कसले जस लिने भन्ने होड

|

सुनसरी : इटहरीलाई नेपालकै पहिलो स्पोर्ट्स सिटी घोषणा गर्ने काम अन्तिम समयमा आएर असफल भएको छ। कुनै बेला ‘हरितनगरी’ भनेर चिनिएको इटहरीलाई स्पोर्ट्स सिटीको रूपमा चिनाउन खेलकुदमा एकपछि अर्को लगानीसमेत भित्रिइरहेको अवस्थामा इटहरी पहिलो स्पोर्ट्स सिटी घोषणा हुन नसकेको हो। 
इटहरीलाई स्पोर्ट्स सिटीको रूपमा विकासका लागि पूर्वाधारहरूमा ठूलो लगानी भइरहेकाले इटहरी स्पोर्ट्स सिटीको रूपमा विकास हुनेमा यहाँका खेलप्रेमी ढुक्क थिए। इटहरीलाई स्पोर्ट्स सिटी घोषणा गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले नै इटहरीको खेलकुदलाई प्राथमिकतामा राखेको थियो। सातौँ राष्ट्रिय खेलकुदका केही प्रतियोगिताहरू इटहरीमै भएपछि इटहरी खेलकुदको हवको रूपमा विस्तारसमेत भएको हो। 

इटहरीलाई खेलकुदको हवको रूपमा विकास गर्न राखेपको निरन्तर सहयोग जारी रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताए। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताताका नै इटहरीलाई स्पोर्ट्स सिटीको रूपमा विकास गरिने सदस्य सचिव विष्टले बताउँदै आएका थिए। इटहरीमा हुने प्रत्येक खेलकुद कार्यक्रममा विष्टले बारम्बार यो कुरा दोहोर्‍याउने गरेका थिए। विष्ट इटहरीबासी भएकै नाताले पनि पूर्वको उदीयमान शहर इटहरीको पहिचानलाई स्थापित गराउन स्पोर्ट्स सिटीको रूपमा विकास गरिने आफ्नो योजना रहेको बताउँछन्।

सुनसरीको धरान पर्यटकीय शहर, विराटनगर औद्योगिक शहरको रूपमा चिनिने तर इटहरीको आफ्नो छुट्टै परिचय नभएकाले अब इटहरी स्पोर्ट्स सिटी बन्ने विष्टको दाबी थियो। विष्टको यो कुरा भाषण मात्र नभएर व्यवहारमा समेत लागू भइसकेको थियो। इटहरीमा ठूला प्रतियोगितासमेत लगातार भइरहेका र भौतिक संरचना निर्माणसमेत अन्तिम चरणमा पुगेको थियो। विष्टले इटहरीलाई खेलकुद हव बनाएर स्पोर्ट्स सिटी घोषणाका लागि माथिल्लो निकायबाटै कसरत सुरु गरेका थिए। तर विष्टको यो योजना पूरा नभएपछि इटहरीका खेलकुदकर्मीहरू पनि निराश भएका छन्। 

यसरी गुमायो इटहरीले पहिलो स्पोर्ट्स सिटी हुने अवसर

तीन वर्ष अगाडि सुनसरी इटहरीका केशवकुमार विष्ट राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवमा विष्ट नियुक्त भएको तीन वर्ष पूरा हुनै लाग्दा इटहरीलाई देशकै पहिलो स्पोर्ट्स सिटी घोषणा गर्ने उनको योजना थियो। तत्कालीन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले परिषद् अध्यक्षको हैसियतमा विष्टलाई सदस्य सचिवमा नियुक्त गरेका थिए। 

तत्कालीन एमालेका नेताहरूको विरोधका बाबजुद पौडेलले विष्टलाई नियुक्त गर्दा मन्त्री पदबाट राजीनामा नै दिनुपरेको थियो। विष्टले राखेपको सदस्य सचिवमा नियुक्त हुँदा आफ्नो कार्यकालमा खेलकुदलाई स्वर्णकाल बनाउने प्रतिबद्धता जनाएका थिए। 

२०७२ असार १० गते इटहरीका स्थायी बासिन्दा विष्ट राखेपको सदस्य सचिव नियुक्त भएपछि इटहरीबासी हर्षित भएका थिए। उनी सदस्य सचिव नियुक्त भएसँगै इटहरीमा क्षेत्रीय रंगशालाले पूर्णतासमेत पाएको अवस्थामा स्पोर्ट्स सिटी घोषणा नहुनु दुखद भएको इटहरीका खेलकुदकर्मीहरूको गुनासो छ। 

राखेपले ठूलो उत्साहका साथ यसै आर्थिक वर्षभित्र इटहरी, पोखरा र दाङको तुलसीपुरलाई पहिलो चरणमा स्पोर्ट्स सिटी घोषणा गर्ने तयारी गरेको थियो। इटहरीको सम्भाव्यतालाई अध्ययन गरेर राखेपले इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्‍यो। इटहरी उपमहानगरका प्रमुखलाई राखेपले चाँडै नै इटहरीलाई पहिलो स्पोर्ट्स सिटीको रूपमा घोषणा गर्न आग्रह गरेको थियो। सम्भाव्यता अध्ययन गरेको फाइल आफैँ बोकेर गएका सदस्य सचिव विष्टले स्पोर्ट्स सिटी घोषणा गर्दा केके लाभ हुन्छ, केके हानि हुन्छ, सबै कुरा बुझाएको बताए। मोटो प्रतिवेदन बुझाएको यति समयसम्म पनि इटहरी उपमहानगरले स्पोर्ट्स सिटी घोषणा गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको विष्टको भनाइ छ। विष्टका अनुसार यो घोषणा गर्ने काम उपमहानगरको हो र उपमहानगरपालिकाको दायित्वभित्रको कुरा हो।

