|

बाँके : इस्लाम धर्मावलम्वीले शुक्रबार आ–आफ्नो घरमा राखेको ताजिया नजिकको कर्वलामा विसर्जन गरेका छन्। आफूले मागेको र चिताएको मनोकामना पूरा भएको खुसीयाली र इस्लाम धर्मका पर्वतक हजरत मोहम्मदका छोरीको छोरा धर्मगूरु हजरत इमाम हुसैनले धर्म रक्षा गर्ने क्रममा सहादत प्राप्त गरेको सम्झनामा इस्लाम धर्मावलम्वीले आ–आफ्नो घरमा ताजिया राख्ने र दोस्रो दिन नजिकको कर्वलामा लगेर विसर्जन गर्ने परम्परा छ।

हिजरीको पहिलो महिना मोहर्रमको १० तारिखका दिन इस्लामका संरक्षक धर्मगुरु हुसैनले इस्लाम धर्मको रक्षा गर्ने क्रममा इराकको बगदादस्थित कर्वलामा सहादत प्राप्त गरेको सम्झनामा हरेक इस्लाम धर्मावलम्वीले आ–आफ्नो घरमा ताजिया राखेर सम्झिने गरेको गरिएको धर्मगूरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए।

आजभन्दा १४ सय वर्ष पहिले हुसैनसँगै परिवारका ७२ जना सदस्य सहिद भएका थिए। ‘इस्लाम धर्मका संरक्षक धर्मगुरु हुसैनले सहादत प्राप्त गरेको दिनको स्मरण र उहाँको समर्पणमा ताजिया राख्ने र दोस्रो दिन कर्वलामा विसर्जन गर्ने प्रचलन छ,’ मौलाना जब्बार मन्जरीले भने।

ताजिया राखेर इमाम हुसैनको सम्झनामा रातभर जाग्राम बसेका नेपालगन्जका इस्लाम धर्मावलम्वीले फुल्टेक्रास्थित कर्वलामा गएर ताजिया विसर्जन गरेका छन् भने, जयसपुर, बाबुगाउँ, बालेगाउँका इस्लाम धर्मावलम्वीले चौलिक्का चोकस्थित कर्वलामा ताजिया विसर्जन गरे।

त्यसैगरि, हिरमिनिया क्षेत्रकाले हिरमिनियामा तथा खजुरा क्षेत्रका इस्लाम धर्मावलम्वीले रनियापुरमा र कोहलपुर क्षेत्रकाले कोहलपुरस्थित कर्वलामा गएर ताजिया विसर्जन गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले जानकारी दिए।

नेपालगन्जका विभिन्न स्थानबाट लावालस्करसहित ताजिया विसर्जन गर्न फुल्टेक्रा गएका थिए भने नवयूवाले इमाम हुसैनको सम्झनामा मातम समेत दिए । ‘या हुसैन’ भन्दै युवाले छातीमा ब्लेडले हानेर इमाम हुसैनप्रति आफूलाई समपर्ण गरे। ‘इमाम हुसैनका लागि ज्यान दिन पनि तयार छु भन्ने देखाउन इस्लाम धर्मावलम्वीले मातम दिने परम्परा छ,’ मौलाना जब्बार मन्जरीले भने।

ताजिया विसर्जनसँगै इस्लाम धर्मावलम्वीको मोहर्रम पर्व सकिएको छ। मोहर्रममा ताजिया राख्ने र सेलाउने प्रमुख कार्यको रुपमा लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.