|

काठमाडौं : नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ र पेट्रोलियम पदार्थ खपत हुने सवारी साधन हो। सवारी साधन र पेट्रोलियम पदार्थ दुवै नेपालमा उत्पादन नहुने भएका कारण व्यापारमा असन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएका छन्- यी वस्तुले।

बढ्दो व्यापार असन्तुलन सन्तुलनमा ल्याउनका लागि सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको छ। पछिल्लो १० वर्षदेखि नै व्यक्तिगत प्रयोगका लागि विद्युतीय सवारी साधनको सामान्य आयात भए पनि अहिलेसम्म सार्वजनिक यातायातका लागि विद्युतीय सवारी साधन आयात भएको छैन।

सरकारले चालू आर्थिक वर्षको बजेटमा विद्युतीय सार्वजनिक यातायातमा कर छुटलगायतका नीति ल्याएपछि निजी क्षेत्रका आकर्षण देखिन थालेको छ। सुन्दर यातायातले आगामी तिहारसम्म काठमाडौंमा तीनवटा विद्युतीय सवारी साधान चलाउनेछ। सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापासहित ११ जनाको समूह मिलेर नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारी साधनको तयारी गरेका हुन्। थापाको सपना छ- 'देशको व्यापार असन्तुलन कम गर्न सबैले सम्झने गरी मेरो योगदान देखाउनेछु।'

गाडी व्यवसाय उनको नयाँ प्रयोग होइन, न त व्यवसायमा नै उनी यातायात क्षेत्रमा सीमित छन्।

व्यवसाय प्रवेश

थापाका बुबा सुरक्षाकर्मीको रूपमा सरकारी जागिरे थिए। आमा सामाजिक स्वयंसेविकाको रूपमा काम गर्थिन्। मध्यमस्तरको परिवार चलाउन समस्या भने थिए। उनलाई खेल र राजनीति क्षेत्रमा बढी चासो लाग्थ्यो। कराँतेमा विशेष चासो राख्ने थापाले 'बेल्ट' लिइसकेका थिए।

तर उनका बुबाआमाले व्यवसायका लागि प्रोत्साहन भने दिएका थिए। थापा भन्छन्, 'आमाबुबा दुवैको प्रोत्साहन थियो- बाबु, तैँले जागिर खाने होइन, अरूलाई जागिर दिनुपर्छ है भन्नुहुन्थ्यो।' व्यवसाय त गर्ने तर के गर्ने गर्ने? कसैले योजना बनाउन सकेको थिएन। न त ठूलो लगानी गर्नलाई पर्याप्त रकम नै थियो।

२०५७ सालमा काठमाडौंको पुरानो बसपार्क सञ्चालन गर्न महानगरपालिकाले टेण्डर आह्‍वान गरेको थियो। परिवारमा छलफल भयो- यहीँबाट सुरु गर्ने पारिवारिक व्यवसाय। तर ठूलो रकम आवश्‍यक पर्ने भएको कारण तत्काल टेण्डर हाल्न सक्ने अवस्था थिएन। थापा आवश्‍यक रकम नहुँदा नहुँदै पनि गर्छस् भने ऋण दिन्छु भन्ने मात्रै होइन, युवाले यस्तो काम गर्नै पर्छ भनेर प्रोत्साहन दिने व्यक्तिका कारण उनी व्यवसायमा हात हाल्न सफल भए। २२ वर्षको उमेरमा उनले पुरानो बसपार्क सञ्चालनका लागि काठमाडौं महानगरपालिकाबाट टेण्डर पाए।

'व्यवसाय गर्नलाई प्रोत्साहन पनि ठूलो कुरो हुँदोरहेछ। तत्कालीन काठमाडौं महानगरपालिकामा मेयर केशव स्थापित, पूर्व मुख्यसचिव लीलामणि पौडेल, पत्रकार कनकमणि दीक्षितलगायतले मलाई ठूलो प्रोत्साहन दिनुभयो', उनी भन्छन्। उनले आफूसँग पाँच लाख रुपैयाँ रहेकोमा २६ लाख रुपैयाँको टेण्डर आफन्त र शुभेच्छुकको सहयोगमा हालेको बताए। त्यहीँबाट सुरु भयो उनको व्यावसायिक यात्रा।

जहाँ फाइदा, त्यहाँ हात

व्यवसाय गर्दै गर्दा कतिपय उतारचढाव नआएका होइनन्। तर जहाँ हात हाले पनि लाभ भने राम्रो भएको थापाले बताए। उनका अनुसार अहिले उनले करिब २०० जनालाई रोजगारी दिएका छन्। हाउजिङ व्यवसाय, बसपार्क संचालन, पानी उद्योगतरकारी बजारलगायतका धेरै क्षेत्रमा उनले हात हाले भने काठमाडौंबाट रसुवा जाने ३० वटा जीपसमेत सञ्चालन गरे।