दाङ र पोखरामा प्रतिवेदन बुझाउन बाँकी नै राखेर सम्भाव्यतालाई अध्ययन गरेको फाइल इटहरीमा विष्टले बुझाए। आफू इटहरीबासी भएकै कारण उनले दाङको तुलसीपुर र पोखराको फाइल थाँती राखेर बुझाएका हुन्। फाइल बुझाएको लामो समयसम्म पनि इटहरीले स्पोर्ट्स सिटी घोषणा नगरेपछि राखेपले तुलसीपुरमा फाइल बुझायो। इटहरीलाई पहिलो स्पोर्ट्स सिटी घोषणा गर्न लागिपरेका विष्टको त्यो बेला योजना तुहियो, जुन बेला इटहरीका प्रमुखले फाइल थन्क्याएर राखे र दाङको तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्ट्स सिटी घोषणा गरियो। 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका सदस्य सचिव विष्ट, स्थानीय खेलकुदका पदाधिकारीलगायतको उपस्थितिमा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले एक कार्यक्रमबीच तुलसीपुरलाई नेपालको पहिलो स्पोर्ट्स सिटी घोषणा गरे। यो घोषणासँगै इटहरी नेपालकै पहिलो स्पोर्ट्स सिटी हुन असफल भएको विष्टको भनाइ छ। विष्ट इटहरीले पहिलो स्पोर्ट्स सिटी घोषणा हुन पाएको अवसर पनि गुमाए पनि अझै केही नबिग्रिएको बताउँछन्। दोस्रो स्पोर्ट्स सिटी हुने अवसर बाकी नै रहेको र यसमा केही समस्या भए, बुझाइमा कमी भए अझै बुझाउन तयार रहेको विष्टले बताए। 

स्रोतका अनुसार इटहरी स्पोर्ट्स सिटी घोषणा हुन नसक्नुमा नेकपाभित्रको गुटगत राजनीति हो। तत्कालीन एमालेका नेताहरूको विरोधका बाबजुद विष्टलाई रोखेपको सदस्य सचिव नियुक्त गर्दादेखि नै नेकपाका नेताहरू असन्तुष्ट थिए। तिनै असन्तुष्ट नेताको कारणले इटहरी स्पोर्ट्स सिटी घोषणा हुन नसकेको बताइएको छ। स्पोर्ट्स सिटी घोषणाको जसजति सबै विष्टलाई जाने र विष्ट हावी हुने डरले केही नेताहरूले प्रमुखलाई दबाब दिएर इटहरीलाई स्पोर्ट्स सिटी घोषणा हुन नदिएको बताइएको छ।  

यसो भन्छ उपमहानगरपालिका

स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आफ्नो चुनावी घोषणापत्रमा खेलकुदका मुद्दालाई समेटेपछि खेलकुदले इटहरीमा गति लिने आशा गरिएको थियो। उक्त घोषणापत्रमा खेलकुदका मुद्दाले प्राथमिकता पाएसँगै पूर्वी नेपालकै केन्द्रको रूपमा रहेको इटहरी पछिल्लो समय खेलकुदको हवका रूपमा विकास हुँदै गएको भन्न सकिने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले सार्वजनिक कार्यक्रममा नै बताउँदै आएका थिए।

खेलकुदका भौतिक संरचना निर्माणदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गर्ने चुनावी घोषणापत्रमा समावेश गरेअनुसार उपमहानगरपालिकाले विभिन्न प्रतियोगितामा समेत सक्रियता देखाएका प्रमुख चौधरीले राखेपको आग्रहअनुसार स्पोर्ट्स सिटी घोषणा हुन नसक्नु दुखद भएको बताए। चौधरीले भने, ‘स्पोर्ट्स सिटी घोषणाका लागि केके मापदण्ड पूरा हुनुपर्छ, सोबारे हामी अनभिज्ञ छौँ।’ प्रमुख चौधरीले इटहरीलाई स्पोर्ट्स सिटी घोषणा गर्न नसक्नुमा आफूहरू मात्र दोषी नभएको बताए। यसमा राखेपको पनि केही कमजोरी रहेको चौधरीको आरोप छ। 

आफू खेलकुदविरोधी नभएको बताउँदै चौधरीले क्षेत्रीय रंगशालालाई व्यवस्थित बनाई नमुना रंगशालाका रूपमा विकास गर्ने आफ्नो घोषणापत्रमा समावेश गरेअनुसार काम गरिरहेको बताए। आर्थिक वर्ष २०७४/०७५ का लागि उपमहानगरपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको अवस्थामा उनले आर्थिक वर्ष २०७५/०७६ मा खेलकुदका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको बताए। उनले भने, ‘यस्तो अवस्थामा प्रमुखले घोषणा गरेन भन्नु गलत हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.