|

काठमाडौं : राजकुमार श्रेष्ठ जसले नेपाल ल क्याम्पसबाट स्नातक (बिएल) पास गरे। कालोकोटधारी वकिल बने। विद्यालयमा पढाए। शिक्षक बने। रेस्‍टुरेन्‍ट खोले। मालिक बने। जिन्दगीमा फरक-फरक क्षेत्रमा कामको अनुभव लिएर अन्ततः उनी नारायण गोपाल संगीत कोषमा आबद्ध बने र भ्वाइलिन प्रशिक्षक बने। उनले त्यसपछि भने पेसा परिवर्तन गर्ने फड्कोमा ब्रेक लगाए र २२ वर्षदेखि भ्वाइलिनसँगै रमाइरहेका छन्।

बाँसुरीबाट निकालिएको आवाज होस् या पियानोबाट होस्। अथवा हार्मोनियमबाट निस्किने धुन 'सा रे ग म' नै हो। फरक त केवल तिनीहरूको ध्वनि मात्र हो। स्वरसम्राट् नारायण गोपालको जीवनका अन्तिम दिनहरूमा एउटा चाहना थियो रे, एउटा कोष खडा गरेर भ्वाइलिन प्रशिक्षण गराउने। त्यसबेलामा भ्वाइलिन बजाउने मान्छे एकदमै कम भएकाले स्वरसम्राट्को अन्तिम इच्छा यस्तो हुँदो हो। एकातिर नारायणगोपाल धर्तीबाट बिदा लिइरहेका थिए अर्कोतिर नेपालबाट भ्वाइलिन बजाउने मान्छे लोप भइरहेको अवस्था थियो। नेपाली वाद्यवादनको क्षेत्रमा भ्वाइलिनलाई बचाउनुपर्छ भन्दै नारायण गोपालको मृत्युपश्चात् उनकै नाममा नारायण गोपाल संगीत कोष खडा गरियो। त्यसका लागि संगीतकार अम्बर गुरुङले आफूलाई प्रशिक्षण दिन आग्रह गरेको श्रेष्ठले सम्झिए।

त्यसैबेलादेखि अर्थात् ०५२ सालदेखि आजपर्यन्त श्रेष्ठ भ्वाइलिन प्रशिक्षणमा आबद्ध छन्। पछिल्लो क्रममा भ्वाइलिन बजाउने र सिक्ने मान्छेको संख्या वृद्दि भए पनि व्यावसायिकतामा नगइसकेको उनको अनुभव छ।

संयोग, नारायण गोपाल संगीत कोषमा आबद्ध भए पनि श्रेष्ठले जीवनकालमा नारायण गोपालसँग भेट्ने मौका पाएनन्। जबसम्म नारायण गोपालको युग थियो त्यसबेला उनी भ्वाइलिन सिक्दै थिए। उसै पनि आफूभन्दा अग्रजहरूसँग भेट्ने र चिनजान गर्ने बाहना उनले भेटेनन्। कहिलेकाहीँ भेट्न जाऊँ र 'तपाईंको गीत मन पर्छ' भनेर चिनापरिचयको बाहना बनाऊँ भन्ने नलागेको होइन उनलाई। तर, मजस्ता हजारौँ मान्छेले सायद यस्तै बाहना बनाउँदा हुन् भन्ने लागेछ। यो कुरा सुन्दासुन्दा नारायण गोपाल इरिटेट भइसकेका हुँदा हुन् भन्ने लाग्थ्यो रे उनलाई।

वकिलका विद्यार्थी श्रेष्ठ संगीत त्यो पनि भ्वाइलिन बजाउने पेसामा कसरी आइपुगे त? उनी अतीततिर फर्कन्छन् र सम्झन्छन्। गुल्मी उनको पुर्ख्यौली गाउँ। वनमा गोठालो जाँदा 'म हराएको छैन' भनेर साथीहरूलाई सूचना दिन नै चर्कोचर्को आवाजमा गीत गाउने गरिन्थ्यो। पढेर के हुन्छ भन्ने खास भेउ थिएन। तर, आफ्नो समकालीन साथीमध्येका एक राजेन्द्र सापकोटाले 'काठमाडौं जाऊँ, पढ्नुपर्छ' भनेर श्रेष्ठलाई उक्साए। साथीको उक्साहटले उनलाई पनि राजधानी आउन प्रेरित गरेको उनको मानसपटलमा ताजै छ। राजधानी गएर पढ्छु भनेर बाआमासँग अनुरोध गरे। बाआमाले नकारे। उनले जसरी पनि राजधानी जाने भनेर परिवारसँग झगडा गरे, रिसाए। खाना नखाई बसे। उनको अड्डीका अगाडि बाआमाको केही सीप लागेन।

'छोरोले देश दुनियाँ देख्नुपर्छ। भोग्नुपर्छ।' भनेर इन्डियन आर्मीबाट रिटायर्ड  उनका बाबुले उनलाई काठमाडौं पठाए। काठमाडौं आएर के पढ्ने र कसो पढ्ने भन्ने टुंगो थिएन उनलाई। यहाँ आएर पढ्नुपर्छ भन्ने त गुल्मीमै उनको मानसपटलमा घुसिसकेको थियो। त्यही अन्योलताले बाटो पायो, श्रेष्ठ नेपाल ल क्याम्पस भर्ना भए र त्यहीँबाट बिएल पास गरे।