'पैसाले पैसा जोड्दोरहेछ, हातमा पैसा भयो कि लगानी गरिहालौँ जस्तो हुन्थ्यो', उनी भन्छन्, 'मैले जग्गामा गरेको लागानीबाट सबैभन्दा बढी फाइदा भयो।' युद्धकालमा गाउँबाट शहर प्रवेश गर्नेको संख्या धेरै थियो। थोरै भए पनि धेरैलाई जग्गा चाहिएको कारण पनि यो क्षेत्रमा बढी लगानी गरेर जग्गको कारोबारसमेत गरेको उनको भनाइ छ।

उनले अहिले प्रत्यक्ष रूपमा हाउजिङ, पानी उद्योग र यातायात गरी तीन कम्पनीमा लगानी गरेका छन्, जसमा दुई अर्ब रुपैयाँ बढीको लागनी विस्तार भएको छ भने मासिक तीन करोड रुपैयाँ बढीको कारोबार हुन्छ।

उनकफ सपना

उनले अब भने आफ्नो व्यावसायिक करिअर यातायात क्षेत्रमा खोजेका छन् तर उनको रहर भने गाडीको आयात बढाएर पेट्रोल र डिजेलको आयात घटाउने रहेको छ। सुन्दर यातायात प्रालि र सुन्दर ट्रेगर्स उनका 'अप कमिङ' बिजनेस हुन्।

'सुन्दा अचम्म लाग्नसक्छ, म आयात क्षेत्रमा छु तर मेरो लक्ष्य बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन योगदान दिन सकूँ भन्ने हो', थापाले भने। उनले आयातीत पेट्रोल र डिजेलको भरमा चल्ने सवारी साधनलाई न्यूनीकरणका लागि विद्युतीय सवारी साधन भित्र्याउन लागेका हुन्।

आफैँ सञ्चालन गर्ने योजनामा पनि उनी छन्। पहिलो चरणमा काठमाडौंमा आगामी एक महिनापछि तीनवटा विद्युतीय सार्वजनिक सवारी साधन चल्नेछन्। त्यस्तै, काठमाडौंमा तीनवटा विद्युतीय सवारी साधन चलाउनका लागि चार्जिङ स्टेशन सञ्चालनमा आउनेछन्, यसका लागि काम सुरु भइसकेको छ।

सुन्दर यातायात प्रालिका अध्यक्ष रहेका थापाको लक्ष्यअनुसार आगामी दुई महिनाभित्रै थप १० वटा गाडी आउनेछन्। पछिल्ला १० सहित अघिल्ला तीन गरी १३ विद्युतीय बसमा चारवटा काठमाडौंमा गुड्नेछन् भने पोखरा, चितवन र बुटवलमा तीन/तीनवटा सञ्चालन हुनेछन्।

राजमार्गहरूमा चार्जिङ स्टेशन सरकारले बनाउने काम गरेमा भने दुई वर्षपछि राजमार्गमा चलाउन सुरु गरिने लक्ष्य सुनाए।

उनको समूहले सबै मुख्य सहरमा सार्वजनिक विद्युतीय सवारी साधन चलाउने गरी ६० वटा त्यस्ता बस सञ्चालनमा ल्याउने तयारी गरेको छ, जसका लागि चिनियाँ कम्पनीसँग सहमति भइसकेको छ। उनका अनुसार एउटा बसका लागि करिब एक करोड १७ लाख रुपैयाँ लाग्नेछ।

त्यस्तै, उनको समूहको अर्को लक्ष्य भने काठमाडौंमा थप दुईसहित सातवटै प्रदेशमा विद्युतीय गाडी बेच्ने आधिकारिक डिलर खोल्ने रहेको छ, जहाँ चार्जिङ स्टेशनसमेत रहनेछन्। 'चार्जिङ स्टेसनु, ६० गाडी सञ्चालन, मर्मत सेन्टरसमेत सञ्चालन गर्दा करिब एक हजार जनालाई नयाँ रोजगारी उपलब्ध हुने थापाको अनुमान रहेको छ भने लगानी पाँच अर्ब रुपैयाँमाथि पुग्नेछ।

उनले आफ्नो व्यावसायिक रणनीति भने आगामी दुई वर्षका लागि बनाएका छन्। 'सधैँ रिस्की क्षेत्रमा नै प्रवेश गर्छु', थापाले भने, 'सरकारले समेत कदम नचालेको क्षेत्रमा ठूलो लगानी हुँदै छ। यदि यहाँबाट सफल हुनसकेमा यी क्षेत्रमा जम्ने, होइन भने नयाँ गर्ने।'

उनले राजमार्गहरूमा चार्जिङ स्टेशन सरकारले बनाउने काम गरेमा भने आगामी दुई वर्षपछि राजमार्गमा चलाउनका लागि पनि सुरु गरिने लक्ष्य सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.