, दलित र अशक्त वडा कार्यालय धाउदै दिन बिताएका छन्। गाउँपालिकाले पनि वडा सचिव कता गए र किन पैसा दिएनन भन्नेबारे सोधखोज गरेन। सात लाख लिएर हिँडेका छन् वृद्धवृद्धा वडा कार्यालय आएर रुन्छन् कारबाही गर्न मतलब छैन’ वडा नं. तीनका वडाध्यक्ष बुद्धिराम अर्यालले भने। 

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलितहरूले राज्यबाट पाउने भत्ताबाट थोरधेर आवश्यक्ता पूरा गर्दछन्। प्रत्येक चौमासिकमा पाउन भत्ताबाट कसैले चप्पल किन्छन्, कसैले चिया पसलको ऋण तिर्छन्। केहिले औषधि उपचारमा खर्च गर्छन् भने कतिपयले जीवन निर्वाहमा। सामाजिक सुरक्षा भत्तामा व्यापक चुहावट भएको भन्दै संघीय सरकारले बैंक मार्फत भत्ता दिने योजनासमेत ल्याएकोमा अहिलेसम्म विजयनगर गाउँपालिकाले त्यसतर्फ कार्यान्वयनमा नगएको स्थानीयवासीहरु बताउँछन्।

‘पहिला बैंक छैन भनेर भन्थे, अहिले बैंक पनि आएको छ किन प्रक्रियामा जाँदैनन्’ स्थानीय जनार्दन पासीले भने। २/२ महिनासम्म असारको भत्ता नबाँड्ने वडा सचिवलाई कुनै कारबाही नगरेको र वास्ता नगरेको भन्दै स्थानीयले प्रशासकीय अधिकृत रविन्द्र चौधरी तथा गाउँपालिका अध्यक्ष गोपाल थापाप्रति आक्रोश पोखे। ‘हाम्रो भत्ता खाएर भाग्ने सचिवलाई किन कारबाही गरिएन, यसै दिनको लागि भोट दिएर जिताएका थियौँ, जो आए पनि उस्तै हुन्’ पत्थरदेहियाकी एक ७० वर्षिय वृद्धले गुनासो गरे। 

लामो समय सम्म वडा सचिवले किन सामाजिक सुरक्षा भत्ता बाँडेनन् र त्यसमा गाउँपालिकाले किन सोधखोज वा स्पष्टीकरण लिएन भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरीले लाचारी प्रकट गरे। ‘सबै थाहै छ, यहाँ काम गर्न कति गाह्रो छ, कर्मचारी छैनन्, भएकालाई कारबाही गरे कसले काम गर्छ’ उनले भने। २ महिनासम्म भत्ता लिएर बेपत्ता भएका शर्मा पारिवारिक कारणले कार्यालय नआएको प्रशासकीय अधिकृत चौधरीको दाबी छ।

तर, कार्यालय स्रोतका अनुसार वडा सचिवले लिएको वृद्ध भत्ताको ७ लाख रकममध्ये ५ लाख चौधरी आफैँले अन्य कार्यमा खर्च गरेको र २ लाख मात्र सचिवसँग रहेको छ। ‘थोरै मात्र मसँग छ अरू  हाकिमसँग छ, कसरी तिर्ने उनले दिएपछि तिर्छु तर आफू (हाकिम चौधरी) काठमाडौं सेवाकालीन तालिममा छन्, पैसा मसँग थोरै छ कसरी दिऊँ उनले निकटसँग गुनासो गर्ने गरेका छन्। ‘बाध्य भएर मोबाइल अफ गरी बसेको थिएँ,  एक हप्तामा दिन्छु भनेपछि कार्यालय आएको छु’ छिट्टै भत्ता बाँड्छु उनले भने। 

लाखौँ रकम बोकेर २ महिनासम्म कार्यालय नआउँदासमेत कार्यालयले कारबाही नगर्नु दूधको साक्षी बिरालो बसेजस्तै भएको स्थानीयवासी बताउँछन्। गाउँपालिका अध्यक्ष गोपाल थापाले भने यसबारे वडा कार्यालयलाई पत्राचार गरिएको र उनी अनुपस्थित हुदा अर्को वडा सचिव कामकाजको लागि व्यवस्था गरेको बताए। भत्ता नबाँडेको गुनासो आए पनि त्यसलाई छिट्टै समाधान गरिने थापाको भनाइ छ। यता, वडा सचिव शर्माले भने आरोप निराधार भएको बताए। ‘भत्ता बाँड्दा केही छुटेका हुन् तर नियतवश लिएर गएको होइन, पेस्‍की लिएपछि अरूलाई जिम्मा दिन मिलेन’ उनले भने। पारिवारिक समस्याले डेढ महिना जति वडामा कमै आएको स्वीकार्दै शर्माले तत्काल भत्ता वितरण थाल्ने दाबीसमेत गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.