दरबारमार्गमा कानमा ठोकिएको भ्वाइलिनको धुन

राजधानीको बसाइँमा श्रेष्ठ संगीतमा आकर्षित भए। एकदिन दरबारमार्गमा हिँड्दै थिए, साथमा थिए कोठामा सँगै बस्ने साथीहरू महेद्र अग्रवाल र प्रेम शाक्य। नारायणहिटीको नारायणथानबाट संगीतको धुन उनको कानमा ठोकियो। त्यहाँ गएर हेरे। भ्वाइलिन, तबला र सितार बजिरहेको थियो। उनीहरू तीनैजना ती धुनका फ्यान बने। त्यसैबेला उनीहरूले संगीत सिक्ने निर्णय गरे। पछि थाहा भयो उनीहरूलाई दरबारमार्गको बाटोमा तान्ने धुन भ्वाइलिनको थियो र त्यसलाई बजाइरहेका थिए गोपालनाथले, तबला ठोक्दै थिए होमनाथ र तारावीरले सितार बजाइरहेका थिए। सँगसँगै संगीत सिकेका साथीहरूमध्ये अग्रवाल र शाक्य अमेरिका भासिए भने श्रेष्ठ यतै भ्वाइलिनमा भुले।

राजकुमार श्रेष्ठको संगीत प्रतिको लगाव बढ्दै गयो। उनका गुरु गोपालनाथले एक दिन उनको कला देखेर रेडियो नेपालमा जाऊँ भने। त्यहाँ संगीत जानेको मान्छेले जागिर पनि खान पाइने र संगीतको बृहत् कोर्स पढ्न पाइन्छ भनेर लोभ देखाए। योगीको कुरा सुनेर उनी ४० सालमा रेडियो नेपाल छिरे। त्यहाँ वाद्यवादन विभागको चिफ नातिकाजी थिए। एरेन्जरको काम गरिरहेका थिए मदन परियार। रेडियो नेपालमा भ्वाइस टेस्ट गर्ने चलन थियो। नातिकाजीले केही 'वाद्यवादनका साधन बजाएर सुनाऊ' भनेपछि उनले भ्वाइलिन बजाए। भित्र प्रेमध्वज प्रधानको गीत रेकर्ड भइरहेको थियो।

परियारले उनलाई स्टाफ (संगीत सिक्ने अन्तर्राष्ट्रिय माध्यम) देखाउँदै भ्वाइलिन बजाउन लगाए। उनी ती दिन सम्झन्छन्, 'मैले पहिलोचोटि स्टाफ देखेको थिएँ। मदन सरले सा रे ग म लेखिदिनुभयो, ग्रुपमा भ्वाइलिन बजाए र बाहिर निस्के।' बाहिर नातिकाजीले यहाँ काम गर्ने भए पहिले स्टाफ सिक्नुपर्ने बताए। नातिकाजीले स्टाफ सिकेर आऊ भनेपछि रेडियो नेपालमा जागिर खान्नँ भनेर मनमनै गम्दै सिंहदरबारको गेटबाट बाहिरिए उनी। उनले त्यतिबेला खाएको कसम सम्झिए, 'स्टाफ त म जसरी पनि सिक्छु, तर जिन्दगीभर रेडियो नेपाल आउँदिनँ।'

गुरु अम्बर!

एकदिन उनका साथी ठुले राई (नेपाल प्रहरीका डिआइजी)सँग भेट भयो। उनले स्टाफ सिक्ने भए अम्बर गुरुङलाई भेट्न जाऊँ भनेर ज्ञानेश्वर लिएर गए।

अम्बर गुरुङसँग भेट्न पाउँदा उनी रमाए। उनी भन्छन्, 'संगीतको लिजेन्‍ड मान्छेले बाँचेको सादा जिन्दगीले म आकर्षित भएँ। आफूभन्दा सानालाई माया गर्ने उनीजस्तो मान्छे मैले आजसम्म कोही देखेको छैन।'

गुरुङले श्रेष्ठलाई एक वर्ष संगीत सिकाए। एकातिर अम्बरसँग संगीत सिक्दै थिए भने उतातिर उनको बिएल पनि सकियो।

काठमाडौंले नै तान्यो

पढाइ सकिएको खबर घरमा पुग्यो। घरबाट सन्देश आयो, 'कि जागिर खानू, कि फर्केर घर आउनू।' त्यसबेला राजधानीमा जागिर भेट्टाउने अवस्था थिएन। उनी वि.स २०४३ सालमा तम्घास फर्के। कानुनी फर्म खोलेर बसे। युवा जोश र जागरमा ल फर्म खोलेर बस्दा उनकोमा आउनेलाई कानुनी सल्लाह सुझाब बताउने काम बन्यो उनको। मुद्दा लड्न तयार भएका व्यक्तिलाई मुद्दा जित्ने नजित्ने सबै स्पष्ट पारिदिन्थे। उनको सत्य कुरा पचाउन कोही तयार भएनन्। उनी भन्छन्, 'मेरो कुरालाई बकवास भनेर जजसले मुद्दा लडेका थिए सबै जना हारे।' मुद्दा मामिलामा मिलाइदिन आउने मान्छेले उनको इमान्दारीतालाई पत्याउन छोडे। फर्मले पनि उनको जिविकोपार्जनमा राम्रो गर्न सकेन। अनि पेसा बदल्ने मुड चल्यो।

स्त‍नातक पास गरेका श्रेष्ठले अर्को पेसा रोजे, शिक्षण। शिक्षक पेसा उनलाई दिक्क लाग्यो। उनलाई गाउँले बाँधेर राख्न सकेन, अर्कोतिर काठमाडौंले तानिरह्यो। काठमाडौं छोडेको पाँच वर्षपछि फेरि काठमाडौं फर्किए, नयाँ योजनासहित।

काठमाडौंमा साथीसँग मिलेर रेस्टुरेन्ट खोले। रेस्टुरेन्टले पनि हावा खायो। सँगैको साथी अमेरिका भास्सियो। एकदिन अम्बर गुरुङले उनलाई भेटेर भ्वाइलिन प्रशिक्षण गर्नुपर्छ तिमीले भनेर नारायण गोपाल संगीत कोर्समा लागे। अनि नयाँ यात्रा सुरु भयो।

सुरुवाती दिनमा २० जनालाईसम्म सिकाउथे श्रेष्ठ। समूहमा सिकाउँदा एउटाले बिगार्‍यो भने कसले बिगार्‍योसम्म थाहा पाउँदैनथे उनी। अहिले चाहिँ एक सिफ्टमा एकजनालाई मात्र सिकाउँछन्।

श्रेष्ठले कहिल्यै पनि जिन्दगीलाई नाफाघाटामा राखेर जोखेनन्, सफल बन्यो या असफल। उनलाई धन-दौलत सबै क्षणिक हुन् भन्ने लाग्छ। सन्तुष्टि नै ठूलो हो भन्ने सिद्धान्त बोकेर हिँडेका छन्। उनी भन्छन्, 'जिन्दगीमा पैसा भनेर कुदेको भए वकिलको सर्टिफिकेट नै साथमा थियो। पैसा कमाइ राम्रै हुन्थ्यो। तर, सन्तुष्टिको अगाडि हरेक कुरा फिक्का हुने रहेछ।' मरेर जाँदा कात्रोमा खल्ती नहुने उनको तर्क छ।

नेपालमा लोप हुने अवस्थामा रहेको भ्वाइलिनको प्रवर्द्धन र संवर्द्धनमा एक हिस्सा हुन पाएकोमा नै अहोभाग्य सम्झन्छन् उनी। उनी यही कुरामा सन्तुष्ट छन्। उनी भन्छन्, 'आज मसँग बिरामी हुँदा औषधि उपचार गर्ने पैसा छैन, तर पनि जिन्दगीसँग कुनै गुनासो छैन। सबै एकदिन मरेर जाने हो।' भन्छन्, 'उपचार पाइएन भने केही छिटो मरिएला, आखिर मर्न त सबैको भाग्यमा छँदै छ।'

बजारमा नआएको गीत

हामीभित्र खुसी र दुःखको संवेदना छ। हरेकले आ-आफ्ना कामबाट उक्त संवेदना निकाल्ने चेस्टा गर्छन्। लेखकले लेखमार्फत गर्छन् भने संगीतकारले संगीतका धुनमा आफ्नो संवेदना निकाल्ने न हो। उनले पनि आफ्ना संवेदनाहरू भ्वाइलिनबाट नै प्रस्तुत गर्दै आएको बताउँछन्।

भ्वाइलिन सँगसँगै श्रेष्ठले गीत लेखे। कम्पोज गरे। गायकहरू पनि तयार गरे। विडम्बना गीत रेकर्ड हुन सकेन। उनी विगत सम्झन्छन्, '५६ सालतिर हुनुपर्छ ६ गीत तयारी अवस्थामा थिए, तर एउटा एल्बम तयार पार्न ८ वटा हुनुपर्थ्यो। दुईवटा न रचना गरे, न कम्पोज। न त कुनै गीतकारलाई नै गुहारे उनले। तर, पछिल्लो क्रममा उनले तीनवटा गीतमा संगीत भरेका छन्। त्यो पनि आफ्नो रहरभन्दा पनि साथीहरूको करकापले। उनका साथी दीपक कौडिन्‍यको गीतमा उनले संगीत भरेका थिए। जसमा उदय सोताङको आवाजमा 'मान्छे सबै उस्तै हुन्नन्' भन्ने गीत रेकर्ड छ। अब केही समयमा नै उनको संगीत, शिशिर योगीको स्वर, र भीम विरागको शब्दमा गीत बजारमा आँउदै छ। उनी भन्छन्, 'साथीहरूको करकाप मात्र हो नत्र म भ्वाइलिन प्रशिक्षणमा रमाइरहेको छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.